बाबु जेलमा, आमाको निधन हुँदा ४ बच्चाको बिचल्ली

असार ५,कालिकोट । दुई वर्षअघि दुर्गबहादुर  बोहोरा जेल परेपछि १२ वर्षीया विना, १० वर्षीया ममता र ८ वर्षका विशाल बोहराको रेखदेख आमा रामपुराले गर्दै आएकी थिइन्। नरहरिनाथ गाउँपालिका–९ भाटगाउँकी रामपुराको बिहीबार मृत्यु भयो।

बुवा जेल परेपछि आमाको संरक्षणमा रहेका तीन बालबालिका आमानै वितेपछि अहिले साहारा विहिन भएका छन्। ‘बालबालिकाका बुवा दुई वर्षदेखि विभिन्न तीन वटा मुद्दामा जिल्ला कारागार कालिकोटमा थुनामा हुनुहुन्छ,’ वडाध्यक्ष प्रदिप बोहराले भने, ‘सहारा दिने आमाको पनि मृत्यु भएपछि बालबालिकाको विचल्ली भएको हो।’

बालबालिकाका बुवा दुर्गबहादुर विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता हुन्। १० वर्षे सशस्त्र द्वन्द्वमा पनि सहभागी भएका उनी आफैले बोकेको ग्रिनेट पड्किँदा अपाङ्ग भएका थिए। विप्लव माओवादीमा संलग्न उनलाई २०७७ पुस १९ गते जिल्ला प्रहरी कार्यालय कालिकोटले पक्राउ गरेको थियो। दुर्गबहादुरलाई राज्यले हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ निर्माण र राजद्रोहको आरोपमा पुर्पक्षका लागि थुनामा राखेको छ।

वडाध्यक्ष बोहराले बुवा जेलमा र आमाको मृत्यु हुँदा बालबालिकाको सहारा खोसिएको बताए। ‘बालबालिकाका बुवा १० वर्षे सशस्त्र द्वन्द्वकै बेला अपाङ्ग हुनुहुन्थ्यो, पछि विप्लव नेतृत्वको नेकपा माओवादीमा संलग्न हुनुभयो,’ उनले भने, ‘बालबालिकाको सबै हेरचाह आमाले गर्नुहुन्थ्यो, आमाको मृत्युपछि बालबालिका बेसहारा भएका छन्।’ अध्यक्ष बोहराका अनुसार बालबालिकाले आमा–बुवाको सोधीखोजी गरिरहेका छन्।

बोहरा दम्पत्तीका चार सन्तान हुन्। चार मध्ये एउटालाई तीन वर्षअघि दाङको एक बाल संरक्षण गृहमा राखिएको वडाध्यक्ष बोहराले जानकारी दिए। ‘पहिलेदेखिनै उहाँहरुको घरको आर्थिक अवस्था अत्यन्तै न्यून हो, त्यसमाथि बुवा सशस्त्र द्वन्द्व हुँदै विप्लव नेतृत्वसम्म आइपुग्दा राजनीतिमैै होमिएकाले आमाको एकल संरक्षणमा बालबालिका हुर्किरहेका थिए।’

तीनै बालबालिका नरहरिनाथ गाउँपालिका–९ को जनजागृति आधारभूत विद्यालयमा अध्ययनरत छन्। ‘कसैले खान, लाउन र शिक्षामा सहयोग गरिदिए ठूलो राहत हुन्थ्यो,’ आफन्त दानबहादुर बोहराले भने, ‘यिनी बालबालिकालाई कसरी हुर्काउने र पढाउने भन्नेमा चिन्तित छु।’ तीन वटै बालबालिका अहिले दानबहादुरको संरक्षणमा छन्। ‘आफ्नो उब्जनीले घरमै खान पुग्दैन्, यस्तोमा तीन बालबालिकाको पालन–पोषण र शिक्षा कसरी दिन सकिएला र,’ उनले भने, ‘खान, लाउन र शिक्षामा कसैले सहयोग गरिदिए ठूलो धर्म हुन्थ्यो।’

पूर्पक्षका लागि कारागारमा रहेका दुर्गबहादुरले श्रीमतीको मृत्यु हुँदा पनि आफूलाई राज्यले नछोडेको बताए। ‘श्रीमतीको मृत्यु भयो, बालबालिकाको बिचल्ली छ,’ उनले भने, ‘विप्लवसँग भएको संझौता अनुसार राज्यले मसहितलाई छोड्नुपर्ने हो, तर अहिलेसम्म कुनै सुरसार छैन्।’

३७ वर्षीय दुर्गबहादुरको २०५९ कात्तिक २८ गते बम बनाउँदा नरहरिनाथ गाउँपालिकाको थाटीकोटमा विष्फोटक पदार्थ विष्फोट हुँदा हात चुडिएको थियो। ‘म द्वन्द्वकालदेखिनै अपाङ्ग छु, श्रीमतीले बालबच्चाको रेखदेख र पालनपोषण गर्ने गरेकी थिइन्,’ पुर्पक्षका लागि कारागारमा थुनामा रहेका दुर्गबहादुरले भने, ‘श्रीमतीको मृत्युको पीडा त छँदैछ, त्यसमाथि छोराछोरीको भविश्य पनि अन्धकार हुने भयो।’ उनले घरको आर्थिक अवस्था कमजोर भएकाले जेठो सन्तानलाई दाङको बाल गृहमा राखिएको बताए। ‘बाँकी तीन छोराछोरी गाउँकै स्कूलमा पढ्थे, उनीहरुलाई नदेखेको पनि डेढ वर्ष हुन लाग्यो,’ उनले भने, ‘श्रीमती गुमाउनुको पीडासँगै छोराछोरीको भविश्य सोचेर ठूलो चिन्ता र पीर लाग्ने गरेको छ।’