संकटमा पन्चेबाजा र हुड्के नाच

ललित विष्ट फागुन ९, कालिकोट । कुनै समय थियो, हरेक चाडपर्व र उत्सवमा पन्चेबाजा बज्थ्यो, हुड्के नाच नाचिन्थ्यो।पछिल्ला केही वर्षयता न पन्चेबाजा बज्छ न हुड्के नाच नाचिन्छ। आधुनिकतासँगै मनोरञ्जनका लागि अन्य साधनको प्रयोग बढ्दा ती मौलिकता खुम्चिँदै गएका छन्। विशेषगरी कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा नाचिने हुड्के र घन्किने पन्चे बाजा अहिले विरलै देख्न–सुन्न पाइन्छ।

नयाँ पुस्तामा पन्चेबाजाप्रति रूचि हराउँदै गएको छ। परम्परागत बाजा बजाउनेहरू व्यावसायिक बन्न नसक्दा बाजा नै लोप हुने अवस्था बनेको छ। केही समयअघिसम्म पन्चेबाजा र हुड्केनाच भन्नेबित्तिकै बालबालिकादेखि वृद्धवृद्धा सबै हुरुक्कै हुन्थे।बढ्दो आधुनिकताले पन्चेबाजा र हुड्केनाच ओझेलमा परेका छन्।

कर्णालीमा हुने विवाह, व्रतबन्धलगायत विभिन्न चाडबाड, जात्रा–उत्सव, मेला–महोत्सव, सभा–समारोहमा पन्चेबाजा बजेकै हुन्थ्यो, हुड्केनाचले माहोललाई रौनकमय बनाइदिन्थ्यो। तर यी बाजा र नाचको पुस्तान्तरण नहुँदा लोप भएर एकादेशका कथा बन्ने संकेत देखिएको छ। पछिल्लो समय परम्परा संरक्षणका नाममा जागरण बढ्दै गर्दा पन्चेबाजासँगै हुड्के नाचको माग बढिरहेको छ।तर पुराना पुस्ताबाट नयाँमा बजाउने र नाच्ने सीप हस्तान्तरण नहुन नसकेकाले माग पूर्ति हुन सक्ने सम्भावना न्यून बनेको छ।

पन्चे बाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलक र सहनाइ पर्छन्। यी बाजा मनोरञ्जनका लागि मात्र बजाइन्नन्, यिनमा बेग्लै धार्मिक एवं सांस्कृतिक महत्व पनि जोडिएको छ।यी बाजा मौलिक नेपाली संस्कृतिलाई झल्काउने धरोहरसमेत हुन्। पहिले यी बाजा दैनिक जीवनसँग जोडिएका थिए। मानिसहरू बेलुकापख पन्चे बाजाको तालमा हुड्के नाचेर दिनभरिको थकान बिर्सन्थे।विवाह–व्रतबन्धमा बज्ने पन्चेबाजा र नाचिने हुड्के हेर्ने भन्दै चारैतिरका मानिसहरू झुम्मिन्थे।उबेलाको त्यस्तो उल्लास र उमंग वातावरण अहिले शिथिल बनेको छ।

केही वर्षयता नयाँ पुस्ताले चासो नदिएपछि पन्चेबाजा बज्न र हुड्केनाच सुनिन छाडेको अग्रजहरू बताउँछन्। अहिले अधिकांश गाउँघरमा युवा छैनन्। सबैजसो रोजगारीका लागि ठुला सहर र विदेशतिर छन्। पछिल्ला वर्षहरूमा बिहेको शैली पनि फेरिएको छ। पन्चेबाजा र हुड्केनाचलाई पुरानो संस्कृति मानेर हेर्न थालिएको छ। कालिकोटको शुभकालिका गाउँपालिका–३ का नमराज नेपाली पन्चेबाजाको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गर्छन्।‘आधुनिक प्रविधि भित्रिएसँगै गाउँमा पन्चेबाजा बजाउनै छाडियो,’उनी भन्छन्,‘अहिले गाउँमा न पन्चेबाजा बज्छ न हुड्केनाच भेटिन्छ।बजाउनेहरू नै छैनन्।’पन्चेबाजा बजाउने समुदायले पछिल्लो समय आधुनिक बाजा बजाउने तथा अन्य पेसा अँगाल्ने गरेका छन्।

नेपाली लोकसंस्कृति झल्किने कर्णाली प्रदेशको ख्यातिप्राप्त नौमती बाजा पनि लोप हुँदै गएको छ। परम्परागत बाजा बजाउनेको पेसालाई संरक्षण गर्न नसकिनु तथा उचित ज्यालाको व्यवस्था नहुनुले अहिले यी बाजा लोप हुने अवस्थामा छन्। दैनिक आम्दानीको स्रोत बन्न नसक्दा बाजा बजाउने पेसाप्रति युवाहरूको आकर्षण छैन। पन्चेबाजा र हुड्केनाचलाई निरन्तर आम्दानीको पेसा बनाउन सके संरक्षण गर्न सकिने सरोकारवालाहरू बताउँछन्। मौलिक बाजा बजाएर जीविकोपार्जन गर्न मुस्किल भएको बाजाकर्मीहरू बताउँछन्। मौलिक तथा पुराना बाजाको संरक्षणमा स्थानीय सरकारले पनि चासो दिएको पाइँदैन।