कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका –१ कोटवाडामा निर्माण सुरु भएको ३८ वर्षपछि बहुचर्चित सुनथराली विमानस्थल कालोपत्र गरियो । तर ७ वर्षअघि परीक्षण उडान भएको उक्त विमानस्थलमा अहिलेसम्म उडान भएको छैन्। अहिलेसम्म सुनथराली विमानस्थल परीक्षण उडानमै सीमित छ । स्थानीय भने विमानस्थल कालोपत्र भएपछि जहाज आउने आशामा छन्।
स्थानीय नरवहादुर विष्ट ३३ वर्षको उमेरदेखि कोटवाडाको पाखो खनेर विमानस्थल निर्माणमा संलग्न थिए । उनी सुरुमा कुल्ली (कामदार) बाट विमानस्थल निर्माणमा खटिएका थिए। पछिल्लो समय मेट (कामदारको नाइके) समेत बने। ‘अहिलेजस्तो खन्ने डोजर, ढुंगा, माटो बोक्ने र टिपर भए त उहिल्यै काम सकिन्थ्यो,’ उनले भने, ‘कोदालो, साबेल, गैंचीले खनेर भैंसीको छालामा माटो बोकेर काम गर्यौ ।’ ०४२ सालबाट निर्माण सुरु गरीएको विमानस्थलमा उनले सुरुदेखि नै काम गरे भने झन्डै एक महिना श्रमदान पनि गरे।
जुँगाको रेखी बसेदेखि कोटवाडाको पाखो खन्न थालेका स्थानीय गणेश विष्ट विमानस्थल कालोपत्र भएपछि खुसी छन्। उनले पनि अब विमानस्थल कालोपत्र भएसँगै जहाज आउने आशा जागेको बताए । ‘रोड (सडक) नभएको बेला एयरपोर्ट बनेको भए त धेरै सहज हुन्थ्यो,’ उनले भने, ‘अहिले गाउँसम्म सडक पनि पुग्यो, तर जहाज आए जरुरी काम हुँदा सहर जान पाइन्थ्यो।’ सुनथराली विमानस्थल कालिकोटवासीको सडकभन्दा पनि पुरानो सपना भएको उनको भनाइ छ ।
निर्माण सुरु भएको ३ दशकपछि ०७३ माघ २९ गते सुनथराली विमानस्थलमा तारा एयरले परीक्षण उडान गरे पनि नियमित उडान हुन सकेको छैन्। विमानस्थल कालोपत्र सकिएर अब प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना छ । विमानस्थलको टर्मिनल टावर, सुरक्षा भवन, शौचालय, पार्किङलगायत संरचना निर्माण भइसकेका छन्। खानेपानी, बिजुली, धावनमार्गको सुधारलगायत काम भइरहेको छ। फागुनबाट विमानस्थलमा विमान अवतरण गर्न सकिने भएको छ।
विमानस्थल कालोपत्रको ठेक्का पाएको गौरी-पार्वती श्याम एन्ड शंकर जेभीले सम्झौता अनुसारको काम सकेर हस्तान्तरणको तयारीमा लागेको छ। कम्पनीले विमानस्थल कालोपत्रका लागि १३ करोड ८६ लाख रुपैयाँमा सम्झौता गरेको थियो । विमानस्थल सुधारमा १५ करोड १४ लाख रकम लागेको विमानस्थल कार्यालयले जनाएको छ । ६ सय ४० मिटर लम्बाइ रहेको विमानस्थल मोडिने ठाउँमा ३० मिटर र अन्यत्र २० मिटर कालोपत्र भएको छ। कोटबाडा विमानस्थल कर्णालीका मुगु, डोल्पा र हुम्लाको भन्दा लामो र फराकिलो रहेको हवाई प्राधिकरणको दाबी छ।
विमानस्थलको लम्बाइ ६ सय ९० मिटर र चौडाइ ४० देखि ६० मिटर छ । दुवैतिरबाट विमान अवतरण र उडान गर्न सकिने कोटवाडा विमानस्थल नरहरिनाथ, रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, पलाता, खाँडाचक्रसहितका स्थानीय तह र अछामको रामारोसनका समेत बासिन्दाका लागि आवतजावतमा सहज हुने स्थानीय बसन्त विष्टले बताए। ‘चिलगाडी’ चढ्ने नरहरिनाथका बासिन्दाको वर्षौं पुरानो सपना भएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टको भनाइ छ। ‘विमानस्थल निर्माण सकियो, अब नियमित उडानका लागि पहल गर्नुपर्ने अवस्था छ। उनले भने, ‘अब अछामको रामारोसन, त्रिवेणी पाटन र बडिमालिका जाने पर्यटकका लागि सहज हुनेछ ।’ सडक गाउँमा पुगे पनि बिरामी पर्दा र सुत्केरी हुन नसक्दा जहाजको उपयोग हुने उनी बताउछँन्।
सुनथराली विमानस्थल खन्न लागेको ३१ वर्षपछि २०७३ सालमा जहाज आए पनि जहाज पढ्ने धोको अझै पूरा नभएको नरहरिनाथ–१ का वडाध्यक्ष पुर्थी विष्टको गुनासो छ। २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायत सभापति दीपबहादुर शाहीको पालामा विमानस्थल खन्न ७५ हजार रुपैयाँ बजेटबाट काम सुरु गरिएको थियो । विष्टले पनि विमानस्थलको काम सुरु हुँदा प्रतिदिन ५ रुपैयाँ ज्यालामा काम गरेका थिए । अहिले मजदुरले दैनिक ८ सय रुपैयाँ ज्याला बुझिरहेका छन्। सशस्त्र द्वन्द्वका बेला २०५८ फागुन ११ गते अछामको मंगलसेन आक्रमणका दोषी खोज्दै आएको नेपाली सेनाले धादिङको जोगिमारा, काभ्रे, सिन्धुली र रामेछापका २८ र ७ स्थानीय गरी ३६ जनालाई लाइन लगाएर हत्या गरेको स्थानीयको भनाई छ। सुनथराली विमानस्थल निर्माण गर्ने ३६ जना मजदुरको सुनथराली विमानस्थलमा चिहान छ। विमानस्थल निर्माणको काम शान्ति स्थापनापछि पुनः कछुवाको गतिमा सुरु भएको थियो । कर्णाली राजमार्ग निर्माणसँगै सदरमुकाम मान्मबाट कोटवाडा जान अहिले गाडीमा ३ घण्टा लाग्छ। पैदल जानलाई ६ घण्टाको दुरीमा रहेको छ।
अहिले प्रत्येक दिन स्थानीय महिलाहरु विमानस्थलमा आएर हवाईजहाजको प्रखाईमा बितेका दिनहरुको बारेमा क्रा गर्ने गर्छन्। उनीहरु एक आपसमा अव त चिलगाडि देख्न पाइने भयो भन्दै दिन गन्ने गरेको स्थानीय महिलाहरुको भनाई छ। अहिले यहाँ बालवालिकाहरु जम्मा भएर दौड प्रतियोगीता गर्ने गरेका छन । यही चैत्र १८ र १९ गते पकत्रार महासंघ कर्णाली प्रदेशको साधारण सभा सम्पन्न हुदै छ। साधारण सभाकाे लागि पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टको नेतित्वमा अनुगमन गरिएको छ। विमानस्थलमा हवाईजहाज नियमित बनाउन, सडक, खानेपानी, विद्युतको पहुचमा नरहरीनाथ गाउँपालिकालाई पुगाई पर्यटन प्रबद्धनगर्न यहाँ साधारण सभाराखिएको पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टले बताए।
पत्रकार महासंघ कणाली प्रदेसले विमानस्थलमौ साधारण सभाको तयारी थालेपछि प्रदेस सांसद हिक्मत बिष्टले बैशाख १ गते परिक्षण उडान गर्ने बताएका छन्। उनले ३८ वर्षपछि निर्माण पुरा भएको विमानस्थलमा अव चिलगाडि बसाल्ने तयारी गरेको बताएका छन्।
karnalipress
२ चैत्र २०७९, बिहीबार १५:३९