कोटवाडा बिमानस्थल निर्माण सम्पन्न हुने टुंगो छैन्

बिमानस्थल निर्माण सम्पन्न नहुँदै २०७३ माघ २९ गते चिलगाडी (हवाइजहाज) सफल अवतरण भयो। तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरले परीक्षण उडान गर्दा कोडबाडामा मानव सागर उर्लिएको थियो। पहिलो पटक कोटवाडामा बिमानस्थलमा जहाज अवतरण गराउने शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री छन्।

कोटवाडा बिमानस्थलको कथा फरक छ। सदरमुकाम मान्मादेखि पाँच घण्टा टाढाको यो बिमानस्थल बनाउँदा धेरैको रगत बगेको छ। ३५ जना मजदूरको ‘चिहान’माथि ‘चिलगाडी’ बस्ने ठाउँ बनाउँदैछ। सशस्त्र द्वन्द्वका क्रममा विमानस्थल बनाइरहेका धादिङको जोगीमाराका १७ सहित ३५ जनालाई स्थानीय एक विष्टको घरको आँगनमा २०५८ सालमा सेनाले एउटै चिहान बनायोे। सेनाले स्थानीय प्रयोग गरेर अहिले बन्दै गरेको विमानस्थलभित्रै ३५ जनाको शव गाडिएको छ।

२०७३ माघ २९ गते परीक्षण उडान सफल हुँदा स्थानीयमा खुसीको सीमा थिएन्। चिहानमाथि चिलगाडी बसेको हेर्ने धोको पूरा भएको खुसीयालीमा स्थानीयले अवीर जात्रा गरे। परीक्षण उडान सफल भएपछि नियमित उडान होला भन्ने आशमा रहेका स्थानीयहरु छ वर्षसम्म पनि चिलगाडी फर्केर नआउँदा अहिले निरास छन्। त्यसमाथि ३७ वर्षसम्म विमानस्थल निर्माण पूरा भएको छैन्।

‘बिमानस्थल कालिकोटका जनताको लागि सुविधाका लागि मात्रै होइन्, बिमानस्थलको रनवेभित्र गाडिएका ३५ जना मजदूरको आत्माको शान्तिका लागि पनि चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भन्ने हाम्रो माग छ,’ सुनथराली बिमानस्थल सरोकार समाजका संयोजक धनराज वास्तविकले भने, ‘एउटा विमानस्थल बनाउन ३७ वर्ष समय लाग्नु लाजमर्दो विषय पनि हो।’

गणेश विष्टको घर बिमानस्थलको छेवैमा छ। यो ३७ वर्षमा उनले बिमानस्थलकै कारण धेरै सास्ती भोगे। सँगै काम गर्ने ३५ जना सहकर्मी गुमाए। सेनाको चरम यातना पाए। माओवादीको अत्याचार सहे। बिमानस्थल निर्माणमा राज्यको चासो र चिन्ता नरहेको उनको भनाई छ। ‘सदरमुकाम नजिकै भइदिएको भए उहिल्यै काम सम्पन्न भएर बिमानस्थल सञ्चालनमा आइसकेको हुन्थ्यो,’ विष्टले भने, ‘दुर्गमको बिमानस्थलमा कसैको चासो र चिन्ता छैन्।’

बिमानस्थलका अरु संरचना निर्माण सम्पन्न भएपनि कालोपत्रेको काम भने अझै सुरु भएको छैन्। संझौता अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण व्यवसायीले बिमानस्थल कालोपत्रे सम्पन्न गरिसक्नु पर्ने हो। बिमानस्थल कालोपत्रेको ठेक्का गौरी/पार्वती/श्याम एण्ड शंकर जेभीले लिएको छ।

६ सय ९० मिटर लामो र ६० मिटर चौडाईको धावनमार्ग कालोपत्रे र नाली निमार्शणका लागि निर्माण कम्पनीले १३ करोड ८१ लाख रुपैयाँमा ठेक्का लिएको थियो। निर्माण कम्पनीका प्रतिनिधि कमल केसीले भौगोलिक विकटता र कोरोनाका कारण तोकिएको समयमा काम गर्न नसकेको बताए। ‘सुरुका दुई वर्ष कोरोनाका कारण काम गर्न सकेनौं,’ उनले भने, ‘कालिकोटको पनि विकट ठाउँ र मौसमी प्रतिकुलताका कारण समस्या भयो।’ बिमानस्थल निर्माणका लागि हालसम्म ३९ करोड रकम खर्च भइसकेको छ।

निर्माण व्यवसायीका प्रतिनिधि केसीले नागरिक उड्डयन प्राधिकरणले म्याद थप्ने वित्तिकै काम सुरु गर्ने बताए। ‘नाला निर्माण, माटो कटिङलगायतका कामहरु सम्पन्न भएका छन्,’ उनले भने, ‘अव कालोपत्रेको मात्रै काम बाँकी छ, म्याद थप भएपछि बाँकी कामहरु सम्पन्न गछौं।’

नागरिक उड्डयन प्राधिकरणले भवन र टावर निर्माणको काम पीआर ईन्फ्रास्टक्चरलाई तीन करोड ४७ लाख रुपैयाँमा ठेक्का लिएको थियो। भवन र टावर निर्माणको काम सम्पन्न भइसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले बिमानस्थल निर्माणका बाँकी कामहरु सम्पन्न भएपनि मुख्य काम भने बाँकी रहेको बताए। ‘अरु सबै संरचना निर्माणका कामहरु पूरा भएका छन्,’ उनले भने, ‘कालोपत्रेको जिम्मा लिएको कम्पनीसँगको संझौता सकिएको छ, संझौता नवीकरण गरेपछि मात्रै कहिलेसम्म बिमानस्थल निर्माण सम्पन्न हुन्छ थाहा होला।’