कालीकाेटमा चहलपहल बढाउदै,देउवा पक्ष

कालीकाेट। नेपाली कांग्रेसको इतर समूह (देउवा पक्ष) ले कर्णालीका जिल्लामा केन्द्रीय प्रतिनिधि र जिल्ला इन्चार्ज तोकेसँगै चुनावी गतिविधि तीव्र बनाएको छ। कांग्रेसका कर्णाली प्रदेश प्रवक्ता दमन शाहीलाई  केन्द्रीय प्रतिनिधि तोकिएपछि देउवा पक्षका नेता-कार्यकर्ताको चहलपहल बढेको हो।

देउवा पक्षले कर्णालीका अधिकांश जिल्लामा आगामी पार्टी अधिवेशन तथा चुनावी अभियानलाई लक्षित गर्दै आफ्‌ना प्रतिनिधि खटाएको छ। कालीकाेट जिल्ला संयोजकको जिम्मेवारी मात्रिका सिंहलाई दिइएको छ भने केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दमन शाहीले  पाएका छन्।

केन्द्रीय प्रतिनिधि तोकिएसँगै देउवा पक्षका नेता-कार्यकर्ताले जमघट तथा बैठक  थालेका छन् । मंगलवार देउवा पक्षले  वडा तहमा निर्वाचन समिति गठन तथा अधिवेशनको तयारीसमेत अघि बढाउन छलफल गरेको   जिल्ला संयाेजक मात्रिका सिंहले बताए।  उनका अनुसार जिम्मेवारी पाएलगत्तै कालीकाेटका  सबै वडामा अधिवेशनको तयारी थालिएको छ।

‘१५ गतेदेखि हुने वडा अधिवेशनलाई लक्षित गरेर वडा तहमा निर्वाचन समिति गठनलगायतका तयारी अघि बढाइएको छ।’ सिंहले  भने, ‘क्रियाशील सदस्यहरू पनि उत्साहका साथ निर्वाचन प्रक्रियामा सहभागी हुने तयारी गरिरहेका छन्।’

कर्णालीका अन्य जिल्लामा समेत १५ गतेदेखि हुने वडा अधिवेशनलाई लक्षित गरेर कांग्रेसभित्र गतिविधि बढेको छ। देउवा पक्षले जिल्ला संयोजक तथा केन्द्रबाट प्रतिनिधिहरु खटाएर संगठन परिचालन र चुनावी तयारीलाई तीव्रता दिएको हो।

यसअघि पार्टी सस्थापन (गगन पक्ष) संग कुनै पनि कार्यक्रममा सहभागी नभएका नेता-कार्यकर्तासमेत पछिल्लो समय कांग्रेसको देउवा  पक्षसँग आबद्ध भएर प्रचारमा छन्। 

यसले कालीकाेट कांग्रेसभित्र आगामी अधिवेशनलाई लिएर नयाँ राजनीतिक समीकरण र प्रतिस्पर्धाको वातावरण समेत बनाएको कांग्रेसका नेताहरू बताउँछन्।