वर्षाले बाटो भत्कियो, ढुवानीमा खच्चडकै भर

जाजरकोट– जाजरकोटमा वर्षायाममा सडक अवरुद्ध भएपछि खच्चडको सहारामा दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा महंगी बढेको स्थानीयको गुनासो छ।

हिउँदको समयमा गाडी चले पनि बर्षातमा भने बाटो अवरुद्ध हुँदा खच्चरको भर पर्नु परेको स्थानीय बताउँछन्। खच्चडमा ढुवानी गर्दा दैनिक उपभोग्य सामग्रीको मूल्य बढिरहेको व्यापारीहरूको भनाइ छ।

जुनिचाँदे गाउँपालिकाका विभिन्न ठाउँमा हरेक सामानको मूल्य २५ प्रतिशतभन्दा बढेको स्थानीय महेन्द्रबहादुर शाहीले बताए।

‘हाम्रोमा मात्र हो कि अन्यत्र पनि यस्तै हो ? हरेक सामग्रीमा २५ प्रतिशत मूल्य वृद्धि भएको छ। खोजेको वस्तु पाउनसमेत मुस्किल भएको छ,’ उनले भने।

वर्षातले कच्ची सडक ठाउँठाउँमा भत्किनुका साथै खहरे खोलामा पानीको मात्रा बढेका कारण सवारी साधन चल्न सकेका छैनन्। सडक अवरुद्ध हुँदा निर्माणका सामग्रीको अभावले निर्माणको काम पनि प्रभावित भएको छ।

जाजरकोट–जुम्ला सडक खण्डभित्रको खलङ्गा–पाँचकाटिया जोड्ने सडक भेरी नगरपालिका–२, गारा राङसीका ठाउँठाउँमा भत्किएपछि सञ्चालन गर्न मुस्किल भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए।

‘कति पटक सडक मर्मत गर्नु? हामीसँग एउटा मात्र डोजर छ। कहाँ लिएर मर्मत गर्नु हैरान भइसक्यो,’ उनले भने, ‘अब छिट्टै बैठक राखेर केही निर्णय गरेर अगाडि बढ्नुपर्ने जरुरी भइसकेको छ।’

त्यस्तै, नलगाड नगरपालिका–जुम्ला जोड्ने सडकको सक्लामा पहिरो आउँदा सडक अवरुद्ध भएको हप्ता दिन बिते पनि मर्मत नहुँदा यातायातका साधनहरू सञ्चालन गर्न मुस्किल भएको छ।

हाल बारेकोटमा खच्चडमार्फत दैनिक ढुवानीका काम हुँदै आएका छन्। नलगाड नदीको खारास्थित पुल निर्माणमा ढिलाइ गरिँदा आवागमनको लागि बनाइएको अस्थायी काठेपुल पनि नदीले बगाइदिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।

यातायात अवरुद्ध भएसँगै झोलुङ्गे पुलमा खच्चडहरू तारेर बारेकोटमा दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेको स्थानीय व्यापारी नीमबहादुर सिंहले बताए।

मुख्य सडकबाहेक अन्य पालिका जोड्ने अधिकांश सडकहरू अवरुद्ध भएकाले खच्चडकै भरमा ढुवानी भइरहेको छ। खच्चडमार्फत ढुवानी हुँदा मूल्य बढेको स्थानीयवासीको गुनासो छ।

खनिएका सडकहरूका माटो कमजोर हुँदा जताततै पहिरो आएको स्थानीय बताउँछन्। सडक जथाभावी खनिँदा कुशे गाउँपालिका–६ जरगाउँका १५ परिवार प्रभावित भएका छन्। उनीहरु पहिरोको डरले घर छोडेर खुला आकाशमुनी बस्न बाध्य भएको पीडित भीमबहादुर परियार बताउँछन्। घरभएको ठाउँ मुनीको क्षेत्रमा सडक खनिँदा जमीन भासिएपछि गाउँलेले घर छोडेको उनले बताए।

उता भेरी नगरपालिका–२ रिसाङ गाउँमा प्राविधिकले दिएको सल्लाह विपरीत फरक ठाउँबाट सडक निर्माण गरिँदा सात घर भत्किएका छन् भने १३ घर विस्थापित भएका छन्।

सो ठाउँमा सडक अवरुद्ध हुँदा खच्चडकै सहारामा दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेको छ। कुशे गाउँपालिकाको पाँचकाटीया बजारमा सडक अवरुद्ध भएसँगै दैनिक उपभोग्य सामग्रीको अभाव भएको स्थानीय व्यापारी युवराज ओली बताउँछन्।

‘जाजरकोट सदरमुकाममा समेत खोजेको सामग्री पाइँदैन। गाउँमा कसरी पुर्‍याउने?,’ उनले भने, ‘यातायात ठप्प छ। खच्चडमा अत्यधिक चर्को भाडा छ।’ स्थानीय बजारमा समेत दैनिक उपभोग्य सामग्री ढुवानी कार्य कठिन भएपछि गाउँमा खाद्यान्न अभाव देखिन थालेको छ। स्थानीय सरकारका प्रतिनिधिहरूले भत्किएको सडक तदारुकताकासाथ मर्मतसम्भार गरिने बताए। रासस