करोडौं खर्च,प्रयोगविहीन पिली भ्युटावर

ललित विष्ट,
कार्तीक १७, कालीकोट ।
कर्णाली राजमार्गमै पर्ने पिली डाँडामा अग्लो र गोलाकार भवन छ । त्यो हो,पिली भ्युटावर । कालीकोटको खाँडाचक्र नगरपालिका—७ पिलीमा ६ करोड बढी रुपैयाँ लागतमा निर्माण सम्पन्न पिली भ्यूटावर अहिले प्रयोगविहीन बनेको छ । दुई वर्षअघि निर्माण सम्पन्न पिली भ्यूटावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्न स्थानीयतहलाई डभिजन वन कार्यालय कालीकोटले हस्तान्तरण नगर्दा अहिले बेवारिसे अवस्थामा पुगेको हो ।

टावरको अहिले स्टिलका बार,सिसा चोरी हुन थालेका छन् । टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशामा रहेका स्थानीय ललित मल्ल भ्यूटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा भ्यूटावरको करोडौं लगानी खेर जानेमा चिन्तीत छन् । युद्ध संग्रहालयको अवधारणामा निर्मित यो भ्युटावरमा एउटा गेट,तीन वटा प्रतीक्षालय, दुई वटा चौतारा, फाउन्टेनसहितको एउटा पानीपोखरी,एउटा टिकट काउन्टर र शौचालयजस्ता कंक्रिट संरचना छन् ।

पिलीलाई नमुना बनाउन विभिन्न पूर्वाधार निर्माण गर्न २०७९ सालमा डिभिजन वन कार्यालय कालीकोटले ८ करोड ८९ लाख ९१ हजार रुपैयाँको टेन्डर आह्वान ग¥यो । यही युद्ध संग्रहालयको लागि कुशेश्वर कन्ट्रक्सन प्रालिले ६ करोड ८९ लाख ९९ हजार ७९९ रुपैयाँ ९७ पैसा लागतमा दुई वर्ष अघि भ्यूटावर निर्माण सम्पन्न गरेको छ । तर सञ्चालनमा नआउँदा भ्यूटावरको करोडौं लगानी खेर जाने देखिन्छ। २० मिटर अग्लो भ्युटावरले खाल्डाखुल्डी र पहिरोले बिगारेको छेउकै कर्णाली राजमार्गलाई भने गिज्याइरहेको छ । साँघुरो र कमजोर सडकले सवारी चालक र यात्रुलाई वर्षौंदेखि सास्ती भइरहेको छ ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले पिली युद्ध पर्यटकीय गन्तव्य बनाउन उनकै पालामा करोडौं रकम विनियोजन गरे । स्थानीय, प्रदेश तथा संघीय सरकारको अर्बौँ रुपैयाँ बजेट स्वास्थ्य, शिक्षा र खानेपानी जस्ता आधारभूत आवश्यकताभन्दा बाहिर गएर भ्युटावर निर्माणमा खर्च भए पनि ती संरचनाहरू हाल संरक्षण र सञ्चालनको अभावमा अलपत्र परेको युवा हिक्मतजंङ मल्लले बताए । उनले जनतालाई अस्पताल, विद्यालय र रोजगारी चाहिएको बेला राजनीतिक जस लिनका लागि अनुत्पादक क्षेत्रमा लगानी गरिनु बजेटको बर्बादी रहेको बताए ।

डिभिजन वन कार्यालय कालीकोटले खाँडाचक्र नगरपालिकालाई सञ्चालनको लागि हस्तान्तरण नगरेको जनाएको छ । डिभिजन वन कार्यालयले पालिकालाई हस्तान्तरण नगरेपछि अहिले प्रयोगविहीन जस्तै छ । डिभिजन वन कार्यालय कालीकोटमार्फत यहाँ विभिन्न पूर्वाधार निर्माण भएका छन्। युद्ध संग्रहालय, रेलिङसहित करिब १९ सय मिटर पैदल मार्ग, पौडी पोखरी, पार्किङ, प्रवेशद्वार, भ्यु टावर, टिकट काउन्टर, बुट्यानसहितका दुई वटा चौतारा, शौचालय र गेट निर्माण गरिएको छ । पिली भ्युटावर सञ्चालनकालागि नगरपालिकालाई हस्तान्तरण नहुँदा भ्युटावर पुग्ने बाटोको अवस्था समेत नाजुक बनेको स्थानीय युवा रमित मल्लले बताए । प्रयोगविहीन भ्युटावरको विषय पछिल्लो समय राज्य स्रोतको दुरुपयोग र अनुत्पादक लगानीको ठूलो प्रतीकका रूपमा बहस हुन थालेको छ ।