
ललित विष्ट,कालिकोट । नरहरिनाथ गाउँपालिका—१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको टावर,भवन निर्माण भएपछि विमानस्थल कालोपत्रे र रनवेको काम अन्तिम चरणमा रहेको हो ।
धावनमार्गको ६ सय ९० मिटर लम्बाई र ६० मिटर चौडाई रहेको छ । २०४२ साल बाट विमानस्थल निर्माण सुरु गरीएको थियो ।
विमानस्थलको अहिले सबै काम ९५ प्रतिशत भईसकेको विमानस्थल निर्माणमा खटिएका प्रबन्धक आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले बताए । उनले भने ‘अहिले विमानस्थलको काम तिब्र गतिमा हुदै छ । पिचको काम पनि ८५ प्रतिशत भएको छ । अब कलर लगाउने काम पनि सुरु भएको छ । विमानस्थलको सबै काम माघ महिनामा सम्पन्न हुन्छ।’
विमानस्थल सम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीहरुलाई सकस छ । ‘कच्ची,अफ्ठ्यारो सडक भएकाले निर्माण सामग्री लिन निकै गाह्रो थियो अहिले धमाधम काम भईरहेको छ।’ गौरी पार्वती,श्याम एण्ड शंकर जेभीका प्रतिनिधि कलम केसीले भने, हामीले अरु काम सकेर पिच र कलरको कामसुरु गरेका छौं। माघ अन्तीम सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।’
गौरी पार्वती श्याम एण्ड शंकर जेभीले पिच गर्ने,नाला,माटो काट्ने गरी १३ करोड ८१ लाख रुपैयाँ भ्याटसहित ठेक्का लिएको छ । त्यस्तै भवन र टावर निर्माणका लागि पिआर ईन्फ्रास्टक्चरले ३ करोड ४७ लाख ७४ भ्याटसहित ठेक्का लिएर काम गरिएको छ ।
२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालिकोटले १ लाख रकम विनियोजन गरेर कामसुरु गरेको सुनथराली विमानस्थलको कालोपत्रेको काम ३८ बर्ष पछि पुरा हुनलागेको स्थानीयले बताँएका छन्।
सशस्त्र द्वन्द्वका क्रममा विमानस्थल बनाइरहेका धादिङको जोगीमाराका १७ सहित ३५ जनालाई स्थानीय एक विष्टको घरको आँगनमा २०५८ सालमा सेनाले एउटै चिहान बनाएको थियो । त्यस यता बन्द रहेको विमानस्थलको निर्माण कार्य देशमा शान्ति स्थापना पछि पुनः सुरु भयो कामले तत्काल गति लिन नसक्दा अहिले सम्म विमानस्थल सञ्चालनमा आउन सकेको छैन्।
२०७३ माघ २९ गते परीक्षण उडान भएको विमानस्थलमा फेरी चिलगाडी फर्केर आएको छैन। अब विमानस्थल कालोपत्रेको काम अन्तिम चरणमा रहेकाले जहाज आउने स्थानियमा आशा पलाएको छ । ‘चिलगाडी (आउने) आश (छियन) थिएन अव आशा (पलायो) लाग्यो स्थानिय एक महिलाले भनिन्। विमानस्थल निर्माण कार्यसुरु भएको (कैयौ वर्ष भया) अव चिलगाडी आउने भन्दा छन्। लामो समयको प्रर्खाईमा रहेका यहाँका नागरीकमा आगनमै चिलगाडी बसेको देख्ने धेरै रहर छ ।
किन अल्झियो ३८ वर्षसम्म निर्माणको काम ?
तत्कालीन जिल्ला विकास समितिले विमानस्थल निर्माणका लागि बजेट छुट्याएको थियो । तर, दुर्गम भएका कारण कोही इञ्जिनियर जानै तयार भएनन् । द्वन्द्वका कारण तत्कालीन माओवादीहरुले पनि विमानस्थल निर्माण रोक्न लगाएको स्थानीयहरु बताउँछन्।
माओवादी जनयुद्धका कारण २०५८ देखि २०६३ सालसम्म यो आयोजनाको कुनै पनि काम अघि बढ्न सकेन । विसं २०६३ पछि स्थानीय समिति निर्माण गर्दै यो आयोजना अघि बढाउन थालियो । तर, फेरि विमानस्थल स्थानीय दलहरुको आन्तरिक किचलोको शिकार बन्यो ।
निर्माण समितिमा दलका प्रतिनिधिहरु सहभागी बनाइएको थियो। तर,दलका प्रतिनिधिहरुको स्वार्थ भिन्न भिन्न भए । जसले निर्माण अघि बढाउने भन्दा पनि विमानस्थललाई थला पार्ने काम भएको स्थानीय बताउँछन्।
दलका प्रतिनिधिहरुको किचलोका कारण अवरुद्ध विमानस्थलको निर्माण २०७१ साउनदेखि अघि बढ्यो । त्यसपछि निर्माण कार्य निरन्तर अघि बढ्यो । जसको परिणाम अहिले धावन मार्गमा कालोपत्रे भएर विमानस्थल सञ्चालनमा आउने अवस्थासम्म पुगेको छ ।
karnalipress
२९ पुष २०७९, शुक्रबार १८:५८