व्यक्तिगत लगानीमा भगवान शिवको मूर्ति स्थापना

कालीकोट । जिल्लाको महावै गाउँपालिका– ६ पान्तडी स्थित रानीपाटामा भगवान शिवको मूर्ति स्थापना गरिएको छ। स्थानीय समाजसेवी तथा कर्णाली युथ आइकन अवार्डबाट पुरस्कृत युवा व्यावसायिक मनिषजंङ शाहीले सात फिट अग्लो भगवान शिवको मूर्ति स्थापना गरिएका हुन् ।

स्थानीयवासीले उक्त मूर्तिलाई कर्णाली प्रदेशकै दोस्रो अग्लो शिव मूर्ति भएको दाबी गरेका छन्। निर्माण गरिएको सो मन्दिरमा विशेष पूजा गरेर शिव भगवानको पूर्णकदको मूर्ति स्थापना गरिएको छ ।

महावै गाउँपालिका वडा नं. ६ निवासी बुवा मीम बहादुर शाही र आमा पानकला शाहीको सौजन्यमा निर्मित तिलेश्वर महादेव मन्दिरको प्राणप्रतिष्ठा साढे ९ लाखको व्यक्तिगत लगानीमा शिवको मूर्ति राखिएको हो ।

काठमाडौंमा लामो समयदेखि व्यवसायगर्दै आएका शाहीले आफ्नो जन्मथलोमै धार्मिक स्थल स्थापना गरी समाजलाई धर्म,संस्कार र सकारात्मक सोचतर्फ प्रेरित गर्ने उद्देश्यले मन्दिर निर्माण गरिएको बताएका छन्। उनका अनुसार हिन्दू धर्मको संरक्षण,धार्मिक आस्था अभिवृद्धि तथा युवापुस्तालाई सामाजिक एवं धार्मिक कार्यमा सहभागी गराउने लक्ष्यका साथ यो अभियान अघि बढाइएको छ ।

शाहीले व्यवसायबाट कमाएको आम्दानीलाई सामाजिक तथा धार्मिक क्षेत्रमा लगानी गर्न पाउनु आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। उनले काठमाडौंमा २०७२/७३ सालतिरबाट व्यवसाय सुरु गरेको र हाल ‘वाउ रेसिडेन्सी’ लगायत विभिन्न क्षेत्रमा सक्रिय रहेको जानकारी दिए ।
वि.सं. २०४९ वैशाख २८ गते जन्मिएका शाहीले आफ्नो जन्मदिनको अवसर पारेर धार्मिक कार्य सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। व्यक्तिगत उत्सवलाई समाजका लागि स्मरणीय कार्यसँग जोड्ने उद्देश्यले शिव मूर्ति स्थापना गरिएको उनले बताए ।

स्थानीयवासी युवाले पान्तडी क्षेत्रमा शिवको मूर्ति स्थापना गरेकोमा महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले धन्यवाद दिए । उनले धार्मिक पर्यटनको सम्भावना बढ्ने विश्वास व्यक्त गरेका छन्। शिव मूर्तिले धार्मिक आस्था, सामाजिक एकता र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरेको उनको भनाई छ ।