खै कहिले आउन्छ चिलगाडि ?

ललित विष्ट,
असार २१ ,कालीकोट । नरहरिनाथवासीले गाउँमाथिको विमानस्थलबाट आकाशमा हवाईजहाज चढेको सपना देख्न थालेको ३९ वर्ष भयो । लगभग ४० वर्षअघि ठूलो भूगोल,कठिन जनजीवन र छरिएको बस्ती भएकै कारण राज्यले एयरपोर्ट बनाउन अनुमति दियो । ३८ वर्षमा बन्यो पनि । तर, जहाज आएन । स्थानीय भन्छन्,(चिलगाडि) जहाजको आसमा उबेलाको कसिलो छाला चाउरी परिसक्यो । जहाज आउला भनेर बाटो हेर्दाहेर्दै कति कपाल फुलेर सेतै भइसक्यो । कति गाउँले जहाज नदेखि बितिसके । खै कहिले देख्न पाइएला ?  ’वर्षौ लगाएर विमानस्थल तयार भएपनी नियमित चल्न भने सकेको छैन्।

नरहरिनाथ गाउँपालिकाका भीमबहादुर विष्ट कोटवाडामा निर्माण भइरहेको सुनथराली विमानस्थलमा मजदुरका रुपमा काम गर्थे । विद्रोही नेकपा माओवादीले अछाम सदरमुकाम मंगलसेनमा आक्रमण गरेपछि तत्कालीन शाही नेपाली सेना उनीहरुलाई खोज्दै कोटबाडा आइपुग्यो । धादिङको जोगीमाराकासहित स्थानीय कामदारहरु निर्माणाधीन विमानस्थलको पहाड काटिरहेका थिए । सेनाले विमानस्थल निर्माणमा खटिएका उनीसहित ३६ जनाको २०५८ फागुन १२ गते एउटै चिहान बनायो । मारिनेमा विमानस्थल निर्माणमा मजदुरी गरिरहेका धादिङको जोगीमाराका १७ जना पनि थिए । सेना फर्केपछि स्थानीयले हत्या गरिएका सबैलाई अहिले कालोपत्रे गरिएको धावनमार्गभित्र शव गाडे ।

विमानस्थल निर्माणमा खटिएका मजदुर मारिएको लामो समयपछि २०७३ माघ २९ गते धुलाम्मे विमानस्थलमा तत्तकालीन पर्यटन मन्त्री जिवनबहादुर शाहीले आफै विमान लगेर कोटवाडा विमानस्थलमा पुगे । तर त्यो समयमा परिक्षर मात्र भएको थियो । लामो समयपछि २०७९ पुषमा विमानस्थलको काम सम्पन्न भयो । काम सम्पन्न भएको १ वर्ष पछि गत फागुन १४ गते विमानस्थलमा विमानस्थलको औपचारीक उद्घाटन समेत भयो । काम सुरु भएदेखि ३८ वर्ष सम्ममा विमानस्थल बन्यो,तर नियमित चल्न भने सकेको छैन्। फागुनमा उद्घाटन पछि निर्माण सुरु गरेका ४२ वर्षपछि नियमित हवाईजहाज आउने आसा स्थानीयमा थियो ।

उद्घाटन सत्रमा बोल्दै तत्कालीन मन्त्रीद्धय,उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले तत्कालका लागि हप्तामा एक दिन उडान भर्ने बताएका थिए । फागुन १४ गते सोमबार मन्त्रीद्धय सुनथराली विमान स्थलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै हप्तामा एक दिन अवश्य उडान भर्ने कार्यपालिका तत्काल बनाउने भने पनि आज सम्म फर्केर हवाईजहाज आएको छैन । नरहरीनाथ गाउँपालिका स्थानीय गणेश विष्टका अनुसार सुनथराली विमान स्थलमा बोलेको कुरा मन्त्रीद्धयले पुरा गर्न नसके गुनासो गरे । तर मन्त्रीहरूले विमान सुचारु भएमा यात्रुको चाप बढ्ने भन्दै सुरुमा हप्तामा एउटा र त्यसपछि बढाउने आश्वासन दिएका थिए ।

नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रवहादुर विष्टले सबै प्रक्रिया पुरा भए पनि नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएका कारणले रोकिएको बताए । अध्यक्ष विष्टले नेपालगन्ज कालिकोट,सुर्खेत कालिकोट र धनगढी कालिकोटको भाडा दर समेत कायम भएको तर प्राधिकरणले अनुमति नदिएका कारणले उडान हुन नसकेको बताए । प्राधिकरणले अनुमति दिएमा जुनसुकै कम्पनीका विमानले नेपालगन्ज कालिकोटका लागि प्रति व्यक्ति पाँच हजार ५ सय ५१ रुपियाँ तिर्नु पर्ने छ । सुर्खेतबाट आउने यात्रुले तीन हजार ९ सय १ रुपियाँ र धनगढीबाट कालिकोट आउने यात्रुले पाँच हजार २ सय ४९ रुपियाँ भाडा तिर्नु दररेटमा उल्लेख छ । तर हवाईजहाज नआउँदा भाडादारको के काम भन्दै स्थानीय आकोषित हुन थालेका छन् ।

यस्तै डोल्पामा हवाई यातायातको जुफाल विमानस्थलपछिको अर्को विकल्पको रुपमा रहेको मसिनेचौर विमानस्थल पनी सञ्चालनमा छैन् । स्तरोन्नतिका लागि जुफाल विमानस्थल अवरुद्ध हुँदा समेत डोल्पामा हवाई यातायातको अर्को विकल्पको रुपमा मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन पटकपटक पहल गर्दासमेत सम्बन्धित निकायले चासो नदिएको भन्दै उनीहरूले गुनासो गरेका छन्।

करोडौँ लगानी भएर निर्माण सम्पन्न भइसकेको मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन राज्यले बेवास्ता गरेपछि डोल्पालीले ठूलो क्षेत्रफलमा रहेको जमिन खाली राख्नुभन्दा बरु प्लटिङ गरेर अन्नबाली लगाउनुका साथै गौचरनको रुपमा परिणत गर्न पाउनुपर्ने माग गरेका हुन् । त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत पहाडमा पर्ने उक्त विमानस्थल निर्माणकार्य सम्पन्न भएर केही वर्ष अगाडि परीक्षण उडानसमेत सफल भएर एक वर्षसम्म डोल्पालीले नियमित हवाई सुविधा पाए पनि अहिले मसिनेचौर विमानस्थल ओझेलमा परेकोमा छ ।