लथालिङग अवस्थामा दुर्गमका स्कुल

ललित विष्ट
फागुन २८,कालिकोट । कर्णालीका विद्यालयको अवस्था दयनीय छ। झट्ट हेर्दा गोठजस्तो देखिने विद्यालयहरूका भुइँमा बसेर पढ्न बाध्य छन् यहाँका बालबालिका । दुर्गम ठाउँ बन्दै गरेको भवन कक्षाकोठा अभावमा रहेका शिक्षक र लथालिङग डेस्क बेन्च । यो पछिल्लो सयम कालिकोटका सामुदायिक विद्यालयको अवस्था हो ।

शिक्षा सुधारको लागी सरोकारवाला निकायले चासो नदिएपछि पछिल्लो समय पचालझरना गाउँपालिकाको सहिद स्मृति आवसिय मा.विको अवस्था दयनीय बन्दै गएको छ। विगत ६ महिनादेखि विद्यालय भवन निर्माणको कार्य सम्पन्न नहुदा बन्दै गरेको विद्यालयको कोठामा विद्यार्थीहरुले पढ्नुपर्ने बाध्यता रहेको छ। कक्षा कोठा नहुदा स–सना बालबालिकाहरुले आफ्नो झोला समेत राम्रो ठाउँमा राख्न सकेका छैनन् ।

अहिले यो विद्यालयमा विद्यार्थी संख्या १ सय ८३ जना रहेका छन्। कक्षा६ देखि १० सम्म पढाई हुने विद्यालयको भौतीक संरचनाको अवस्था दयनीय रहेको विद्यालयका प्र.अ शंकरप्रसाद संज्यालले बताए । उनका अनुसार विद्यालयको भवन निर्माणको लागी प्रदेश सरकारले सहिद स्मृति आवासिय मा.विको लागि २०७८÷७९मा ३७ लाख विनियोजन गरेको यस्तै,२०७९÷८० मा २५ लाख विद्यालयको भवनको लागि आएको बताए। जम्मा बजेटमा ४८ लाख रकम निकासा गरी विद्यालय व्यवास्थापन समितिका अध्यक्ष नरेन्द्र बहादुर शाहीले विद्यालयको भवन निर्माणको काम सुरु गरेको तर हाल सम्म सम्पन्न हुन नसकेको उनको भनाई छ।

विद्यालयको भवन निर्माणको जिम्मा लगेका विद्यालय ब्यवास्थापन समीतीका अध्यक्ष नरेश बहादुर शाहीले चासो नदिदा अहिले विद्यालयको भवन अलपत्र अवस्थामा छ। विद्यालयका नयाँ भवनको काम सम्पन्न गर्नको लागी आफुले धेरै पटक गाउँपालिकामा खबर गरेर एक प्रकारको रिर्पोट तयार गरेको प्रअको भनाई छ।
विद्यालयका व्यवास्थापन समिती अध्यक्ष शाहीको बेवास्थाले गर्दा अहिले विद्यालयको विद्यार्थी हरुको भविष्य मार्थि प्रश्न उठ्न थालेको छ। अहिले विद्यालय लथालिङ छ। भौगोलिक अवस्थामा समेट जटिल रहेको दुर्गम पचालझरना गाउँपालिका भित्रका धेरै विद्यालयकको अवस्था यस्तै रहेको स्थानीयको भनाई छ।

यो विद्यालयमात्र नभइ कालिकोटको पलाँता गाउँपालिका विद्यालयको अवस्था समेत यस्तै छ। विद्यालयमा शिक्षकको उपस्थती समेत भएको पाईदैन् अहिले पनी विद्यालयमा पढ्ने बालबालिकाहरु विद्यालयको बाहीर चौरमा पढ्ने गरेका छन्।
कर्णालीमा ९० प्रतिशत विद्यालयमा न्यूनतम सुविधा पनि छैन । विद्यार्थीले विकल्प नभएका कारण बाध्यताले ती विद्यालयमा पढ्नुपर्ने अवस्था छ।
बाढी,पहिरो,भूकम्प,हावा हुरी,कुनै पनि कुराले सुरक्षित नभएका भवन,एउटै बेन्चमा ४–५ जना ठेलमठेल गरी बस्नुपर्ने समस्या अनि कति विद्यार्थी त खुला चौरमै पढ्न विवश अधिकांश विद्यालयमा विषयगत शिक्षकको पनि व्यवस्था छैन। न सरसफाइ, न शौचालय, न खेलमैदान छ। यसैका कारण कर्णालीको समग्र शैक्षिक गुणस्तर वृद्धि हुन नसकेको जानकार हरुको बुझाइ छ।


नाजुकमा अवस्था शिक्षा
कर्णाली प्रदेशका धेरै विद्यालयहरूमा विद्यार्थी संख्या न्यून छ । विद्यालयमा भर्ना भएका विद्यार्थीहरूसमेत नटिक्ने समस्या छ । अर्थात् विद्यालय छाड्ने दर पनि धेरै छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कक्षा १ मा भर्ना भएका एक सय विद्यार्थीमा कक्षा ५ सम्म पुग्दा ८० जना मात्र हुन्छन्। हरेक तहमा २० प्रतिशतका दरले विद्यालय ‘ड्रपआउट’ भइरहेको छ ।
कर्णालीमा सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर न्यून हुनु,विद्यालयमा विद्यार्थी निरन्तरता नहुनु,पढ्दा पढ्दै विद्यालय छाड्नु र समग्र विद्यालय शिक्षामा देखिएका समस्याहरू धेरै छन्।
सामुदायिक शिक्षामा पर्याप्त जनशक्तिको पनि अभाव छ । प्राथमिक तहमा कर्णालीमा २ हजार ९ सय ३१ विद्यालयमा हुनुपर्ने दरबन्दी ८ हजार ७ सय ९३ हो। तर, ८ हजार १ सय ४९ मात्रै छ ।

आधा पढेर परीक्षा
कर्णालीको अर्को समस्या हो,आधा पढेर परीक्षा दिनुपर्ने बाध्यता । कर्णालीका कालीकोट,जुम्ला,मुगु,हुम्ला,डोप्लालगायतका जिल्लाहरूमा विभिन्न कारण वर्षमा आधा दिन पनि विद्यालय सञ्चालन हुँदैनन्। हिउँदमा जोडा त वर्षायाममा बाढी पहिरोका कारण पनि विद्यालयमा नियमित पढाइ हुँदैन्। अर्को समस्या विषय अनुसारका शिक्षक दरबन्दी पनि नहुँदा परिक्षा दिने बेलासम्म पनि प्रायः आधा पढाइ मात्र हुने समस्या छ । एसईई परीक्षा आउन केहीदिन मात्रै बाँकी छ ।

कर्णाली प्रदेशका सहरबजारमा खचाखच विद्यार्थी छन्। ट्युसन नपढी राम्रो नतिजा ल्याउन सम्भव नहुने भएकाले विद्यार्थीहरू सहर केन्द्रित छन्। सक्नेले सहरमै पढ्ने,नसक्नेले गाउँमा पढेर भए पनि सहरमा ट्युसन पढ्ने चलन छ । कर्णालीका दुर्गम जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा पाठ्यक्रम अनुसार पूरा पढाइ सकिँदैन। त्यसैले विद्यार्थी ट्युसनमा महँगो शुल्क तिर्न बाध्य छन्। एसईईमा राम्रो अंक ल्याएर आफूले चाहेको उच्च शिक्षा पढ्न ट्युसनकलाश अनिवार्य बनेको छ । गाउँका अधिकांश विद्यार्थीहरू तयारी कक्षाका लागि सहर छिर्ने गरेको कालिकोटका पंखबहादुर शाहीले बताए ।

विद्यालयमा शिक्षकहरु पनी पाइदैनन् । अहिले दुर्गम कर्णालीको शिक्षा सुधारमा स्थानीय सरकार पनी बेखवर देखिएको सामाजिक अभियान्ता प्रकास शहीले बताए ।शैक्षिक सुधारको लागी स्थानीय सरकारले शिक्षकहरुलाई सैदान्तीक तालीम,गोष्ठी समेत दिने गरेका छैनन्।