श्रवाण ४ कालिकोट । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं २ को जिते बजारमा दिनहुँ गाडीको लाम लाग्ने गरेको छ । कर्णाली नदीमा पुल नभएका कारणले कर्णाली करिडोरमार्फत कालीकोटका पाँच स्थानीय तहका साथै वाजुरा, मुगु र हुम्लाको सल्लीसल्लासम्म लैजाने विभिन्न समान जितेमा झारिन्छ।
बारीबाट पारी करिडोरको सडकसम्म समान ढुवानीको साधन भनेको पल्लीधारे मजदुर नै हुन् । सिमेन्टका गाडी हुन् या सरियाका गाडी जे सामान भए पनि मजदुरले नाम्लो, काँधमा बाेकेर वारपार गर्नुपर्छ ।दैनिक एक जना मजदुरले पाँच हजारसम्म भारी बाेकेर कमाउने गरेका छन् । एक पटक पनि कामविहीन हुनु नपरोस् भनेर स साना समूह बनाएर मजदुरले कामको जिम्मा लिने गरेका छन् ।
एक जनाले यो हाम्रो काम हो भन्दै एक गाडी कब्जामा लिन्छन् भने अर्कोले आफ्नो समूहले काम पाउनुपर्ने भन्दै तँछाडमछाड गर्ने गर्छन् । गएको शनिवार आकासे पानी रोकिएको थियो । हातमा नाप्ला समातेर सामानको गाडी कुरिरहेका मजदुरले गाडी आउनासाथ भारी बाेन तँछाडमछाड गर्न थाले । गाडी साहुले मिलाएर सबैलाई बाेक्न भन्नुभयो । तर मजदुरले मानेनन् । हामी पाँच जना छाैं । एक घण्टामा सबै गाडी खाली गछौं भन्दै नरहरिनाथ गाउँपालिका वडा नं १ का जोरे बिष्टले जिद्धी गरिरहनुभएको थियो ।
अर्को समूहका मनवीर दर्जीले आफूले पनि काम पाउनुपर्ने भन्दै आग्रह गरिरहनु भएको थियो । तर एक समूहले कब्जा गरिसकेको काम अर्को समूहले पाउन मुश्किल हुँदोरहेछ । दर्जीको समूह एकछिन पर्खियो । लगतै अर्को मालवाहक गाडी आएपछि दौडेर त्यो गाडीको समान खाली गर्ने जिम्मा लियो ।
जिते बजारमा मजदुरी गर्न तँछाडमछाड भइरहँदा व्यापारीहरु भने कति भारी हुन्छ भन्दै ज्यालाको मोलमोलाइ गरिरहेका थिए । एक गाडी खाली गरेर झोलुङ्गे पुलबाट बाेकेर कर्णाली करिडोरमा चल्ने गाडीमा समान राखे वापत पाँच हजार सम्म लिने गरेका छन । यती समूहमा पाँच जना छन भने एक घण्टाको समयमा जनही एक हजार पाउँछन् भने दश जना भएकाmे खण्डमा पाँच सय मात्र भाग पर्छ ।
बिहान बेलुका छाक टार्न र शरीर ढाक्नका लागि जिते बजारमा मदजुरले यसरी दैनिकी चलाइरहेका छन् । कर्णाली करिडोर अन्तर्गत खुलालुमा पक्की पुल बनिरहेको छ । त्यो पुल बनेको खण्डमा आफ्नो रोजिरोटी खोसिने चिन्ता पनि मजदुरमा छ । खाँडाचक्र नगरपालिका वडा नं २ का हरि कामीले अबका केही महिनामा काम खोज्न अन्यत्र जानुपर्ने बाध्यता आउने बताउनुभयो । उहाँले पुल बन्न धेरै वाँकी छैन पुल बनेको खण्डमा गाडी सिधै जहाँको समान हो, त्यही ठाउँमासम्म जाने भएकाले आफूहरुले काम नपाउने भएकाले अन्यत्र काम खोज्नुपर्ने कामीको चिन्ता छ ।
karnalipress
४ श्रावण २०७८, सोमबार १८:०२