सहिद पुत्र शाही,कांग्रेस कर्णाली प्रदेश सभापतिको दाबेदार

कालीकोट । नेपाली कांग्रेसका युवा नेता दमनबहादुर शाहीले कर्णाली प्रदेश सभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै शाहीले ‘ऊर्जाशील नेतृत्व, गतिशील व्यक्तित्व’ भन्ने नारासहित प्रदेश नेतृत्वका लागि आफ्नो सक्रियता बढाएका छन्।

शाहीको राजनीतिक तथा पारिवारिक पृष्ठभूमि नेपाली कांग्रेसको इतिहास र राजनीतिक संघर्षसँग जोडिएको छ। उनका बुबा तेजबहादुर शाहीको २०५६ सालमा तत्कालीन माओवादी पक्षबाट हत्या भएको थियो। बुबाको हत्यापछि सहिद परिवारको पृष्ठभूमिमा हुर्किएका दमनबहादुरले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका हुन्।

त्रिचन्द्र कलेजबाट विद्यार्थी राजनीति सुरु गरेका शाही नेपाल विद्यार्थी संघको प्रचारप्रसार विभागमा रहेर काम गरिसकेका छन्।

नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही पर्यटनमन्त्री हुँदा उनले स्वकीय सचिवका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए। त्यसैगरी, नेपाली कांग्रेस कालीकोटको विभिन्न समयमा जिल्ला सदस्य, जिल्ला कार्यसमिति सहसचिव हुँदै कर्णाली प्रदेश कार्यसमिति सदस्य बनेका शाहीले प्रदेश कार्यसमितिको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

पार्टी संगठनका विभिन्न तहमा रहेर काम गरेको अनुभव बटुलेका शाही नियमित १५औँ महाधिवेशनमा कर्णाली प्रदेश सभापतिका दाबेदारका रूपमा अघि आएका छन्। पार्टीभित्र सभापति शेरबहादुर देउवानिकट नेताका रूपमा परिचित शाहीले राजनीतिक उतारचढावका बीच सुरुदेखि नै देउवा पक्षलाई साथ दिँदै आएका छन्।

कर्णाली प्रदेश कार्यसमितिका सभापतिसहित अधिकांश पदाधिकारी गगन पक्षमा आबद्ध भए पनि शाहीले देउवा पक्षमा रहेर प्रदेशका विभिन्न जिल्लाका नेता तथा कार्यकर्तासँग संगठनात्मक सम्बन्ध विस्तार गर्दै आएका छन्।

सहिद परिवारको पृष्ठभूमि, विद्यार्थी राजनीतिदेखि पार्टी संगठनका विभिन्न तहमा प्राप्त अनुभव र प्रदेश प्रवक्ताको जिम्मेवारी सम्हालेको अनुभवसहित शाहीले कर्णाली कांग्रेसको नेतृत्वका लागि आफ्नो दाबेदारी अघि सारेका छन्। उनको राजनीतिक यात्रा र प्रदेश सभापति पदको दाबेदारीलाई आगामी १५औँ महाधिवेशनको सन्दर्भमा चासोका साथ हेरिएको छ।