
माघ १७, कालिकोट । तिलागुफा नगरपालिको गाल्जेमा ऐतिहासिक गाल्जे साँगु मेला सुरु भएको छ। एक हप्तासम्म लाग्ने मेला माघ १५ गतेदेखि सुरु भई २२ गतेसम्म चल्नेछ। परापूर्व कालमा पतिको निधन पछि सती गएर देवीको अवतार लिएकी सत्यवतीको सम्झना स्वरूप १२ वर्षामा एक पटक माघ पूर्णिमाको अवसमा ऐतिहासिक धार्मिक मेला तथा जात्रा हुने गरेको छ। यसपटक पहिले भन्दा भव्य तयारी साथ कार्यक्रम सुरु भएको छ।
असोज १९ गते देखी परेको अविरल वर्षातले ऐतिहासिक गाल्जे साँगु लगायत त्यहाँका सबै पूजाका सामग्री बगाएको थियो। गाल्जे साँगु बगाएपछि स्थानीयले पुनः काठको साँगु तयार गरी सबै कार्य पुरा गरेपछि ऐतिहासिक गाल्जे साँग पूजा मेला सुरु गरेको तिलागुफाका नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए। पर्यटन क्षेत्र विकासको लागी र धार्मिक कहत्व र्दशाउन नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माण समेत गरिएको उनको भनाई छ।
जुबिथा गाउँका महिलाहरू यो धार्मिक ऐतिहासिक पूजामा नआएमा सत्यवती देवी रिसाउने विश्वास स्थानीय महिलाहरूले गर्ने गरेका छन्। सात दिन सम्म लाग्ने मेलामा कालिकोटको जुबिथा, गाल्जे, राँचुली, शुभकालिका, महावै, खाँडाचक्र, जुम्ला लगायत आसपासका गाउँपालिकाका भक्तालुजनहरू आउने गरेका छन्। उक्त मेलामा धामी नाचको साथै देउडा लगायतका सांस्कृतिक प्रस्तुतिहरू समेत व्यापक रहने गरेको स्थानीयले बताएका छन्।
यो मेला १२ वर्षको एक पटक लाग्ने गर्छ। मेलामा ऐतिहासिक एक सरे धागोमा तिला नदिबाट एक गाग्रीमा पानी ल्याउने, सागुका बाडामा धामी नाच्ने लगायतको धार्मिक कहत्व र्दशाउने गरिन्छ।



karnalipress
१७ माघ २०७९, मंगलवार १८:१४