
असार १८,कालिकोट। पूर्वजनमुक्ति सेनाका एक कमाण्डरको उपचार नपाएर ज्यान गएको छ । कालिकोटको तिलागुफा गाउँपालिका स्थायी घर भएका नमराज न्याैपाने ‘सेवक’ को काठमाडौंको सडक पेटीमै ज्यान गएको हो । जनयुद्धको क्रममा घाइते सेवकका शरीरमा गोली र छर्रा थिए ।
लामो समयसम्म उपचार नपाएर घाउहरु बल्झिएका थिए । सरकार र माओवादी पार्टीले उपचारमा कुनै वास्ता नगरेपछि सेवक परिवारको पहलमा काठमाडौं आएका थिए । तर, उपचारमा लाग्ने खर्चको जोहो हुन नसक्दा पेटीमा बसेको बेला ज्यान गएको बताइएको छ ।
जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र सरकारमै भएको बेला एक घाइते योद्धले उपचार नपाएर ज्यान गुमाउनु परेको छ । उपचार गर्न भनेर कालिकोटबाट काठमाडौं आएपनि न उपचार हुन सक्यो न त राम्रो बस्ने र खाने व्यवस्था नै । नियमित औषधि समेत गर्न नपाएपछि सेवकलाई बिरामले चेप्दै गएको थियो ।
सेवक तत्कालिन जनमुक्ति सेनाको सदस्य हुँदै सेक्सन कमाण्ड समेत भएका थिए । उनले पश्चिम नेपालका धेरै युद्ध लडेको थिए । सोही क्रममा घाइते भएका थिए । अनमिनको प्रमाणिकरणको क्रममा अयोग्य भनेर उनलाई शिविरबाट बिदाई गरिएको थियो ।
सेवकको मृत्यु सडक पेटीमा भएपछि माओवादी नेताहरुप्रति सामाजिक संजालमा आक्रोस व्यक्त भएका छन् । उनले काठमाडौं आएपछि धेरै नेताहरुलाई फोन गरेर आफ्नो अवस्था नाजुक बन्दै गएको भन्दै उपचार गरिदिन आग्रह समेत गरेको बताइन्छ ।
उपचारको माग गर्दै जनयुद्धका घाइतेहरुले माइतीघरमा आमरण अनसन नै बस्नु परेको थियो। सरकारले प्रक्रिया पूरा गरेर निःशूल्क उपचार गर्ने प्रतिवद्धता जनाएको थियो । त्यो भन्दा पहिला गृहमन्त्रमा भएको छलफलबाट प्रहरीले घाइतेहरुलाई प्रहरी लगाएर गिर रफ्तार हिरासतमा राखेको थियो ।
karnalipress
१८ असार २०७९, शनिबार १७:१३