
कालीकोट – कालीकोट जिल्ला मा स्थानीय सरकारको साझेदारीमा सञ्चालन भइरहेको मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाको सक्रिय चरण सफलतापूर्वक सम्पन्न भएको छ ।
यस परियोजना One Heart Worldwide / VDSEF Nepal को साझेदारीमा कार्यान्वयन हुँदै आएको छ । मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर सुधार्न, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न र समुदायमा सेवा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको हाे।
परियोजना सल्लाहाकार समितिका अध्यक्ष धनजित शाहीको अध्यक्षतामा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढीकरण परियोजना आजको कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा. रत्नविर सुनार, भिडिसेफ नेपाल कालीकोटकी अध्यक्ष कल्पना रावल बोगटी, अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसी, जनस्वास्थ्य अधिकृत कटक बहादुर महत लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्दै स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउनु, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको माग बढाउनु, सेवा प्रवाहमा सुधार ल्याउनु, समन्वय, अनुगमन, मूल्यांकन, अनुसन्धान र सिकाइलाई प्रवद्र्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको कार्यक्रम संयोजक विमल चलाउनेले जानकारी दिए ।
अध्यक्ष धनजित शाहीले कार्यक्रमा परियोजनाले दुर्गम जिल्लामा मातृ तथा नवजात शिशु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार ल्याएको बताए । उनका अनुसार स्थानीय तह र सरोकारवालाहरूको सक्रिय सहभागितामा हासिल उपलब्धिहरूलाई दीगो बनाउनु हाम्रो साझा जिम्मेवारी हो। परियोजनाले स्वास्थ्यकर्मी प्रशिक्षण, समुदायमा जनचेतना अभिवृद्धि र सुरक्षित मातृत्व प्रवद्र्धनमा ठोस योगदान पु¥याएको छ।
प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुवालले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा गैरसरकारी संस्था र स्थानीय सरकारबीचको सहकार्य उदाहरणीय रहेको बताए । उनले यस प्रकारको सहकार्यले दुर्गम भेगमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यसलाई दीगो र प्रभावकारी बनाउन रणनीतिक योजना अपनाउनुपर्छ उल्लेख गरे।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. रत्नविर सुनारले परियोजनाले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याएको जानकारी दिए ।
परियोजनाको अनुभवले देखाएको छ कि समन्वय, अनुगमन र मूल्यांकन प्रणालीले मात्र सेवा गुणस्तर सुधार गर्न सकिन्छ । यसलाई स्थानीय स्वास्थ्य संरचनासँग जोडेर दीगो बनाउनु महत्वपूर्ण हुने बताए ।
भिडिसेफ नेपाल कालीकोटकी अध्यक्ष कल्पना रावल बोगटीले समुदायस्तरमा जनचेतना अभिवृद्धि र स्वास्थ्य सेवामा पहुँच विस्तारमा परियोजनाले महत्वपूर्ण योगदान पु¥याएको बताइन्। उनका अनुसार परियोजनाले मातृ तथा नवजात शिशु स्वास्थ्यको सुधारमा ठोस परिणाम देखाएको छ । आगामी दिनमा यसलाई दिगो र प्रभावकारी बनाउन स्थानीय सरकारसँगको सहकार्य निरन्तरता पाउने विश्वास ब्यक्त गरिन्। साथै सहयोग र समन्वयको लागि जिल्ला सल्लाहाकार समितिलाई धन्यवाद समेत ब्यक्ति गरिन् ।
कार्यक्रमले बहिर्गमन चरणका लागि कार्ययोजना बनाउँदै, हासिल उपलब्धिहरूको समिक्षा गरेको छ । यसअन्तर्गत स्थानीय सरकारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने, समुदायस्तरमा स्वास्थ्य सेवा पहुँचलाई मजबुत बनाउने, अनुगमन तथा मूल्यांकन प्रणालीलाई थप सुदृढ बनाउने, र प्राप्त पाठ सिकाइलाई संस्थागत गर्नुपर्ने विषयमा विशेष छलफल भएको भिडिसेफ नेपाल कालीकोट कार्यक्रम संयोजक राजेन्द्र सहकारीले जानकारी दिए ।
विशेषज्ञहरूले परियोजनाले दुर्गम भेगमा मातृ तथा नवजात स्वास्थ्य सेवाको गुणस्तरीय पहुँच सुनिश्चित गर्दै, समुदायमा स्वास्थ्य प्रति सचेतनालाई बढाउने दिशामा ठोस कदम चालेको उल्लेख गरेका छन् । यसले भविष्यमा स्वास्थ्य प्रणालीलाई दीगो बनाउने आधार पनि तयार गरेको छ ।



karnalipress
९ चैत्र २०८२, सोमबार १७:५०