फागुन १८, कालिकोट । माओवादी आक्रमणको अन्तिम निशाना बनेको कालिकोटको पिली कोपको सुख्खा डाडो आगोले खाएर कालो बनेको छ,यतिखेर कोप डाडोलाई हरियाली बनाउन स्थानीयले ३ वर्षअघि रोपेका लेप्टिस,बकाइनो,खयर,सल्लो, सिसौलगायतका ५ हजार बढी विरुवा माघ पहिलो साता लागेको आगोले जलेपछि स्थानीय दुःखी छन्।
१० वर्षे जनयुद्धले थलिएको पिलीको उजाड डाडो हरियाली बनाउन दुःख गरी आफ्नो पालामा विरुवा रोपे पनि यतिखेरको आगलागीबाट जोगाउन नसकेकोमा खाँडाचक्र ७ पिलीका निर्वमान वडाध्यक्ष रजवहादुर मल्लको मन कुडिएको छ । गाग्रीमा पानी बोकेर जगाएका बुट्टा सबै मरे ।
उनको गुनासो छ वन डढेको सबैले देखे तर,मन डढेको कसैले देखेनन् । पिलीलाई सरकारले युद्धपर्यटकीय क्षेत्र घोषणा गरेर कार्यान्वयनमा ढिलाई गरेकोमा उनको चित्त दुखाई छ । युद्धपर्यटकीय क्षेत्र बनाउने घोषणा भएको एक दशक पुग्न लाग्यो । उनले थपे काम जहाको त्यही छ । हालसम्म युद्धपर्यटकीय क्षेत्र पिलीको नाममा रु ३ करोड खर्च भए पनि देखिने उपलब्धी छैन । बनेको संरचना पनि जीर्ण हुदै गएको छ । कोप डाडामा बनाएको ४ कोठे प्रशासनिक भवन गएको असोजको वर्षाले क्षतिग्रस्त छ भने शौचालय प्रयोग नहुदै जीर्ण बनेको छ ।
कुनै बेला प्रहरी र सेना देख्ने वित्तिकै पिलीबासी कोही घर भित्र लुक्थे त कोही जंगलमा कुद्थे । माओवादी कार्यकर्ता पनि गाउ पसे कसैलाई भूमिगत हुन कर गर्ने हुन ? वा श्रम गर्न खटाउने हुन भनेर पिरलो हुने गथ्र्यो । सशस्त्र दन्द्धको अन्तिम फौजी हमलाको शिकार बनेको थियो पिली । खरानी भएको पिलीको समृद्धिका लागि प्रयास भइरहेको भए पनि सार्थकता पाउन नसकेको स्थानीयको गुनासो छ । हाम्मा दुःख त उस्ताइ (उस्तै) छन् । ५० वर्षीया मिमकोशा मल्लले भनिन् सुखका दिन आउन्याछन् भन्नाछिया (आउछन् भन्थे), झुटा रयाछन् । उनले ब्यवस्था फेरिएको भन्दा सडक पुगेपछि गाउमा केही सहज भएको पनि सुनाइन् ।
केही भएन भन्नेमा छिमेकी लक्ष्मीकला कार्की सहमत छैनन् । केही भएन भनौ भने महिला अगुवा लाग्न पाएका छौ । हालै गठित मेघमती आवि ब्यवस्थापन समितिमा सदस्य चुनिएकी ६३ वर्षीया कार्कीले भनिन् पहिलेजस्ता त छैन, गाउमा रोड पुग्यो, खानेपानी आयो, अलिअलि विकास त भयाकै छ ।
कर्णाली राजमार्ग निर्माणको क्रममा ०६१ चैत्रमा स्थापना गरिएको कर्णाली राजमार्ग सडक निर्माण कार्य दलको क्याम्पमा माओवादीले देशभरको शक्ति केन्द्रीत गरी पिली क्याम्पमा २३ साउन २०६२ मा आक्रमण गर्दा सेनाले ठूलो संख्यामा मानवीय र भौतिक क्षति बेर्होनु पर्यो । पिली आक्रमणमा सडक खन्न भर्ना गरिएको अर्धसैनिक सहित तत्कालीन शाही नेपाली सेनाका ७५ जनाले ज्यान गुमाए ।
स्थानीय रासन ठेकेदार शक्ति मल्लको माओवादीले टाउको काटे भने वारी पिलीबाट सेनाले हानेको गोली लागेर तिला नदी पारी औलगेलाका करे घर्तीले पनि ज्यान गुमाए । पिलीमा माओवादी तर्फ पनि दुई दर्जन बढीले ज्यान गुमाए । कैयौ घाइते भए । घटनाको ३ दिनपछि मात्र सरकारी फौज पिली पुग्न सकेको पिलीमा तत्कालीन पश्चिम डिभिजन कमाण्डर जनार्दन शर्माको नेतृत्वमा ठूलो मात्रामा सेनाको अत्याधुनिक हातहतियार सहित ६२ जना सेनालाई नियन्त्रणमा लिएर एक महिनापछि जाजरकोटबाट छाडिएको थियो ।
माओवादी आक्रमणपछि त्रस्त बनेकोे यहाको जनजीवन जनआन्दोलन भाग २ पछि सामान्य मात्र बनेन । स्थानीयको दैनिकी समेत फेरिएको स्थानीय पुत्रवहादुर मल्लले बताए । पिलीको विकासका लागि तत्कालीन दाहा गाविस जिविस हुदै खाडाचक्र नगरपालिका बनेपछि स्थानीयले सरकारलाई हार गुहार गर्दै आएका छन् । हामी लागेका लागै छौ । युद्ध पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्षसमेत रहेका मल्लले भने योजनाअनुसार संग्रहालय, शालिकसहितका शदिका स्मारक बनाउने काम बाकी नै छ । तत्कालीन दाहा गाविसका उपाध्यक्ष मल्लले थपे केही भएन भनौ भने बजेट परेकै छ ।
१० करोडको डिपिआर, ७ करोडको ठेक्का
यसअघिको बजेटले काम सुरु गरिए पनि खाडाचक्र नगरपालिका बनेपछि डिपिआरसहितको योजना निर्माण भएको छ । पिली पर्यटकीय युद्धसंग्राहलयका लागि रु १० करोड ८१ लाखको डिपिआर बनेर संघीय बजेटबाट कार्यान्वयनमा गएको नगर प्रमुख कमलवहादुर शाहीले बताए । युद्धपर्यटकीय क्षेत्र पिलीको लागि गत आर्थिक वर्षको अन्त्यमा डिभिजन वन कार्यालय कालीकोटले भ्याट र पिएससहित रु ८ करोड ८९ लाख ९१ हजार १ सय ७६ रुपैयाको रकमको टेण्डर आवहन गरेर काठमाडौको कुशेश्वर कन्ट्क्सन प्रालिले रु ६ करोड ८९ लाख ९९ हजार ७ सय ९९ रुपैया ९७ पैसामा ५ वर्षभित्र निर्माण सक्ने गरी संझौता गरेको छ ।
संझौता त असारमै भएको हो । डिभिजन वन प्रमुख रमेशकुमार गिरीले भने काम सुरु भएको छैन, छिट्टै सुरु हुन्छ । उनकाअनुसार ठेकेदार काम गर्न काठमाडौबाट हिडिसके । युद्ध पर्यटकीय क्षेत्र पिलीको पूर्वाधार निर्माणका लागि साइड सेलेक्सन भएर दुई तीन दिन भित्रै काम सुरु गरिने तयारी भएको इन्जीनियर प्रकाश सेजुवालले बताए । असारमा सझौता भए पनि वर्षा, दशैतिहार, असोज १९ देखिको बेमौसमी वर्षा, चुनावलगायतका कारण देखाउदै ठेकेदारले हालसम्म काम सुरु नगरे पनि हाल काम गर्न कामाडौबाट हिडिसकेको इन्जीनियर सेजुवालले बताए ।
संझौताअनुसार पिलीमा युद्ध म्यूजिमसहितको संग्रालय, र्यालिंगसहितको करिब १९ सय मिटर पैदल मार्ग, पौडी पोखरी, पाकिंग, प्रवेशद्धार, भ्यू टावर, पोखरी, विरुवासहितको २ वटा चौतारो, २ वटा शौचालय, जनयुद्धका लडाकु र शाही नेपाली सेनाका शालिक र प्रयोग गरेका हतियारको नमूना निर्माण हुने इन्जीनियर सेजुवालले जानकारी दिए ।
पिलीमा युद्ध संग्रालय बनेपछि देशकै नमूना युद्ध पर्यटकीय गन्तब्य बन्ने माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य महेन्द्रवहादुर शाहीले बताए । पिलीको विकास र संरक्षणका लागि आफूले पहल गरिरहेको सुनाउदै पिली पर्यटकीय हब बन्ने दावी गरे । उनकाअनुसार पिली हुदै जुम्ला र मगुको रारा पुग्ने कर्णाली राजमार्ग, पिली पाखा सडकले पनि पिलीको समृद्ध र विकासका लागि योगदान पुर्याउने अवस्था छ ।
फेरिदै स्थानीयको दैनिकी
माओवादी आक्रमणको निशाना बनेको कर्णाली राजमार्ग निर्माण सम्पन्न भएपछि पिली गाउ र यस आसपासका बासिन्दाको दिनचर्या परिवर्तन भएको छ । कमाईका लागि भारत धाउने युवाहरु गाउमै विभिन्न पेशा अपनाएर आत्म निर्भर बन्न थालेका छन् । घरघरमा चर्पी निर्माण गरेर समुदायको अगुवाईमा गाउलाई खुला दिसा मुक्त क्षेत्र घोषित गरिएको छ । गेला गाविसलाई जोड्न गाउको पुछारमा बग्ने तिला नदीमाथि झोलुंगे पुल निर्माण भएको छ । घर घरमा सौर्य प्रणालीले गाउ झलमल्ल बनाइएको छ । खानेपानी नहुदा घंटौ लाइन बस्न जानुपर्ने बाध्यता भएका यहाका दिदीबहिनीहरु हाल घरघरमा धारा बनेपछि खुशी छन् । पानी भर्नमै दुई घण्टा लाइन बस्नुपथ्यो । स्थानीय मानकौरा मल्ले भनिन् अचेल त घरघरै धारा छन् ।
कर्णाली राजमार्ग निर्माणसगै पिली बजार बनेपछि यहाको कालिका प्रावि मावि बनेको छ । निमावि र मावि तहको अध्ययनका लागि दैनिक ४ घण्टा टाढा पैदल हिडेर गेला र घोडेना पुग्नुपर्ने यहाका बालबालिको बाध्यता हटेको छ । गाउमा मावि बनेपछि निकै सजिलो भयो । कक्षा १० मा अध्ययनरत नन्दा विश्वकर्मा भन्छिन् विहान २ घण्टा र बेलुकी दुई घण्टा हिड्दा हिड्दै थाकिन्थ्यो, स्कूलमा पढेको पनि बुझिदैनथ्यो । उनले गाउमा मावि नहुदा प्रावि तहबाट माथि अध्ययन गर्न छात्रालाई निकै समस्या हुने गरेको सुनाइन् । पहिले त गाउभरिबाट मावि तहमा पढ्ने केटीको संख्या चार,पाच जना मात्र हुन्थे । छात्रा दलित छात्रा विश्वकर्मा भन्छिन् अहिले त एउटै गाउका ४१ जना मावि तहमा पढ्ने छात्रा छन् ।
त्यस्तै, कक्षा ३ सम्म पठनपाठन हुने मेघमति प्राविमा कक्षा ५ सम्म पढाई हुन थालेको छ । गाउका दुवै विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र संचालनमा आएका छन् । खाडाचक्र नगरपालिकाको अगुवाईमा संघसंस्थाकोे सहयोगले खेल्दै सिक्दै गर्ने बालसुलभ वातावरण कक्षा कोठा ब्यवस्थापन र सहयोगी कार्यकर्तालाई तालिम प्रदान गरेपछि दिनभर धूलो माटोमा खेल्ने ससाना नानीहरु रमाउदै विद्यालय जाने गरेकोे गरेको स्थानीय महिला कुसुमकला मल्लले बताइन् । गाउका सबै बालबालिका विद्यालय भर्ना गरेर शतप्रतिशत आधारभूत शिक्षा सुनिश्चित वडा बनाइएको वडाध्यक्ष दिपक कार्कीले बताए । पिलीस्थित कालिका माविमा दुई तले पक्की भौतिक पूर्वाधार, छात्रछात्रा शौचालय, बाल मैत्री वातावरण, अभिभावकको सक्रियताजस्ता कारण जिल्लाकै नमूना विद्यालयमा दर्ज भएको छ ।
सडक नहुदासम्म वर्षमा एक दुई पटक अनुगमनमा आउने शिक्षाका सरोकारवाला अचेल त महिनामा दुई=तीन पटक विद्यालय हेर्न आउछन् । प्रधानाध्यापक डिलवहादुर मल्लले भने आन्तरिक र बाह्य अनुगमनकर्ता तथा अध्ययन भ्रमणमा शिक्षा विभाग, एनजीओ आइएनजीओ र छिमेकी विद्यालयका प्रतिनिधि पनि नियमित आउछन् । विद्यालयमा गठन गरिएको बाल क्लबका प्रतिनिधिलाई विद्यालय ब्यवस्थापन समितिमा सदस्यकारुपमा आमन्त्रण गरिने पिलीमा शिक्षक, विद्यार्थी र अभिभावकले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गरेर टास गरिएको देखिन्छ ।
माओवादी आक्रमणपछि त्रासमा रहेका स्थानीयबासीले लोकतन्त्रको बहालीपछि मात्र शान्तिको सास फेर्न पाएको स्थानीय अगुवा पंखवहादुर मल्ल बताउछन् । पहिले त गाउमा डर त्रास मात्र हुन्थ्यो । उनले भने लोकतन्त्र र सडक स∕गस∕गै पुगेकाले गाउको मुहार फेरियो । सशस्त्र द्वन्द्वमा गाउ छाडेर सदरमुकाम मान्म लगायतका ठाउमा विस्थापित बन्न बाध्य बनाइएकाहरु पनि अचेल गाउ फर्किएर विभिन्न ब्यवसायमा सक्रिय रहेको युवा उद्यमी रमित मल्लले बताए ।
तल सेरा र पिली दुई गाउको बीचबाट गएको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकले यहाको कायाकल्प गर्न सहयोग गरेको स्थानीय बलवहादुर कार्कीको अनुभव छ । गाउको वरिपरि भीरैभीर भएको पिलीलाई बादर बस्ने गाउ भनेर हेला गर्थे । कार्की भन्छन् अवस्था फेरियो, हेला गर्ने गाउका मान्छे यही बस्न आउनु पर्यो ।
मल्ल, कार्की, विश्वकर्मा जातजातिका करिब २ सय ५० घरधुरीका १ हजार ४ सय जनसंख्याको बसोवास रहेको पिली गाउ ०४८ सम्म पाखा गाविस, त्यसपछि संघीय संरचना नहुदासम्म दाहा गाविसमा रहेकोमा हाल खाडाचक्र नगरपािलकाको ७ नं वडामा पर्छ । नगरपािलकाको वडा बनेपछि नागरिकता सिफारिस, जन्म मृत्यु दर्ता, सहितका काम गाउमै हुन्छ भने विरामी पर्दा पनि गाउमा स्थापना भएको आधारभूत स्वास्थ्य इकाइले सेवा दिने गरेको स्थानीय तिलकौरा शाही मल्लले बताइन् । गर्भजाचलगायतका काम गाउमै हुन्छ । उनले भनिन् सुनौला हजार दिनका आमालाई दिने सेवा सुविधा लिन पनि अन्त जानुपर्दैन ।
पिलीमा विभिन्न सरकारी र गैह्सरकारी संघ संस्थाको सहयोगमा गाउबासीले ब्यवसायिक रुपले तरकारी तथा फलफूल खेती, बाख्रापालन सुरु गरेको पिली तलसेराका पद्मा मल्लले बताइन् । सडक नहुदासम्म बजार नपाएको यहाको केरा र सुन्तलाले बजार पाएको छ । त्यति बेला एक रुपैया प्रति दाना सुन्तला र प्रति कोसा केरा पनि बिक्री हुदैनथ्यो । उनले भनिन् अचेल बोटमै ५ रुपैयामा हारालुछ हुन्छ । गाउमा हिमचुली सहकारी संस्थाले समुह गठन गरेर बचत संकलनलगायतका काम गरिरहेको छ ।
चार दशकअघि भारतमा ज्याला मजदुरीमा जादा देखेका गाडी आफ्नै गाउको बीचबाट धुलो उडाउदै कुदेको देख्दा सपनाजस्तै लागेको दाहा ८ पिलीका बृद्ध नयावहादुर कार्कीको अनुभव छ । २०६३ चैत्र ३० गते सुर्खेतबाट जुम्लाजान पिली हुदै गाडी आए भनेको सुन्दा सपनाजस्तै लाग्यो ।् अतीत कोट्याउदै बृद्ध कार्की भन्छन् महिनौ भारी बोक्दै घर पुग्नुपर्ने बाध्यताको अन्त्य भयो । बाटो पुर्याउन कालिकोटको पहारा फोर्न सहयोग गर्ने नेपाली सेनालाई धन्दवाद दिदै बृद्ध कार्कीले आफ्नो सरकार आएपछि यो गर्छौ र त्यो गर्छौै भनेर जनता झुक्याउने माओवादीप्रति भने गुनासो पोखे । धनीको सम्पत्ति गरिबलाई बाड्छौ भनेर ठूलै कुरा गर्थे । उनले भने खै त, धनी झन् धनी गरिब जहाको त्यही छन् । उनी सरकारले बृद्ध भत्ता दिएकोमा भने खुशी छन् ।
माओवादी सरकार बने पनि यहाका द्वन्द्व पीडितले पर्याप्त राहत र सहयोग नपाएको गुनासो गरेका छन् । माओवादीबाट हत्या गरिएकाका परिवारले सरकारले द्वन्द्व पीडित राहतमा समेत भेदभाव गरेको गुनासो छ । पिली भिडन्तमा ज्यान गुमाएकाहरुका आफन्त आफ्नो छोराको मृत्यु भएको ठाउ खोज्दै आउने गरे पनि युद्धपर्यटकीय क्षेत्र ब्यवस्थित नहुदा अमिलो मन लगाएर फर्किने गरेको स्थानीय जनक मल्लले सुनाए । उनकाअनुसार पिलीमा होम स्टे बनाउने प्रचार गरिए पनि हालसम्म संचालन हुन सकेको छैन ।
आर्थिक वर्ष ०७६/०७७ को डेढ करोड बजेटबाट प्रशासनिक, होम स्टेसहितका ३ वटा भवन, करिब ७ सय मिटर रेलिंगसहितको सिढी निर्माण भएको छ भने त्यसअघि पछि गरेर ३ करोड खर्च भएको छ । नया बन्ने संरचनाको सुरु भएको छैन । पिली पर्यटकिय क्षेत्रभित्र पर्ने सडकलाई पनी चौडा गर्न थालिएको छ । साघुरो सडक रहेको पिलिलाई चौडा र फराकिलो बनाउन सुरु गरिएको छ ।
karnalipress
२० फाल्गुन २०७९, शनिबार ०८:२१