पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण : मुद्दाका तीन जनालाई जन्मकैद

२७ मंसिर,अमर सुनार दैलेख। पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीमध्येका ‘अरुण’ भनेर चिनिने बमबहादुर खड्कासहित तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद (२० वर्ष) काे फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले यस्ताे फैसला गरेकाे स्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

डेकेन्द्र थापाकाे हत्याको १७ वर्षपछि दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ४१ वर्षीय खड्कालाई याे सजाय सुनाइएकाे हो । आफूलगायत नाै जनाविरुद्ध जाहेरी परेपछि पक्राउ पर्ने डरले लुक्दै आएका खड्कालाई दुई वर्षअघि कैलाली प्रहरीले पक्राउ गरी अड्डासार गर्दै दैलेख पठाएको थियो ।

प्रहरीले उनलाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तबीमा रहेको मुद्दा जगाउँदै २०७६ फागुन २१ गते गरेको थुनछेक बहसपछि त्यही दिन दैलेख कारागार चलान गरेको थियो । यो फैसलामा बमबहादुर खड्काका साथै कसुरदार भगवतीमाई गाउँपालिका ६ ‘मुक्ति’ भनेर चिनिने बमबहादुर खड्का, दुल्लु नगरपालिका ६ का केशव खड्कालाई २० वर्ष कैद फैसला भएको हाे ।

मुल्तबीबाट जगाइएको कर्तव्य ज्यानसम्बन्धी यो मुद्दामा आरोपित बाँकेको कोहलपुर नगरपालिका ३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको छ । अदालतका स्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले डेकेन्द्र थापा हत्या प्रकरणको मुल्तबी लगत कट्टा भएको बताउनुभयो ।

प्रतिवादीहरूको बचाउ गर्दै वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गर्नुभएको थियो । सशस्त्र युद्धका बेला २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरूले पत्रकार थापाको हत्या गरेका थिए ।

दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका थापालाई मुहान मर्मतका लागि त्यसतर्फ जान लागेका बेला २०६१ असार १२ गते माओवादी कार्यकर्ताहरूले अपहरण गरेका थिए । अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो । पत्रकार मारिएका भन्दै माओवादीको कडा आलोचना भएकाले माओवादीले थापालाई गाडिएको ठाउँसमेत गोप्य राखेकाे थियाे ।

शान्ति प्रक्रियापछि अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय मानव अधिकार आयोगले २०६५ साउन १३ गते नौमुले गाउँपालिका ३ द्वारीमा गाडिएको थापाको शव निकालेपछि गरिएपछि न्यायिक प्रक्रिया सुरु भएको थियो ।

घटनाको चार वर्षपछि थापाको कङ्कालको परीक्षणपछि २०६५ साउन १८ गते हिन्दू धार्मिक परम्पराअनुसार श्रीस्थानमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कारपछि पत्रकार थापाकी श्रीमती लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा नाै जनाविरुद्ध किटानी जाहेरी दिनुभएको थियो ।

सशस्त्र युद्धकालीन समयको घटना भएकाले विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगले त्याे मुद्दा हेर्नुपर्ने भन्दै माओवादी पक्षले दिएको दबाबका कारण मुद्दा चल्न सकेको थिएन ।

पत्रकारहरूको निरन्तर दबाबपछि २०६९ पुस २० गते प्रहरीले हत्यामा संलग्न भनिएका नाै जनामध्ये निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । पक्राउ परेकाहरूका सन्दर्भमा २०७१ मङ्सिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई/दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो । उनीहरूले कैद भुक्तान गरिसकेका छन् ।

याे फैसलामा जिल्ला न्यायाधीश श्रेष्ठले इजलासले मुख्य आराेपी बमबहादुर खड्कासमेत चार जना पक्राउ परेको बेला मुद्दा जगाउन सकिने गरी मुल्तबीमा राख्ने फैसला सुनाएको थियो ।

माओवादी कार्यकर्ताले अपहरण गरेको डेढ महिनापछि २०६१ साउन २७ गते साविकको द्वारी गाविस १ नेपाल राष्ट्रिय आधारभूत विद्यालयभित्र दिइएको यातनाका कारण ज्यान गएका पत्रकार थापा त्यस बेला ३३ वर्षका हुनुहुन्थ्याे । त्यस बेला उहाँ रेडियो नेपालको दैलेख संवाददाता हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरी र छोरा छन् ।