अन्तर जिल्ला पालिकास्तरीय समन्वय बैठक महाबुधाममा सम्पन्न

ललित विष्ट,कालीकोट ।
कालीकोटको महावै गाउँपालिका र दैलेखको महाबु गाउँपालिकाको सिमानामा महत्वपूर्ण अन्तर–जिल्ला,पालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । दुवै जिल्लाको साझा सिमानामा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल महाबुधाममा बैठक बसेको हो ।

लामो समयदेखि देखिँदै आएको सीमा विवाद समाधान,साझा पर्यटकीय विकास र शान्ति सुरक्षा सुदृढीकरणका लागि बैठक बसेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । आसन्न साउन–भदौमा लाग्ने प्रसिद्ध महाबु मेलाको पूर्वसन्ध्यामा शान्ति सुरक्षा कायम गर्न,सीमा विवादलाई संवादमार्फत टुङ्ग्याउन र समसामयिक विषयमा साझा धारणा बनाउन अन्तर–जिल्ला,पालिका स्तरीय समन्वय बैठक गरेको उनको भनाई छ ।

कालीकोट र दैलेख दुवै जिल्लाको आस्थाको केन्द्र मानिने महाबुधाम क्षेत्रको स्वामित्व, सीमांकन र स्थानीय स्रोत साधनको उपयोगलाई लिएर कहिलेकाहीँ दुई पालिकाका बासिन्दाबीच असमझदारी पैदा हुने गरेको थियो ।

कालिकोटका तिन वटा स्थानीयतह महावै गाउँपालिका,खाँडाचक्र नगरपालिका,तिलागुफा नगरपालिका, र दैलेखको महाबु गाउँपालिका,नारायण नगरपालिका,नौमूले गाउँपालिका तथा प्रशासन र सुरक्षा टोली कालीकोट र दैलेख दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी,जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको संयुक्त टोली सहभागि रहेका छन् ।

बैठकमा मुख्य रूपमा दैलेखको महावु हुँदै कालीकोटको महावै गाउँपालिका र जुम्ला जोड्ने सडकको स्तरउन्नतीको लागि बजेट माग गर्ने,नाकाहरूमा सुरक्षा व्यवस्था चुस्त बनाउने, जडीबुटी संकलन तथा वन क्षेत्रको उपयोगमा देखिने विवाद न्यूनीकरण गर्ने,महाबुधामको विकासमा दुवै तर्फका पालिकाहरूले संयुक्त लगानी गर्ने,साथै दैलेखका पेट्रोलियम पदार्थ उत्खननको काम अघि बढाउन माग गर्ने,लगायतका विषयमा छलफल गरीएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए । यो ऐतिहासिक समन्वय बैठकले दुई जिल्लाका स्थानीय तह हरूबीच पारस्परिक सम्बन्ध बलियो बनाउनुका साथै परापूर्वकालदेखि चल्दै आएको धार्मिक सद्भावलाई अक्षुण्ण राख्न मदत पुग्ने उनको भनाई छ।

महाबु क्षेत्रलाई कर्णाली प्रदेशकै एक प्रमुख धार्मिक पर्यटकीय हबका रूपमा विकास गर्न स्थानीय सरकारहरूबीच आपसी सहकार्य,पूर्वाधार विकास,पर्यटन प्रवद्र्धन तथा धार्मिक सम्पदाको संरक्षणका विषयमा व्यापक छलफल भएको हो ।