बास बिनाका नमुना घरहरु !

ललित विष्ट
माघ २, कालिकोट ।
रास्कोट नगरपालिका—७ पोखरीकोट पुग्नेलाई निलो जस्तापाताले सिँगारिएका एकनासका घरहरूले लोभ्याउँछ । आकर्षक देखिने पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमुना बस्ती हो । त्यहाँ पुगेर धेरैले तस्बिर खिच्ने र घुम्ने गर्छन् । बस्ती पुग्ने धेरैको एउटै प्रश्न हुन्छ, किन सुनसान ?

पहिरोले जमिन चिरिएर थातथलोमा बस्न अयोग्य भएपछि कर्णाली प्रदेश सरकारले पहिलो पटक एकीकृत नमुना बस्तीको अवधारणा ल्यायो । पहिरोले गाउँनै जोखिम बनाएर त्रिपालको साहारामा बस्न बाध्य यहाँका समुदायका लागि बस्ती स्थानान्तरण गरेर चिटिक्क परेको एकीकृत नमुना बस्ती बन्यो । तर यहाँ पहिरोपीडित बस्दैनन् । उनीहरू पुरानै चिरिएको जोखिमयुक्त थातथलोमा बसिरहेका छन । एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ।

पहिरोले पुर्णरुपमा घरमा क्षती ७३ परिवारका लागि आवास बनाइयो । चारवटा घर दलित समुदाय बाहेक अन्य समुदाय रहेका छन्। १६ घर मात्र नमुना बस्तीमा अहिले बस्ने गरेका छन्।

खेतीपाती बस्तुभाउ सबै उनीहरुको पुरानै थाक थलोमा छ । यो वस्तीमा बस्नको लागी विद्यालय छैन। खानेपानी र बत्ती पनी छैन ।’ अहिले समुदाय आफैले वस्तीसम्म पैसा उठाएर बाटो दिएका छौँ ।

खानेपानीको लागी एक संस्थाले डिपिआर बनाएको छ । एकीकृत बस्ती बन्ने भनेपछि खुबै हौसिएका उनी घर बनाउँदा ऋण लागेपछि निराश बनेका छन । जग्गा सम्याउने देखि भेल तर्काउन नालालगायतका एकीकृत बस्ती आकर्षण बनाउन बगैंचासहितका संरचना बनाउन लागि परेको पनी अहिले सम्म पुरा हुन नसकेको स्थानीयको भनाइ छ ।

उक्त बस्तीमा बनेका घर बेचबिखन गर्न नपाउने सर्तमा बस्ती स्थानान्तरण भएको हो । वस्ती बनेको ३ वर्ष बित्दासमेत बस्ती अझै आवश्यक पुर्वाधार खानेपाने,विद्यालय र बत्तीको व्यवस्था गर्न सकिरहेको छैन । जसका कारण स्थानीय बस्तीमा आउन नसकेको स्थानीय प्रकाश महताराले बताए ।

‘५ लाखमा घर बन्छ भने, तर सबैको घर ८ लाख रुपैयाँभन्दा कममा बनेन,’ उनले गुनासो गरे, ‘बस्तीका सबै ऋणमा डुबेका छन्, छानामात्रै छाएको घरमा कसरी बस्न सकिन्छ ?’ घर बनाउन घर निर्माणका लागी एक घरलाई सरकारले ४ लाखरुपैयाँ दिएको थियो ।

अपुग रकम स्थानीयले नै हालेका हुन । रास्कोट नगरपालिका वडा नम्बकर १, ३ र ७ का पहिरो पिडितहरु घर निर्माणको लागी प्रदेश सरकारले ५ करोड वजेट छुटाएको थियो ।

रास्कोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बमले भने एकीकृत बस्तीको काम सकिएलगैतै बस्ती बसाल्ने सोच गरेपनी सफल हुन नसकेको बताए । अधिकांश स्थानीयलाई थातथलो नै प्यारो लागेकाले बस्तीमा नआएको उनको भनाइ छ ।

‘हामीले बस्तीका सबै संरचना तयार पारिदिएका छौं,’ उनले भने, ‘रोजगारी र खेतीपातीकै लागि थातथलोमै बस्ने गर्दा बस्ती सुनसान जस्तै छ ।’ नमुना बस्तीमा सडक, विद्युत्, खानेपानी, बालउद्यान लगायतका पूर्वाधार बनेका छैनन्। नजिकै विद्यालय र स्वास्थ्य चौकीसमेत छैन । जसका कारण बस्तीमा मान्छे नबसेका हुन ।

बास्तविक पिडितले राहत नपाएर पावर र पहुचको आधारमा राहत पाएको स्थानियको गुनासो रहेको छ । २०७८ सालको बाढि पहिरोले रास्कोट नगरपालिकाका विभिन्न बस्तीहरु जोखिममा परेका छन् ।

आधारभूत सुविधा नहुदा बस्तीमा सास्ती
जिल्लाको नरहरिनाथ गाउँपालिका–४ स्थित सुन्दरखालमा नमुना बस्ती बने पनि त्यहाँ आधारभूत सुविधासमेत पुगेको छैन् । नमुना बस्ती बनेको तिन वर्ष बिते पनि खानेपानी,विद्यालय,विद्युुत् र बाटोलगायत आवश्यकताको अभाव भएको हो ।

नमुना बस्तीमा १३४ वटा घरपरिवारको बसोबास रहेको त्यहाँ आधारभूत आवश्यकता पूरा नभएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार विद्यालय बनेको छ । विद्यालयमा भवन नभएर जीर्ण अवस्था छ। खानेपानी, विद्युत्, बाटोसमेत बनेको छैन।

सुन्दरखाल नमुना बस्ती अछामको रामारोशन ताल पुग्नका पाँच किलोमिटर मात्र रहेको सडक पु¥याउन सकिएमा रारादेखि रोमारोशनसम्म पर्यटकीय मार्ग बन्ने र नमुना बस्तीलाई होम–स्टे (घरवास)का रूपमा प्रयोग गर्न सकिने स्थानीयको भनाई छ ।

नमुना बस्तीमा पुग्नका लागि राम्रो गोरेटो बाटो पनि नभएको स्थानीय रत्नबहादुर सहकारीले बताए । नमुना बस्तीमा २४० घर बन्नुपर्नेमा अझै ९७ घर बन्न बाँकी रहेको वडाध्यक्ष नन्दराम सहकारीले बताए ।

सुन्दरखाल नमुना बस्तीको आवश्यक्ता नभएको गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर विष्टले बताए । उनले भने त्यो बस्तीमा चोरी सिकारी गर्नेहरुमा बसेका छन्। गाउँपालिकाले त्याँ बस्ने नागरिकका छोराछोरी अहिले राम्रो देशमा गएको बताए । उनले सुन्दरखाल नमुना बस्ती अछामको रामारोशन क्षेत्रमा परेकाले पछि उक्त ठाउँमालाई निकुन्जले कब्जा गर्न सक्ने बताए ।

प्रदेश सरकारको सहयोगमा रास्कोट नगरपालिकामा पहिरो पिडितको लागी बनाएको एकिकृत नमुना बस्ती । तस्विर ललित विष्ट कालिकोट ।।