
ललित विष्ट,असार १३,कालीकोट ।
कालीकोटको महावै गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । शनिबार एक समारोहका बिच गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले प्रशासकीय भवन निर्माणको शिलान्यास गरेका हुन् । लामो समयदेखि अस्थायी घरबाट सेवा प्रवाह गर्दै आएको महावै गाँपालिकाले नयाँ प्रशासकीय भवन निर्माण थालेको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले आफ्नै प्रशासकीय भवन निर्माणसँगै गाउँपालिकाको सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी तथा सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गरे। उनले भवन निर्माण कार्य तोकिएको समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै स्थानीयवासीको समेत सहयोग आवश्यक रहेको बताए।
३२ वटा कोठासहित साढे दुईतले सुविधा सम्पन्न भवन निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको महावै गाउँपालिकाका ईन्जिनियर प्रकाश शाहीले बताए । उनका अनुसार ५ करोड ५१ लाख ८४ हजार रुपैयाँमा प्रशासनिक भवन निर्माणको लागि अभिनाश आशीष पूर्ण जेभीले गत २०८३ वैशाख १५ गते सम्झौता गरेको थियो । ठेक्का सम्झौता गरी काम सुरु गरिएको उक्त भवन निर्माण आगामी २०८४ असार १५ गते सम्पन्न गर्नुपर्ने छ ।
उक्त भवन निर्माण संघीय सरकार अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको ६० प्रतिशत र महावै गाउँपालिकाकाे ४० प्रतिशत साझेदारीमा निर्माण हुने छ।
शिलान्यासमा बाेल्दै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले प्रशासकीय भवन निर्माणले गाउँपालिकाको संस्थागत विकास र सुशासन प्रवर्द्धनतर्फ महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । उनलेे भवन समयमै सम्पन्न भए स्थानीय तहको सेवा प्रवाह अझ सहज र गुणस्तरीय बन्ने अपेक्षा व्यक्त गरेका छन्।




karnalipress
१३ असार २०८३, शनिबार १७:०१