
ललित विष्ट, कालीकोट । कालीकोट जिल्लाका सबै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहले सार्वजनिक गरेको आगामी वर्षको अधिकांश बजेट विकास निर्माण केन्द्रित देखिन्छ । वडा तहसम्म वितरित रकम सडक पूर्वाधार, कृषि र स्वास्थ्यमा विनियोजन गरिएको छ । खेल मैदान, खानेपानी, सिँचाइ, विद्युत्लगायतका क्षेत्रमा पनि बजेट छुट्याइएको छ । धेरै स्थानीय तहले आन्तरिक स्रोत वृद्धि गर्न सकेका छैनन् । गत वर्षकै स्रोतलाई निरन्तरता दिएका छन् ।
रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ६७ लाख ५१ हजार रुपियाँको बजेट ल्याएको छ । नगर उपप्रमुख मनिराज बरालले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ३४ करोड ८१ लाख एक हजार रुपियाँ र पुँजीगततर्फ २१ करोड ८६ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, पूर्वाधार विकास तथा कार्यालय व्यवस्थापनलाई बजेटमा प्राथमिकता दिइएको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा करिब २० करोड रुपियाँ तथा स्वास्थ्य क्षेत्रमा १६ करोड रुपियाँभन्दा बढी बजेट विनियोजन गरेको जनाएको छ ।

नगरप्रमुख धर्मराज शाहीले ‘हाम्रो नगर, हामी बनाउँछौँ’ भन्ने नाराअनुसार नगरका आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए । नीति तथा कार्यक्रममा कृषि, सडक, खानेपानी तथा आधारभूत सेवाको विस्तारलाई निरन्तरता दिइएको उनको भनाई छ ।
यस्तै, सान्नीत्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड २६ लाख २५ हजार ९४७ रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष पार्वतीसिंह सज्यालले प्रस्तुत गरेको बजेट आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने छ ।
पचालझरना गाउँपालिकाले ४१ करोड ४४ लाख ७७ हजार ५४३ रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष अल्कीना बम सेजुवालले बजेट प्रस्तुत गर्दै विभिन्न विकास निर्माण, सेवा प्रवाह तथा पूर्वाधार विकासका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको हो ।
यस्तै पलाँता गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ४९ करोड ६९ लाख ९३ हजार ९१ रुपैयाँ ८० पैसाको बजेट सार्वजनिक गरेको छ । गाउँसभामा प्रस्तुत बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, रोजगार प्रवद्र्धन तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ । पलाँता गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका कार्यलाई तीव्रता दिनुका साथै सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गरिने जनाएको छ ।
यस्तै तिलागुफा नगरपालिकाले ६५ करोड ७४ लाख ३६ हजार २०५ रुपैया ४० पौसा सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य,खानेपानी,सिँचाइ,पूर्वाधार विकास तथा कार्यालय व्यवस्थापनलाई बजेटमा प्राथमिकता दिइएको छ । नगरप्रमुख शंकर प्रसाद उपाध्यायले कृषिको आधुनिकरण,यान्त्रिकरण, उत्पादन लागत न्यूनीकरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि,गरी बजेट प्राथमिकता दिएको बताए । पालिकामा आर्थिक विकासको सम्भावना बोकेका जलविद्युत,जलाशय, सिंचाई, खानेपानी आयोजनालाई समेटर एकीकृत जल विकास रणनैतिक योजना तर्जुमा गरी कृषि योग्य जमिनमा आधुनिकरण तथा उपयुक्त प्रविधि मार्फत सिंचाई सुविधा विस्तार गर्ने उनको भनाई छ ।

यस्तै शुभकालिका गाउँपालिकाले ४० करोड ६७ लाख ८६ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ । गाउँसभामा प्रस्तुत बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, रोजगार प्रवद्र्धन तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ ।
नरहरिनाथ गाउँपालिकाले ६१ करोड ५९ लाख ५९हजार ७०२ रुपैयाँ प्रस्तुत गरेको छ । बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, रोजगार प्रवद्र्धन तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए ।
यस्तै खाँडाचक्र नगरपालिकाले ५७ करोड ५ लाख २४ हजार ४ सय ८६ रुपैया बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको बजेट कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, रोजगार प्रवद्र्धन तथा सामाजिक विकासलाई प्राथमिकतामा छ ।



karnalipress
१० असार २०८३, बुधबार १९:५७