
ललित विष्ट,
असोज २७,कालीकोट । सुर्खेतबाट कालीकोटको रास्कोट जाँदै गरेको फोर्स गाडी कर्णाली राजमार्गको दैलेख साँगेतडा नजिकैको भीरबाट गत असार १८ गते कर्णाली नदीमा डुब्यो । कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको गाडी कसैले नदेख्ने भीरबाट खस्दा राजमार्गको पारी अछामको खेतमा काम गरिरहेका स्थानीयले नदीमा गाडी खसेको देखेपछि प्रहरीलाई खबर गरे । केही समयमै पाल्तडाको प्रहरी घटनास्थल पुग्यो । १ बजेतिर दैलेखको प्रहरी टोली पनि घटनास्थल पुगेर उद्धारमा खटियो । घटना भएको भीरमा अड्किएको अवस्थामा एक जनाको शव पनि फेला पर्यो । उनी कालीकोटको पचालझरना गाउँपालिकाका जेखे तिरुवा थिए ।
प्रहरीका अनुसार घटनास्थलबाट प्राप्त प्रारम्भिक अनुसन्धान तथा आफन्तबाट प्राप्त विवरणका आधारमा गाडीमा पाँच जना यात्रुको पहिचान खुलेको थियो । दुर्घटनामा चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी, यात्रुहरू कालीकोटको रास्कोट नगरपालिका–२ की सिर्जना खड्का,पचालझरना गाउँपालिकाका मेखे तिरुवा र पचालझरना गाउँपालिकाकै जेखे तिरुवाको धेरैपछि शव फेलापरेको थियो । अन्य यकजना यात्रु अझै वेपत्ता छन् । भाद्र २७ गते सल्यानको त्रिबेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकमा लुहाम हुदै दाङ तर्फ जादै लु.प्र.०२००१ ज ०००५ को बोलेरो गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भयो,भने ३ जना घाइते भएका थिए ।
यसअघि पनि कर्णाली राजमार्गमा ठूला दर्जनौ दुर्घटना भएका छन् । २०६६ साल चैतमा दैलेखको किटुमा भएको दुर्घटनामा ४२ जनाले र कालीकोटको सेराबाडास्थित बित्तामोडमा २०६९ मा भएको दुर्घटनामा २८ जनाले ज्यान गुमाएका थिए । ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार कर्णालीमा वर्षेनी सयौँ नागरिकहरूको सडक दुर्घटनाबाटै ज्यान जान्छ । प्रदेशभर दैनिक औसत ३.३८ वटा सवारी दुर्घटना हुने गरेका छन् अझ पीडादायी तथ्य त के छ भने प्रत्येक तीनदेखि चार दिनको अन्तरालमा एक जनाले सडकमै ज्यान गुमाइरहेका छन् । कर्णालीमा पछिल्लो समय सडक सञ्जाल विस्तारसँगै दुर्घटनाको जोखिम झन् बढ्दै गएको छ ।
प्रहरीका अनुसार प्रदेश भर आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटना संख्या १ हजार ८६ थियो,भने २ हजार ७७ जना गम्भीर घाइते भए, जसमा १ सय १२ जनाको मृत्यु भयो । आर्थिक वर्ष २०८१/८२ मा सवारी दुर्घटनाको संख्या ९ सय ६८ मा ७ सय २ जना गम्भीर घाइते भए, १ सय ३९ नजाको मृत्यु भयो ।
आर्थिक वर्ष २०८२/८३ को मा सवारी दुर्घटनामा १ हजार १ सय ९७ भएको मा १ हजार ३५ जना गम्भीर घाइते भए, जसमा १ सय ३५ ज्यान गुमाएका छन् ।चालू आर्थिक वर्ष २०८३/८४ मा ३ सय १ सवारी दुर्घटनामा भएको मा १ सय ९५ जना गम्भीर घाइते भए, २९ जनाको मृत्यृ भएको छ ।
कर्णालीमा हाल ९ हजार ७ सय १५.६६ किलोमिटर सडक सञ्जाल विस्तार भएको छ । तर त्यसमध्ये जम्मा १ हजार ३ सय ८४ किलोमिटर मात्र कालोपत्रे छ । बाँकी अधिकांश सडक ग्राभेल र कच्ची छन । यही कमजोर सडक संरचनामाथि तीव्र गति, लापरवाही र कमजोर अनुगमन थपिँदा दुर्घटनाले भयावह रूप लिएको देखिन्छ ।
‘कर्णालीमा भौगोलिक विकटता र यातायात असहजताका कारण दुर्घटना हुँदा उद्धार गर्न समस्या छ । भीरालो भूगोल, कमजोर पूर्वाधार र लामो समय स्तरोन्नति नभएका सडकहरू नै दुर्घटनाका कारण हुन् । सवारी साधनको बढ्दो चाप र बिग्रँदो सडकको अवस्थाले यात्रुहरूलाई सधैँ सास्ती भइरहेको छ ।’ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, कर्णाली प्रदेशका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी भने ।
कर्णालीमा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सक्रियता बढाएको छ । कर्णाली प्रदेशमा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले बहुआयामिक अभियान सञ्चालन गरिरहेको छ । मानविय त्रुत्रिले कर्णालीका राजमार्गमा धेरै दुर्घटना हुने गरेको कालीकोटका प्रहरी प्रमुख डिएसपी हिम बहादुर खत्रिले बताए । उनले तीव्र गति,जीर्ण र असुरक्षित सडक,चालकको असक्षमता, मादक पदार्थ सेवन, ओभरटेक, र यान्त्रिक खराबी, लगायतमा सवारी चालकले सावधानी अपनाउनुपर्ने बताए । उनले रातीको समयमा सुर्खेत–जुम्ला सडकमा गाडी चलाउने विषयमा तत्तकालका लागि चलाउन नसकिने बताए । सवारी साधनको चाप बढ्दै गएकाले सडकको अवस्था जिर्ण भएको अवस्थामा राती गाडी चलाउन सम्भव नभएको उनको बताए ।
उनकाअनुसार सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन । सुरक्षित सडक, प्रभावकारी पूर्वाधार, कडा कानुनी कार्यान्वयन, स्थानीय सरकार, सडक विभाग, यातायात कार्यालय, सञ्चारमाध्यम तथा नागरिक सबैको साझा जिम्मेवारी र सहकार्यमा चाड पर्वको समयमा सवारी दुर्घटनामा कम गर्न आवश्यक रहेको उनको भनाई छ ।

चाडपर्वमा दुर्घटना रोक्न निगरानी
चाडपर्व नजिकिएसँगै ट्राफिक प्रहरीले कर्णालीमा विशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वका बेला हुन सक्ने सडक दुर्घटना न्यूनीकरण गर्न कर्णाली प्रदेशका १० वटै जिल्लामा विशेष चेकजाँच, मोबाइल गस्ती, यात्रु सहायता कक्ष र आकस्मिक उद्धार टोली परिचालन भएका छन् ।
तीव्र गति, मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने र चालकको लापरवाही नियन्त्रण गर्न प्रदेश ट्राफिक प्रहरीले २४ घण्टे विशेष निगरानी बढाएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले तयार पारेको ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ अनुसार दशैँ, तिहार र छठलगायत चाडपर्वमा बढ्ने सवारी चापलाई व्यवस्थित गर्न जिल्लागत जोखिम विश्लेषण गरी सुरक्षा संयत्र परिचालन गरिनेछ ।
दशै तिहार जस्ता चाडमा सडक दुर्घटनालाई नियन्त्रण गर्न सडक सुरक्षालाई केन्द्रमा राखेर सडक सञ्जाल विस्तार,नियमित मर्मतसम्भार,दुर्घटना बढी हुने स्थान पहिचान गरी सुधार गर्ने, पहिरो तथा बाढी प्रभावित सडकको नियमित संरक्षण गर्ने लगायतको विषयमा जिम्मेवार रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए ।
उनले सडकको नियमित मर्मत,ट्राफिक रोड माकिङ, टा«फिक सेप्टी बारगुणस्तर सुधार तथा जोखिमयुक्त सडकखण्डको स्तरोन्नतिलाई योजनाबद्ध रूपमा अघि बढाएको बताए । पछिल्लो समय सुर्खेत, दैलेख खण्डमा धेरै सडक जिर्ण छ । राजमार्गको अप्ठ्यारो र भिरालो ठाउँमा डिलबाट सिधै कहालीलाग्दो भीर र कर्णाली नदी देखिने हुँदा ‘सेफ्टी बार’ लगाउँदा यात्रुले पनि सुरक्षित महसुस गर्नेको स्थानीयको भनाइ छ । कर्णाली राजमार्गमा ठूला र बढी दुर्घटना भएका दैलेखको किटुभीर, कालीकोटको सेरावाडा, टिमुरे, ताडीभीर, बिहानी, हुल्मजीते, सुर्खेतको कल्याण र जुम्लाको गाडगडेनी ठाउँहरु अहिले पनी जोखिम छन् ।



karnalipress
२७ आश्विन २०८३, मंगलवार १०:३५