हुम्ला कहिले मोटर पुग्ला…….

ललित विष्ट जेष्ठ १४,कालिकोट ।

रेलको बाटो पुग्दै छ रे, तिमी बस्ने सहरैमा

हुम्ला कहिले मोटर आउला ? बस्याको छु रहरैमा …

सुरज पण्डितको स्वर सङ्गीतमा रहेको यो गीत कुनै समय निकै चर्चामा रह्यो।

चर्चा नहोस् पनि किन, विकट कर्णालीको दुर्गम हुम्लाको व्यथा सर्लक्कै टिपेको छ, यो गीतले।

२०७७ सालसम्म निकै चर्चामा रहेको यो गीत नसुन्ने कमै होलान्। अहिले पनि स्थानीय नागरिक हुम्लामा कहिले मोटर आउला भनेर एकापसमा प्रश्न गरिरहेका छन्।

भौगोलिक विकटता र चट्टानयुक्त भूगोलका कारण हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन कम्तिमा अझै १ वर्ष लाग्ने भएको छ।

कालिकोटको खुलालुबाट सुरु भएर हुम्ला सदरमुकाम सिमकोट हुँदै हिल्सासम्मको २ सय ६८ किलोमिटर दूरीको कर्णाली कोरिडोरमध्ये सर्केगाड गाउँपालिका–३ को लेप्च्यादेखि छारे–खार्पुनाथ गाउँपालिका–१ को लालीबगरसम्मको ११ किलोमिटर कडा चट्टान कोतर्न नेपाली सेनाले अथक प्रयास गरेको छ। यो प्रयास अझै सार्थक नहुँदा ७७ जिल्लामध्ये सडक सञ्जालमा जोडिन नसकेको जिल्लामा पर्छ, हुम्ला।

चट्टानयुक्त भिरमा ट्र्याक खोल्ने काम अझै बाँकी रहेको नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी अनुप पोखरेलले बताए। आयोजनाले कोरिडोरको ट्र्याक खोल्न साढे चार किलोमिटर बाँकी रहेको बताएको छ।

भौगोलिक विकटता र चट्टानयुक्त भूगोलका कारण हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन कम्तिमा अझै १ वर्ष लाग्ने भएको छ।

कडा चट्टान छिचोल्ने जिम्मा पाएको नेपाली सेनाले पनि लेप्च्या-लालीबगरको कडा चट्टान छिचोल्न २०८० सालको असार मसान्तअघि नसकिने जनाएको छ। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा कार्णाली करिडोरलाई अघि सारेको छ। अहिलेकै गतिमा काम हुन सक्यो भने अबको एक वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा हुम्लाको सिमकोट पनि जोडिने नेपाली सेनाको कर्णाली कोरिडोर सडक निर्माण कार्यदलले जनाएको छ।

‘हामीलाई जिम्मा दिइएको लेप्च्या-छारेको भिर छिचोल्न ढिलोमा २०८० असार मसान्तसम्म कुर्नुपर्ने देखिन्छ।’ इन्जिनियरसमेत रहेका मेजर पोखरेलले भने, ‘बाँकी खण्डको जिम्मा लिँदा चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा खोल्नुपर्ने ट्र्याकको कार्य योजनाभन्दा केही छरितो हुने अनुमानका साथ यो काम अघि बढाइएको हो। अब बर्सात पनि सुरु भएको छ।’

करिडोरमा नेपाली सेनाले तयार पारेको करिडोरको तस्विर \ललित विष्ट

समूहमा काम सुरु

कर्णाली कोरिडोरको ट्र्याक खोल्न बाँकी ल्याप्चे–छारे खण्डको करिब ५ किलोमिटर भिर फुटाउन नेपाली सेनाले १७ वटा कामदार समूह परिचालन गरेको छ। काम सुरु भएको लामो समयसम्म हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारी लक्ष्य पूरा नभएपछि निर्माणको जिम्मा पाएको नेपाली सेनाले काम पूरा गर्न बाजुरा, मुगु, कालीकोट र हुम्लाका गरेर १७ वटा समूह परिचालन गरेको कर्णाली कोरिडोर सडक आयोजना कार्यदल सुनाखाडाले जनाएको छ।

ट्र्याक खोल्न बाँकी छारे पुलदेखि ल्याप्चेसम्म कालीकोटका २, बाजुराका ३, मुगुका ४ र हुम्लाका ८ वटा गरेर १७ वटा समूह परिचालन गरिएको कोरिडोर निर्माण कार्यदल सुनाखाडाका प्रमुख सेनानी अनुप पोखरेलले बताए।

कर्णाली कोरिडोरको ट्र्याक खोल्न बाँकी ल्याप्चे–छारे खण्डको करिब ५ किलोमिटर भिर फुटाउन नेपाली सेनाले १७ वटा कामदार समूह परिचालन गरेको छ।

‘हामी कामदारलाई विभिन्न समूहमा बाँडेर निश्चित खण्डको जिम्मा सेनाले दिएको छ’, छारे पुलभन्दा पारिपट्टीको कडा चट्टान छिचोल्ने जिम्मा लिएका अदानचुली गाउँपालिका–१ कल्खेका कमले थापाले भने, ‘मंसिर यताको काम हेर्ने हो भने निकै रफ्तारमा अघि बढेको छ।’

हरेक समूहले जिम्मा लिएको खण्डको काम बिहान, बेलुका र दिउँसो जतिखेर पनि गर्ने गरेको बताउँदै थापाले आफूले विष्फोटका लागि होल तयार पार्नेबित्तिकै नेपाली सेनाले ढिलो नगरी विस्फोट गरिरहेका कारण मंसिर यता सडक निर्माणको कामले गति लिएको दाबी गरे।

स्थानीय नागरिकले भने कर्णाली कोरिडोरमा यसअघि भेटिएका चट्टानमध्येको निकै कडा चट्टान छारे-लालीबगर खण्डमा भएकाले पूर्णरूपमा ट्र्याक खन्ने काम सम्पन्न गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने अनुमान गरिरहेका छन्।

करिडोरको हुम्ला खण्ड तस्विर \ ललित विष्ट 

ढिलाइको कारण

कोरिडोरअन्तर्गत हिल्सा सिमकोट आयोजनाले सडकको लागत एस्टिमेटभन्दा कममा ठेक्का स्वीकृत गर्ने र निर्माण व्यवसायीले घटाघटका आधार ठेक्का लिनाले पनि हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य निकै पर धकेलिँदै गएको हो।

कोरिडोरको हिल्सा–सिमकोट–सलिसल्ला खण्डको १४५ किलोमिटरमा निर्माण व्यवसायीलाई दिएका अधिकांश ठेक्का कार्यालय (हिल्सा–सिमकोट सडक आयोजना) को लागत इस्टमेटभन्दा निकै कममा दिइएको छ।

उक्त खण्डमा अहिले सञ्चालनमा रहेका १६ वटा ठेक्का र ५ वटा पुलमध्ये अधिकांश ५० प्रतिशतभन्दा कममा ठेक्का सम्झौता भएका कारण समयमा ट्र्याक खुल्न र पुल निर्माण हुन नसकेको देखिन्छ।

बौद्ध ६ काठमाडौंको एडी विल्डर्सले २०७३ मंसिर २४ गते साढे १० किलोमिटरको तुमकोट–इलुङ खण्ड ५५ प्रतिशत कम अर्थात् ३ करोड ५८ लाख ७९ हजार ५८५ रूपैयाँमा २०७५ कात्तिक ३० गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी आयोजनासँग सम्झौता गर्‍यो। भौगोलिक विकटता, कोरोना महामारी लगायतका अनेक बहाना बनाउँदै म्याद थप गरेको उक्त खण्डको काम अहिले पनि ७६ प्रतिशतभन्दा बढेको छैन।

कोरिडोरअन्तर्गत हिल्सा सिमकोट आयोजनाले सडकको लागत एस्टिमेटभन्दा कममा ठेक्का स्वीकृत गर्ने र निर्माण व्यवसायीले घटाघटका आधार ठेक्का लिनाले पनि हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य निकै पर धकेलिँदै गएको हो।

२०७७ वैशाख २० गते निर्माण सम्पन्न गर्ने गरी क्याराभान कंग्री जेभी काठमाडौंले २९ करोड ९४ लाख ३३ हजार ७९ रूपैयाँमा एस्टिमेट भएको १५ किलोमिटर दूरीको खार्पुनाथ छोरे खण्ड ३५ प्रतिशत लागतमा घटेर २०७४ वैशाख २१ गते १९ करोड ४५ लाख १९ हजार ६६ रूपैयाँ ३४ अर्थात् ६४ दशमलव ९६ प्रतिशतमा ट्र्याक खोल्ने जिम्मा लियो। कार्य सम्पन्न गर्ने समय सकिएको २ वर्ष बितिसक्यो तर उक्त खण्डको काम अझै पूरा हुन सकेको छैन।

सडक विभाग, हिल्सा सिमकोट आयोजनाले तयार पारेको ट्र्याक खोल्न लाग्ने लागतभन्दा निकै कममा निर्माण व्यवसायी कम्पनी (ठेकदार) ले जिम्मा लिने गरेका कारण पनि कोरिडोरको ट्र्याक खोल्ने काम नसकिएको निर्माण व्यवसायीहरूले नै बताउने गरेका छन्। हिल्सा सिमकोट हुँदै सलिसल्ला खण्डमा म्याद कायम रहेका १६ वटा ठेक्कामध्ये कुनैले पनि समयमा काम सम्पन्न गरेका छैनन्।

कर्णाली कोरिडोरमा अहिले सञ्चालनमा रहेका ठेक्कामा खुलालदेखि सलिसल्लाको बाटो चौडा गर्ने कामका लागि चारवटा खण्डमा सम्झौता गरेको राधाकृष्ण एण्ड बर्दस कन्सट्रक्सनले सबैभन्दा कम कुल लागतको ३४ देखि ४८ प्रतिशतमा मात्रै निर्माण सम्झौता गरेको छ।

गएको असार ३० गते निर्माण सम्पन्न गर्ने गरी २०७८ पुस २९ गते जिम्मा लिएको उक्त कम्पनीले अहिलेसम्म १० नम्बर ठेक्कामा ४८ र ११ मा ४५ प्रतिशत प्रगति गरेको भए पनि ठेक्का नम्बर १२ र १३ मा प्रगति शून्य भएको हिल्सा सिमकोट सडक आयोजना कार्यालय सिमकोटले जनाएको छ।

कार्यालयका अनुसार गजुरमुखी शिवशक्ति जेभी, नीलगिरी श्रेय शान्तिदेवी, आजीवन शाही चाँदनी जेभीको ठेक्का सम्झौताको अवधि सकिए पनि जिम्मा लिएको काम १० प्रतिशतभन्दा बढेको छैन। उनीहरूले पनि एस्टिमेट गरेको रकममा घटेर ४६ देखि ५९ प्रतिशत रकमले ठेक्का सम्झौता गरेका छन्। कोरिडोरमा अहिलेकै जसरी निर्माण व्यवसायीले काम गर्ने हो भने अबको दुई वर्षमा पनि खुलालुदेखि हिल्सासम्म गाडी चढेर जान मुस्किल हुने एडी विल्डर्सका प्रोप्राइटर तेजबहादुर महतले स्वीकार गरे।

सडक विभाग, हिल्सा सिमकोट आयोजनाले तयार पारेको ट्र्याक खोल्न लाग्ने लागतभन्दा निकै कममा निर्माण व्यवसायी कम्पनी (ठेकदार) ले जिम्मा लिने गरेका कारण पनि कोरिडोरको ट्र्याक खोल्ने काम नसकिएको निर्माण व्यवसायीहरूले नै बताउने गरेका छन्।

कोरिडोर निर्माण कार्य ढिला हुनुमा निर्माण व्यवसायीदेखि स्वयम् सडक आयोजनासँग सम्बन्धित कार्यालय र जिम्मेवार निकायका प्रतिनिधिको कमजोरी रहेको बताएका महतले सरकारका जिम्मेवार निकायले आँखा नचिम्लने हो भने निर्धारित समयमा काम गर्न कुनै समस्या नहुने बताए। ‘आयोजनाका जिम्मेवार व्यक्तिबाट लागत एस्टिमेट तयार हुन्छ’, उनले थपे, ‘तिनै अधिकारी ठेक्का दिँदा घटिघटाउ ठेक्का खोलेर जसले कममा निर्माण गर्छु भन्छन्, त्यसैलाई जिम्मा दिने प्रणाली जबसम्म अन्त्य हुँदैन तबसम्म कोरिडोरको काम सोचेअनुरूप अघि बढ्न सकिँदैन।’

२० जिप सञ्चालनमा

राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमकोटमा हेलिकप्टरबाट ढुवानी गरेका २० वटा बलेरो जिप सञ्चालनमा ल्याइएका छन्।

सदरमुकाम सिमकोटदेखि ट्र्याक जोडिएका आसपासका क्षेत्रहरूमा बिरामी, यात्रु ओसार्न र सामग्री ढुवानी गर्न व्यक्तिगत रूपमा सुर्खेतदेखि हेलिकप्टरबाट ढुवानी गरेर ल्याएका २० वटा जिप सञ्चालनमा ल्याइएका छन्।

राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमकोटमा हेलिकप्टरबाट ढुवानी गरेका २० वटा बलेरो जिप सञ्चालनमा ल्याइएका छन्।

तत्कालीन जिल्ला विकास समिति मातहत सञ्चालन भएको ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम (ड्रिल्पी) आयोजनाले २०६९ देखि ०७४ सालसम्म निर्माण गरेको सिमकोट–खार्पुनाथ खण्डमा गाडी चल्ने भएपछि हेलिकप्टरबाट ढुवानी गरेर जिप सञ्चालन गर्न थालिएको हो।

अहिले सिमकोटमा भएका जिपहरू उत्तरतिर नाम्खातर्फ ३५ किलोमिटरको याल्वाङ, १३ किलोमिटरको हेप्का, लेकधिगा, सिमकोट गाउँपालिकाको १२ किलोमिटरको खार्पुनाथ दोभान र ९ किलोमिटरको ठेहसम्म सञ्चालन हुँदै आएका छन्।