भारतमा फोन जासुसी, नेपालमा तरंग

६ साउन, काठमाडौं,  संवैधानिक आयोगका पदाधिकारी, कूटनीतिज्ञ, पत्रकार र मानव अधिकारकर्मीको समेत फोन जासुसी गरिएको तथ्य सार्वजनिक भएपछि भारतमा चर्को विवाद सिर्जना भएको छ । दिल्ली मिसनमा रहेका चीन, इरान, पाकिस्तान र नेपालका राजदूतको समेत फोन ह्याक भएको खबरले नेपाललाई सशंकित बनाएको छ ।

इजरायली कम्पनी एनएसओले बनाएको स्पाइवेयर (जासुसी सफ्टवेयर) पेगाससमार्फत संसारभर करिब ५० हजार फोनको जासुसी गरिएको रिपोर्ट सार्वजनिक भएको छ । एनएसओले आतंकवादी गतिविधिको सूचना संकलन गर्ने उद्देश्यले पेगासस बनाएको दाबी गरेको छ । तर, भारतमा भने सार्वजनिक जीवनमा सक्रिय व्यक्तित्वको फोनमा पेगाससबाट हमला गरिएको पुष्टि भएको छ ।

भारतमा सफ्टवेयरबाट फोन जासुसी गरिएको खबरले हलचल आएको छ भने  नेपालमा पनि कूटनीतिक विज्ञहरू चिन्तित भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगै दिल्लीस्थित इरान, अफगानिस्तान, चीन, साउदी अरेबिया र नेपालका राजदूतको नम्बर जासुसीमा परेको अनुसन्धानले देखाएको छ ।