नागरिकलाई सचेतना दिदै प्रहरी

पुस १० , कालिकोट ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुऔषधविरुद्ध जनचेतना मुलक लालटिन अभियान सुरु गरेको छ । लागुऔषधले व्यक्ति र समाजमा दीर्घकालीन रूपमा नकरात्मक असर पारेको भन्दै प्रहरी कार्यालयले देखि लालटिन अभियान सुरु गरेको हो ।

लागुऔषध दुव्र्यसन र अपराधलाई निरुत्साहित गर्न समाज र नागरिकमा सुरक्षित अनुभूति बनाउन अभियान सुरु गरिएको डिएसपी अर्जुन केसीले जानकारी दिए । उनले भने ‘नागरिकलाई सचेत बनाउन सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने हुन्छ । लागुऔषध दुर्व्यसन, अवैध रूपमा ओसारपसार र बेचबिखन नियन्त्रणका लागि यो अभियान सुरु गरीएको छ ।’

युवा पुस्ता लहलहैमा र विलासी जीवन जिउन आकस्मिक आर्थिक कमाइ गरी धनी बन्ने लालचमा लागुऔषधको सेवन, व्यापार र ओसारपोसार गर्दा युवा र समाज उत्पादनशील भन्दा लागु औषधको लतमा फस्दै गएको भन्दै नियन्त्रण गर्न अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी पोषण थापाले बताए ।

विशेष गरेर बढ्दो लागऔषध दुरुपयोग ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि प्रहरीले सचेताना फैलाउन अभियान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुऔषध नियन्त्रण गर्न जिल्लादेखि पालिकास्तरका प्रहरी युनीटले क्याम्पस, विद्यालय र समाजका नागरिकलाई सचेत गराउने भएको छ । शहरी क्षेत्र हुँदै लागुऔषध सेवन, ओसारपोसार र व्यापार दुर्गम गाउँसम्म यातायातको सुविधासँगै विस्तार हुँदै गएकाले समयमै नियन्त्रण गर्न यो अभियान आवश्यक रहेको कार्यक्रममा सहभागीहरुको भनाई थियो ।

कालिकोटमा लागुऔषधको अवैध ओसारपसारमा संलग्न हुनेहरुको गतिविधि पहिलेका दिन भन्दा झन बढ्दै गएकोले अभियान सुरु गरेको प्रहरीले जनाएको छ । यो वर्ष लागुऔषधका दुई वटा मुदा दर्ता भएका छन् । ¥यालीमा लागु औषधको क्षेत्रमा कामगर्दे आएका संघ संस्थाका प्रतिनिधि लगायत सर्वसाधरणको उपस्थिति थियो ।

क्यूआर कोड स्क्यानबाट उजुरी
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले क्यूआर कोड सार्वजनिक गरेका छन्। आइतबार मान्ममा उनले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको बताए ।

‘विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न सो कोड प्रयोग गरिएको हो’, प्रहरी प्रमुख केसीले भने, ‘यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए÷नभएको विवरण उजुरीकर्तालाई दिन्छौँ।’

उनले भने, ‘अब यहाँका नागरिकले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि घर वा बाटोघाटो, पाटीपौवा जहाँबाट पनि प्रविधिामार्फत उजुरी दिन सक्नेछन्। उनीहरुलाई कुनै गुनासा राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनुपर्ने छैन।’ उजुरीकर्ताको नाम भने प्रहरीले गोप्य राख्ने उनको भनाइ छ । यस्तै प्रहरीहरुको लागि दुईकार्यदिन अवधिको कार्यालय संचालन तथा मुचुल्का लेखन र मानअधिकार सम्बन्धी अनुशिक्षण तालिम सुरु गरेको छ ।
प्रहरी कर्मचारीलाई दक्षता तथा मानब अधिकारको अवस्था र मुचुल्का लेखनमा प्रहरीको भुमिकाबारे प्रशिक्षण गरिने प्रहरी कार्यालयले जनाएको छ ।