किर्डाक नेपालद्धारा अन्तराष्ट्रिय समुदायको ध्यानकर्षण

नौरते नेपाली, भाद्र ३१ जुम्ला। पर्वतिय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई किर्डाक नेपालले अन्तराष्ट्रिय समुदायको ध्यानकर्षण गराएको छ । बुधबारका दिन भर्चुअल विधिबाट राष्ट्रिय सम्मेलनको आयोजना गर्दै उक्त संस्थाले अन्तराष्ट्रिय समुदायको ध्यानकर्षण गराएको हो । जलवायु परिवर्तनको असर, पर्वतिय क्षेत्रमा पारेको प्रभाव, नेपालले भोगेको समस्या, तामक्रम वृद्धि, वर्षा हुने चक्रमा भएको फेरबदल, नेपालले आर्थिक तथा मानवीय क्षेत्रमा भोग्नु परेको संटक लगायतका विषयमा राष्ट्रिय सम्मेलनका क्रममा छलफल भएको छ ।

जलवायु परिवर्तनको असरले पर्वतिय क्षेत्रका समुदाय मारमा परेकाले यसको असरलाई कम गर्नको लागि नेपाललाई क्षतिपूर्ति सहित न्युनिकरणका क्षेत्रमा काम गर्न अन्तराष्ट्रिय समुदायलाई ध्यानकर्षण गराईएको किर्डाक नेपालका निर्देशक गोविन्दवहादुर शाहीले जानकारी गराउनु भयो ।

बेलायतमा आउदो अक्टोबर ३० देखि नोभेम्बर १२ सम्म संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्रको सम्मेलन हुने भएकाले उक्त सम्मेलनमा नेपालको भूमिका र सम्मेलनमा उठाइने मुद्दाका विषयमा छलफल भएको उहाँले बताउनु भयो । जलवायु परिवर्तनसँग सम्बन्धित ठानिएका एकपछि अर्को अप्रत्यासित विपद सामना गर्न वाध्य भएको नेपालले बेलायतमा हुन लागेको जलवायु सम्मेलनमा अनुकूलनले मात्र अब नधान्ने भएकाले गरिब मुलुकहरूलाई परेका हानि नोक्सानीबारे पनि छलफल हुनुपर्ने विषयमा सम्मेलनका अवसरमा छलफल भएको उहाँको भनाइ छ ।

जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिहरूसँग अब अनुकूलनले मात्र नथेग्ने स्तरका क्षतिहरू हुन थालेका र तिनको निराकरण गर्ने क्षमता र स्रोत आफूहरूसँग नभएको नेपाली अधिकारीहरूले बताएका छन् । नेपालका लागि बेलायति राजदुत निकोला पोलिटले जलवायु परिवर्तनले पारेको असरका बारेमा आफ्नो बिचार राख्नु भएको थियो ।

नेपाल जस्तो विकासन्मुख देशले जलवायु परिवर्तनका कारणले भोग्नु परेको समस्यालाई सम्मेलनका क्रममा जोडदार ढंगले उठाउन उहाँले आग्रह गर्नु भएको छ । पर्वतिय समुदायमा पारेको असर र क्षति न्युनिकरण गर्न संयुक्त राष्ट्रसंघ पक्ष देशहरुले नेपालमा लगानी गर्न आवश्यक रहेको पोलिटको भनाइ छ ।

जलवायु परिवर्तनले पारेको असरका बारेमा नेपाल सरकारलाई सल्लाह र सुझाव दिन राष्ट्रिय सम्मेलनको आयोजना गरिएको किर्डाक नेपालका पैरवि व्यवस्थापक गीता पाण्डेले बताउनु भयो । उहाँका अनुसार सम्मेलनमा खाद्य सुरक्षा र जलवायु परिवर्तन, पर्वतिय समुदायको जीविवकोपार्जन, पर्वतिय क्षेत्रको जैविधि विविधता र आर्थिक अवसरहरु तथा जलवायुजन्य विपद् र हानी नोक्सानीका बारेमा तयार पारिएको कार्यपत्र प्रस्तुत भएको बताउनु भयो ।

पर्वतिय क्षेत्रको दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्नको लागि अन्तराष्ट्रिय क्षेत्रमा जोडदार रुपमा आवाज उठाउनु पर्ने उहाँको भनाइ छ । हिमालको हिँउ पग्लिदै गएको भन्दै उहाँले मानवको भविष्य चुनौतिपूर्ण बन्दै गएको बताउनु भयो । पर्वतिय क्षेत्रका सवाल उजार गर्न र विदेशी सहयोगलाई नेपाल भित्र्याउनको लागि राष्ट्रिय सम्मेलनको आयोजना गरिएको उहाँले जानकारी गराउनु भयो ।

फोकस इन्टेरनेश्नलका महासचिव एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनवहादुर शाहीले हिमालय क्षेत्रका मुद्दा अन्तराष्ट्रिय जगतमा सुनाउन खोजिएको बताउनु भयो । उहाँका अनुसार जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभावका विषयमा अन्तराष्ट्रिय क्षेत्रको ध्यानकर्षण भएको बताउनु भयो ।

पर्वतिय क्षेत्रको विकास र विस्तारका लागि आवाज उठाउनु पर्ने बेला भएको शाहीको भनाइ छ । नेपालका विज्ञहरुको राय, सल्लाह र सुझाव अनुसार आगामी दिनमा कार्यक्रम र नीति निर्माण हुनु पर्ने शाहीले जानकारी गराउनु भयो । अन्तराष्ट्रिय समुदायसँग हिमालय क्षेत्रका सवालहरु उठाउनु पर्ने आवश्यकता रहेको भन्दै शाहीले किर्डाक नेपालले सगरमाथा संवाद कार्यक्रम गर्दै आएको जानकारी गराउनु भयो ।

जलवायु परिवर्तनको न्युनिकरण गर्न जंगल संरक्षणका सथै नेपाल जस्तो देशले आर्थिक सहायताको लागि सहयोगको आशा राख्नु पर्ने शाहीले बताउनु भयो । किर्डाक नेपाल, फोकस इन्टरनेश्नल, माउन्टेन फाउण्डेशन नेपाल र वन तथा वातावारण मन्त्रालय, राष्ट्रिय योजना आयोगको आयोजना र इसिमोड तथा युएनडिपिको सहयोगमा भर्चुहल विधिबाट राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो ।