
नौरते नेपाली, भाद्र २७ जुम्ला। गुठीचौर गाउँपालिका वडा नम्बर ३ गज्र्याङ्गकोटका मोवाइल चोरिको आरोपमा प्रहरीको कुटाईबाट निधन भएका पदम बुढाका परिवारलाई राहत दिईएको छ । गएको फागुन महिनाको ५ गतेका दिन १३ वर्षिय पदम बुढाको प्रहरीको कुटाई पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा निधन भएको थियो । गज्र्याङ्गकोट गाउँकै विशाल रावतको मोवाइल चोरीको आरोपमा मृतक बुढालाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको थियो ।
कुटपिट पछि मृतक बुढाको प्रतिष्ठान जुम्लामा फागुन ५ गतेका दिन उपचारको क्रममा निधन भएको थियो । बुढाको निधन पछि गज्र्याङ्गकोट गाउँका स्थानीयले प्रहरी र प्रशानमा फागुन ६ गतेका दिन ढुङ्गामुढा गरेका थिए । पछि पिडित परिवार र सरोकारवाला निकायका बिच ३ बुँदे सहमति भएको थियो । तिन बुँदे सहतिका अनुसार मृतक बुढाका आमा गोरिकला धराला (बुढा) र बुबा पृथ्वीवहादुर बुढालाई पाँच लाख रुपैयाको नगद चेक हस्तान्तरण गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई, पूर्व सांसद ललितजंग शाही, गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारी, वडाध्यक्ष प्रेमवहादुर बुढा र स्थानीय युवा दानवहादुर बुढाको विशेष पलहमा प्राप्त भएको राहत पिडित परिवारलाई हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताउनु भयो । राहत हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र पत्रकारहरुको सहभागिता रहेको उहाँले बताउनु भयो । बालकको मृत्यु भइसकेपछि पिडित परिवारको घाउमा मलहम् पट्टि लगाउनको लागि नगद हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।
मृतक बुढालाई फर्कान नसकिएता पनि दुखेको घाउमा औषधि लगाउने काम भएको चौलागाईले बताउनु भयो । बालकको मृत्यु पछि पिडित परिवार र सरोकारवाला निकायका बिच राहत उपलब्ध गराउने विषयमा पहल गर्ने र मृतक बालकको शब बुझेर स्थानीय परम्परा अनुसार दाहासंस्कार गर्ने सहभति भएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताउनु भयो । उहाँका अनुसार मरेको व्यक्तिलाई जीवित गर्न नसकिने भन्दै अभिभावक माथि परेको चोटलाई कम गर्न राज्यले राहत दिएको बताउनु भयो । पूर्व सांसद ललितजंग शाहीले मृतक बालकले संशार छोडेर गएपछि आमा र बुबा माथि परेको पिडालाई कम गर्न राज्यले राहत दिएको बताउनु भयो ।
भविष्यको सारथी छोरा गुमाउँदाको पिडालाई कम गर्न राहतले सहयोग गर्ने उहाँको भनाइ छ । शाहीका अनुसार पिडित पक्षले तत्काल राहत पाउनु पर्छ ? भनेर कर्णाली प्रदेशको आन्तरिक मामिला ताथ कानून मन्त्रालय र अन्य व्यक्तिसँग छलफल भएकाले छिटो राहत आई पुगेको बताउनु भयो । पिडित परिवारलाई राहत दिलाउनको लागि प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, प्रदेश सरकार र युवा दानवहादुर बुढाले खेलेको भूमिकालाई उहाँले प्रशंसा गर्नु भएको छ ।
गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारीले पिडित परिवारको पिडालाई कम गर्न राज्यले दिएको राहतले सहयोग पुग्ने बताउनु भयो । मृतक बुढाले संशार त्यागेर गएपनि राहत रकमले परिवारको सुरक्षा हुने उहाँको भनाइ छ । वडाध्यक्ष प्रेमवहादुर बुढाले मृतक बालकका परिवारलाई वडाबाट पनि २ लाख राहत दिने तयारी भएको बताउनु भयो ।
पिडित परिवारको पक्षमा राज्य भएको अनुभूति गराउन स्थानीय सरकारले राहत दिने उहाँको भनाइ छ । प्रहरीको कुटाई पछि मृत्यु भएका बुढाको परिवारको सारथी स्थानीय सरकार हुनु पर्ने वडाध्यक्ष बुढाले बताउनु भयो । मृतक बुढाको लास माथि राजनीतिक गर्न खोजिएको भन्दै उहाँले त्यो हुनबाट गज्र्याङ्गकोटका स्थानीयलाई रोक्न सफल भएको बताउनु भयो ।
राहत उपलब्ध गराउन सहयोग गर्ने युवा दानवहादुर बुढाले पिडित परिवारले जीवित छोरा नपाए पनि राहतले जीविको पार्जनमा सहयोग गर्ने बताउनु भयो । प्रहरीको कुटाईबाट बालकको मृत्यु भएको घटनाले सबैलाई दुखी बनाएको भन्दै बुढाले राज्य भएको महसुस पिडित परिवारले गरेको जानकारी गराउनु भयो ।



karnalipress
२७ भाद्र २०७८, आईतवार १८:५५