कर्णाली राजमार्गको दुर्दशा

ललित विष्ट भाद्र ३१,कालिकोट। कर्णाली राजमार्ग सञ्चालन भएको वर्षौ भयो। ठाउँ–ठाउँमा सडक भत्केका छन्। पहिरोको समस्या उस्तै छ। सामान्यतया जुम्ला–सुर्खेतको दुरी आठदेखि १२ घन्टासम्मको हो। अचेल यही सडकमा यात्रा गर्न दुई देखि तिन दिन लाग्छ।

‘साँघुरा सडक, ठाउँ–ठाउँमा झरेको पहिरोले गर्दा जुम्लादेखि सुर्खेत पुग्न दुई तीन दिन लाग्छ।’ तिला गाउँपालिका जुम्लाका बिरबहादुर बस्नेतले भने,‘पहिले हिँडेरै तीन चार दिन लाग्थ्यो,आजभोलि गाडीमा जाँदा पनि त्यति नै समय लाग्छ।’ सडकको स्तरोन्नति र सरकारी निकायले समयमै आएको पहिरो नपन्छाउँदा यात्रु सास्ती खेप्दै आएका छन्।

कर्णाली राजमार्गको कालिकोट खण्ड अन्यन्तै जोखिमयुक्त छ। एसमोड,सुनारखोला,पिली, खल्लागाड लगायतका ठाउँमा दिनहुँ झर्ने पहिरोले यात्रु समस्यामा पर्ने गरेका छन्। यो खण्डमा गाडी वारपार गराउन डोजरको सहायता लिनुपर्छ। सडक नियमित सञ्चालन नहुँदा अचेल कालिकोट र जुम्लादेखि अन्यत्र निर्यात हुने स्याउ बाटोमै कुहिन थालेको तिलागुफा नगरपालिका–२ का कमल बोहोराले बताए। ‘एकै दिनमा नेपालगन्ज सम्म स्याउ पु–याउन सकिँदैन,’ उनले भने,‘चार पाँच दिन बाटोमै रोकिनुपर्दा स्याउ कुहिएर नष्ट हुने गरेको छ।’

कर्णाली राजमार्गका विभिन्न स्थानमा सडक कामदार राखिएका छन्। ‘सामान्य मर्मतबाहेकका काम हामीले गर्न सक्दैनौं’, एक कामदारले भने,‘एकै ठाउँमा पाँच – सात घन्टासम्म यात्रु जाममा पर्ने गरेका छन्।’

साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले वर्षेनी सास्ती खेप्दै आएका छन्। राजमार्गमा हुने सडक दुर्घटनाले वर्षेनी सयौं यात्रुले ज्यान गुमाउनु परेको छ। सडक मर्मत गुणस्तरीय नहुँदा यात्रु र चालकले सास्ती बेहोर्दै आएका छन्। ठाउँ–ठाउँमा सडक हिलाम्य बनेको छ भने कयौँ स्थानमा सडक भाँसिएको ट्रक चालक भक्त रावलले बताए।

राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ। बनेका काम पनि गुणस्तरहीन हुँदा सडक जीर्ण बनेको हो। कालिकोटकै बासिन्दा महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएको बेला पनि कर्णाली राजमार्गको स्तरोन्नति हुन नसक्नु दुःखद भएको कालिकोटका स्थानीय बताउँछन्।

कालिकोटको सुनार खोलाको सडकको हालत भने अझै दयनीय छ। कच्ची सडक भए पनि चार घन्टामा पुग्नुपर्ने भए पनि सडकको खराब अवस्थाका कारण न्यूनतम सात घन्टासम्म लाग्ने गरेको चालक नरेस रोकायाले बताए। आज पनि सुनार खोलामा परोको कारण राजमार्ग बन्द छ।

सुर्खेतबाट दैलेख,कालिकोट हुँदै कर्णाली नदिको किनारै किनार भएर जुम्ला पुग्ने मार्ग कर्णाली राजमार्ग हो। यो मार्ग विश्व बैंकको आर्थिक सहयोगमा २०६३ चैत्रबाट निर्माण भएर सञ्चालनमा आएको थियो।

दोब्बर भारले सडक बिग्रँदै

कर्णाली राजमार्गमा दैनिक सवारी चापले पनि सडकको अवस्था बिगँ्रदै गएको छ। न्यूनतम भार थेग्न सक्ने क्षमता भए पनि दैनिक सवारी चापका कारण ओटासिल गरेको एक वर्षमै सडकको ओटासिल अधिकांश ठाउँमा बिग्रेको छ।

सडक मापदण्ड अनुसार ओटासिल गरिएको बाटोमा दैनिक दुई सयभन्दा कम सवारी साधनको भार थाम्न सक्ने हुन्छ। तर, पछिल्लो समय कर्णाली राजमार्गमा मापदण्ड भन्दा दोब्बर सवारीसाधन गुड्ने गरेका छन्।

यस्तै, सडक मापदण्ड अनुसार न्यूनतम १५ मिटर घुम्ती हुनुपर्ने भए पनि हाल ८ मिटर मात्रै छ। जसकारण दुर्घटनाको उच्च जोखिम छ। उकोलो तथा ओराला न्यूनतम १० प्रतिशत मात्रै हुनुपर्ने भए पनि हाल कर्णाली राजमार्गमा १५ प्रतिशतसम्म भएकाले धेरै ठाउँमा गाडी चिप्लिने र बाटो बिग्रने गरेका छन्।