जीर्ण कर्णाली राजमार्गमा यात्रुलाई सधैं सास्ती

ललित विष्ट असार २३, कालिकोट ।

बाँकेको कोहलपुरदेखि मुगु सदरमुकाम गमगढीसम्मको सडक साढे तीन सय किलोमिटर छ। सामान्य अवस्थामा सवारीसाधनबाट यो दुरी पार गर्न एक दिन पर्याप्त हुन्छ। तर सुर्खेतदेखि जुम्ला जोड्ने कर्णाली राजमार्गको कथा भने बेग्लै छ। कर्णाली राजमार्ग पार गर्न तीनदेखि सात दिनसम्म लाग्छ।

सन्तोष घर्तीमगरले एक दशकदेखि कर्णाली राजमार्गमा सवारीसाधन चलाउँदै आएका छन्। शुक्रबार ना.६.ख. ८५६५ नम्बरको यात्रुबस चलाएर कोहलपुरबाट हिँडेका उनी शनिबार साढे एक बजेतिर कालिकोट सदरमुकाम मान्म आइपुगे। उनले डेढ दिन लगाएर २०९ किलोमिटर दूरी पार गरे। मान्मबाट मुगुको गमगढी पुग्नलाई अझै १४४ किलोमिटर दुरी पार गर्नुपर्छ।

‘यो नाम मात्रैको राजमार्ग हो। साँघुरो र खाल्डाखुल्डी भएका कारण कर्णाली राजमार्गको यात्रा सधैं सास्तीपूर्ण हुन्छ’, बसचालक घर्तीमगरले भने, ‘बर्खामा त झन् सास्ती हुन्छ।’ उनका अनुसार सडक राम्रो भइदिए कोहलपुरदेखि गमगढीसम्म एकै दिनमा पुग्न सकिन्छ। तर अहिले बर्खाको समय भएकाले कर्णाली राजमार्ग र नाग्म–गमगढी सडकको अवस्था जीर्ण छ। त्यसमाथि ठाउँठाउँमा पहिरोको अवरोधले गन्तव्यमा पुग्ने समय निश्चित हुँदैन्। ‘अघिल्लो पटक गमगढीदेखि सुर्खेत पुग्न पाँच दिन लाग्यो, नाग्म–गमगढी सडकमा हिलोका कारण ट्रक फसेपछि दुईदिन एकै ठाउँमा बस्नुपर्‍यो’, उनले भने, ‘अहिले फर्कंदा मान्म पुग्न दुई दिन लागिसक्यो, गमगढी पुग्न अझै कति दिन लाग्ने हो थाहा छैन।’

बाँकेको कोहलपुरदेखि मुगु सदरमुकाम गमगढीसम्मको सडक साढे तीन सय किलोमिटर छ। सामान्य अवस्थामा सवारीसाधनबाट यो दुरी पार गर्न एक दिन पर्याप्त हुन्छ।

यसपटक उनलाई कालिकोटको सुनार खोलामा धेरै समय लाग्यो। साँघुरो सडकका कारण शुक्रबार बिहान जुम्लाबाट सुर्खेत जाँदै गरेको ट्रक र सुर्खेतबाट जुम्ला जाँदै गरेको बस पास हुन नसक्दा तीन घण्टा रोकिनुपर्‍यो। ‘तीन घण्टा लगाएर बल्ल सडक खुल्यो’, बसका मुगुका धनराज कार्कीले भने, ‘साँघुरो सडकका कारण सधैं यात्रामा सास्ती हुन्छ।’

कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्ड सबैभन्दा बढी जोखिमयुक्त छ। भिरालो, खाल्डाखुल्डी र ठाउँठाउँमा पहिरोका कारण कालिकोट खण्ड धेरै जोखिमपूर्ण छ। कर्णाली राजमार्गको ट्र्याक खुलेको १७ वर्ष भयो।

२०६३ साल चैत ३० गते सञ्चालनमा आएको यो राजमार्गलाई धेरैले ‘मृत्यु मार्ग’ पनि भन्छन्। ‘यतिका वर्ष हुँदा पनि सडक सुधारमा कसैले चासो देखाएनन्’, जुम्लाका भक्त रावतले भने, ‘नेताहरू चुनावका बेला यही राजमार्ग सुधार गर्छौ भनेर भाषण गर्छन्, जितेर गएपछि बिर्सन्छन्।’ कर्णालीको सन्दर्भमा सबै दलले चुनावी घोषणापत्रमा कर्णाली राजमार्गको स्नरोन्नतिलाई पहिलो प्राथमिकतामा राखेका हुन्छन्।

विश्व बैंकको सहयोगमा सडक विभागअन्तर्गतको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टले दुई चरणमा कर्णाली राजमार्ग ओटासिल प्रविधिबाट कालोपत्रे गरेको थियो। पहिलो चरणमा सुर्खेतदेखि दैलेखको खिड्कीज्युलासम्मको १२६ किलोमिटर सिंगल लेन र दोस्रो चरणमा खिड्कीज्युलादेखि जुम्लासम्म १०७ किलोमिटर ओटासिल गरिएको थियो।

९० प्रतिशत सडकको कालोपत्रे उप्किएको छ। दुई चरणमा गरी झण्डै तीन अर्ब रूपैयाँ खर्चिएर गरिएको कालोपत्रे अहिले देखिँदैन्। कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष जोडेको छ। यही राजमार्ग भएर सुदूरपश्चिमको अछाम र बाजुरा पनि जोडिन्छ।

कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्ड सबैभन्दा बढी जोखिमयुक्त छ। भिरालो, खाल्डाखुल्डी र ठाउँठाउँमा पहिरोका कारण कालिकोट खण्ड धेरै जोखिमपूर्ण छ। कर्णाली राजमार्गको ट्र्याक खुलेको १७ वर्ष भयो।

कर्णालीको समृद्धि भनिएको कर्णाली राजमार्गको स्तरोन्नतिमा सरकारले ध्यान नदिएको गुनासो जनताको छ। ‘सडकले सुविधाभन्दा सास्ती धेरै दिएको छ,’ जुम्लाका नवराज नेपालीले भने, ‘सडकको स्तरोन्नतिमा सरकारको ध्यान कहिले जाला?’ जीर्ण सडकका कारण अहिले १० किलोमिटर पार गर्न एक घण्टासम्म समय लाग्छ।

गएको दसैंताका कर्णालीमा ठुलो वर्षा भयो। एक सय जनाभन्दा बढीले ज्यान गुमाए, कालीकोट सडक खण्डमा पर्ने सुनार खोला, पिली, सेराबाडा, बाली, टाकुल्लालगायतका ठाउँमा ठूलो क्षति भयो। त्यो बेला भत्किएका सडक अहिलेसम्म मर्मत नहुँदा पनि यात्रुले सास्ती बेहोर्नुपरेको छ। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपक विष्टले गत असोजमा आएको बाढीले सडकमा पुर्‍याएको क्षति भर्ने काम भइरहेको बताए। ‘अप्ठेरो ठाउँमा मर्मत सुधार भइरहेको छ’, उनले भने, ‘बर्खा लागेर अहिले फेरि सडकमा पहिरो झर्न थालेपछि समस्या भएको छ।’

गएको दसैंताका कर्णालीमा ठुलो वर्षा भयो। एक सय जनाभन्दा बढीले ज्यान गुमाए, कालीकोट सडक खण्डमा पर्ने सुनार खोला, पिली, सेराबाडा, बाली, टाकुल्लालगायतका ठाउँमा ठूलो क्षति भयो।

सुर्खेतदेखि जुम्ला पुग्न अहिले दुईदेखि तीन दिन लाग्छ। सडकको अवस्था सद्दे हुँदाँ गाडीमा यो दुरी आठदेखि १० घण्टामा पार गर्न सकिन्छ। ‘साँघुरा सडकमा ठाउँठाउँमा पहिरो गएकाले अहिले जुम्लादेखि सुर्खेत पुग्न दुई–तीन दिन लाग्छ’ जुम्लाका नमराज धितालले भने, ‘पहिले हिँडेरै तीन दिन लाग्थ्यो, आजभोलि गाडीमा पनि त्यति नै समय लाग्छ।’

नाग्मदेखि गमगढीसम्मको ९४ किलोमिटर सडकको अवस्था झन् जोखिमपूर्ण छ। असारदेखि भदौसम्म यो खण्डमा जोखिम मोलेर गाडी चलाउनुपर्छ। नाग्म–गमगढी खण्डको कोइरेली, बड्की, विष्टवाडा, रोकायवाडा, गोठीज्यूलालगायतका ठाउँमा प्रायः पहिरो झरिरहन्छ। ‘सामान्य वर्षाले पनि कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक खण्ड अवरुद्ध गर्छ,’ चालक घर्तीमगरले भने, ‘कहिले कर्णालीको सडक अवस्था सुध्रेर सहज तरिकाले गाडी गुडाउन पाइएला।’

२०६३ साल चैत ३० गते सञ्चालनमा आएको यो राजमार्गलाई धेरैले ‘मृत्यु मार्ग’ पनि भन्छन्। ‘यतिका वर्ष हुँदा पनि सडक सुधारमा कसैले चासो देखाएनन्’, जुम्लाका भक्त रावतले भने, ‘नेताहरू चुनावका बेला यही राजमार्ग सुधार गर्छौं भनेर भाषण गर्छन्, जितेर गएपछि बिर्सन्छन्।’

कर्णाली राजमार्गका विभिन्न स्थानमा सडक कामदार राखिएका छन्। ‘सामान्य मर्मतबाहेकका काम हामीले गर्न सक्दैनौं’, एक कामदारले भने। जीर्ण सडकसँगै अधुरा पुल पनि सहज यात्रामा बाधक बनेका छन्। अधुरा पुलहरू, बीचबीचमा आउने पहिरोले यात्रु घण्टौं जाममा बस्नुपर्छ। पहिरो डोजर लगाएर पन्छाए पनि पुल नहुँदा खोलामा आउने बाढीले यात्रु समस्यामा पर्ने गरेका छन्।

कर्णाली राजमार्गअन्तर्गतको दैलेखको खिड्कीज्यूलादेखि सेरीगाडसम्मको सडक सबैभन्दा साँघुरो छ। कालीकोट सदरमुकाम मान्मदेखि जुम्लाको सीमा नाग्मसम्म पनि कैयौं स्थानमा सडक साँघुरो छ।

‘सेफ्टी बार’ जीर्ण

कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्डका अधिकांश स्थानमा फलामे सेफ्टी बार भाँचिएका छन्। भीरको सडक किनारमा लगाइएका सेफ्टी बार केही ठाउँमा पहिरो र केही ठाउँमा खियाका कारण जीर्ण बनेका छन्। ‘साँघुरो र अप्ठेरो सडकमा सेफ्टी बारले पनि सुरक्षित महसुस गर्न सकिन्छ’, चालक नवीन केसीले भने, ‘कर्णाली राजमार्गमा लगाइएका सेफ्टी बार पहिरोले भाँचिएका छन्, खिया लागेर जीर्ण बनेका छन्।’ उनले डेढ दशकदेखि कर्णाली राजमार्गमा गाडी चलाउँदै आएका छन्।