निर्माण नसकिदै चर्कियाे कालिकाेट-जुम्ला जाेड्ने पक्की पुल

श्रावण १,कालिकाेट। जिल्लाकाे तिलागुफा-जुम्ला जोड्ने पक्की पुल निर्माण नसकिँदै चर्किएको छ । सीमावर्ती क्षेत्र नाग्ममा निर्माणाधीन सिंजा खोला पक्की एकसाता अघि एकाएक चर्किएको हो । जसले गर्दा पुल निर्माण थपपछि धकेलिएको छ । उक्त पुलले कालिकोट–जुम्ला र मुगुको सीमावर्ती क्षेत्र नाग्म बजारलाई जोड्छ ।
२०६१/६२ सालबाट सञ्चालित जीण बेलिब्रीजबाटै ठुला सवारी जोखिम पूर्णयात्रा गरिरहेका छन् । कति बेला दुर्घटना हुने भन्ने सकिने अबस्था छैन् । चाँडै पुल बन्ला र सुरक्षित यात्रा गरौला भन्ने आशामा बसेका स्थानीय निर्माण नसकिँदै पुल चर्किएपछि निर्माणमा लापरबाहि गरेको भन्दै आक्रोशित भएका छन् ।
तिला ७ का कृष्णबहादुर बुढाले भने,“पक्की पुल बन्ने भनिएको ६ वर्षसम्म पनि बन्न नसक्नु दुःखद् पक्ष हो । सँगै काम थालिएका कर्णाली राजमार्गका अन्य पुल बनेर सञ्चालनमा आइसकेका छन् । तर सिंजाखोला पुल ६ वर्ष बित्दा पनि बनेको छैन् । निर्माण सकिनै लागेको पुल चर्किनुमा कसको लापरबाहीले हो ? तत्काल छानबिन गरेर कारबाही गर्नुपर्छ ।”

लामो समयसम्म पुल निर्माणको काम चलिरहनु, त्यसैमा पनि सञ्चालनमा नआउँदै पुल चर्किनु बिडम्वना नै रहेको स्थानीय अगुवाहरू बताउँछन् । कमसल सामाग्रीको प्रयोग गरेका कारण पुल बीचमै भत्कीन थालेको स्थानीयको आशंका छ ।

असार महिनाभित्रै पुलमा गाडी गुडाउने तयारी भएपनि पुलको फाइनल स्टेसिङ गर्दा बीचमै चर्किएपछि निर्माण रोकिएको सडक डिभिजन सुर्खेतका इन्जिनियर तुलाराम शर्मा बताए । उनले भने, “उच्च प्रविधियुक्त अर्थात् (प्रि–स्टेस) प्रविधिको कर्णालीकै दोस्रो पुल हो । कमसल सामाग्रीको प्रयोग नभई फाइनल स्ट्रेसिङ अर्थात लडा तान्दा समस्या आयो । हाइअल्टिच्युडमा पहिलो पटक फरक टेक्नोलोजीको पुल बनाउँदा समस्या देखियो । पुल चर्किदा निर्माण कार्य धकेलियो । उहि लागतमा निर्माण कम्पन्नीले कार्यलाई निरन्तरता दिने छ ।”

ठेक्का नं. ३ मा रहेको सिंजाखोला पुल यो वर्ष सकिने गरी म्याद थप गरिएको थियो । तर, पुल नै चर्किएपछि पुल निर्माणको कामसमेत अनिश्चित बनेको छ । अब पुललाई ग्राउटिङ गरेर पुर्न स्ट्रेसिङ गरेर मात्र निर्माण प्रक्रिया अघि बढ्ने इन्जिनियर शर्माको भनाइ छ ।

उनले थपे,“प्रिस्ट्र गर्दा पुल चर्किएको छ । फेरि ग्राउटिङ गर्नुपर्छ । जसका लागि नेपालमा उपकरण र जनशक्ति छैनन् । भारतबाट विज्ञ र टेक्नोलोजी ल्याएपछि मात्र काम अघि बढ्छ । साउन पहिलो साता भारतबाट विज्ञको टोली आउँछ । दसैमा सञ्चालनमा ल्याउने गरी काम अघि बढ्छ ।” अहिलेसम्म उक्त पुलको तीन पटक म्याद थपि सकिएको छ । तर निर्माण कम्पन्नीको ढिलासुस्ती र कोभिडले निर्माण भएन् । भने, सिंजाखोला पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर छ । यो पुल ५० टन लोड क्षमताको छ ।

६ वर्षदेखि पुल अधुरै
निर्माण नसकिँदै चर्किएर पुनः ग्राउटिङ गर्नुपर्ने अबस्थाम पुगेको सिंजाखोला पक्की पुल विगत ६ वर्षदेखि अधुरै रहेको छ । उक्त पुलको २०७४ कात्तिक ३० गते सुर्खेतस्थित सूर्य कन्ट्रक्सन प्रालिसँग दुई वर्षमा कार्य सक्ने गरी सम्झौता भएको थियो ।

सम्झौतामा २०७५ चैत १४ गते पुलको निर्माण कार्य सकिएर सवारीसाधन आउजाउ गराउने उल्लेख छ । तर, ६ वर्षसम्म पनि पुल निर्माण सकिएको छैन् । मुस्किलले निर्माण सकिन लागेको पुल निर्माण कम्पन्नीकै लापरबाहिले चर्किएपछि फेरि काम बीचमै अलपत्र परेको छ ।

सम्झौता मिति सकेर तीन पटक म्याद थपेर पनि ६ वर्षसम्म अलपत्र हुँदा सुर्खेत सडक डिभिजनले खास्सै ताकेता दिएको छैन् । नागरिक तहबाट कमसल सामग्रीको प्रयोग र कमजोर जनशक्तिले पुल निर्माणमा लापरबाही भएको आशंका गरिरहेका छन् । सम्झौतामा कर्णाली राजमार्गको छिडेना र सिंजाखोला पुलको एउटै ठेक्का बनाइएको छ । जसमा एकमुष्ट रकम १३ करोड रुपैयाँ रहेको छ ।

इन्जिनियर तुलराज शर्मा भन्छन्, “सिंजा खोला पक्की पुल निर्माणमा शुरुवाती देखिनै समस्या हुँदै आएको छ । पुलको पहिलो डिजाइन नै गलत थियो । जसले गर्दा सम्झौता अनुसार पुल निर्माण अघि बढेन् । फेरी अर्को डिजाइन गर्यौ । पहिलो ठेक्का सम्झौताको अवधि डिजाइनमै बित्यो । त्यसैले निर्माण ६ वर्ष बित्यो ।”

इन्जिनियर शर्माका अनुसार प्रि–स्ट्रेस पुल निर्माणमा कमसल सामग्रीको प्रयोग नभइ स्टेसिङ गर्दा मान्त्रै समस्या आएको जिकिर गरे । भने, चर्किएको पुल कन्ट्रयाक्टरले नबनाएसम्म सवारीसाधन भुक्तानी पनि नहुने र गाडी पनि चल्न नदिईने उल्लेख गरे ।

पुल सबै हिसाबले परिपक्क मापदण्डअनुसार निर्माण नहुँदासम्म भुक्तानी नदिने र अहिलेसम्म प्रयोगमा आएको टेक्नोलोजी फेल भएमा फेरि भत्काएर बनाउनुपर्ने पनि शर्मा को भनाइ छ ।