कालीकोटमा वर्षेनी सवारी दुर्घटना बढ्दै

ललित बिष्ट श्रावण १३, कालीकोट । जिल्लामा वर्षेनी सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको छ । सडकको दुरावस्था ठाउँ–ठाउँमा पहिरो, र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको हो ।ट्राफिक प्रहरी कार्यालय कालीकोटका अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा ३५ वटा सवारी दुर्घटना भएकोमा ६ जनाले ज्यान गुमाएका छन् भने ४० जना घाइते भएका थिए ।

अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा कालिकोट जिल्लामा २८ दुर्घटना भएकोमा ११ जनाको मृत्यु हुनुका साथै २८ जना गम्भीर घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।आर्थिक वर्ष २०७५÷०७६ मा कालीकोटमा १० दुर्घटनामा ८ जनाले ज्यान गुमाएका थिए । यस्तै ६जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७८÷७९ को सुरुवात मै दुईवटा सवारी दुर्घटना भएकोमा २ जनाको मुत्यू भएको छ।

सवारी दुर्घनामा परी हरेक वर्ष ६ देखि १५ जना सम्मले ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । सरकारले सवारी दुर्घटना न्यूनीकरणकालागि विभिन्न नीति अवलम्बन गर्दै आएपनि सवारी दुर्घटना हुने क्रममा कमी आएको छैन् ।क्षमताभन्दा बढी यात्रु बोक्ने, साघुँरा एवं गुणस्तरहीन सडक निर्माण,र लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधिले पनि जिल्लामा सवारी दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटका हवल्दार दलबहादुर बसालले जानकारी दिनुभयो।

कसरी बढ्यो सवारी दुर्घटना
सवारी दुर्घटना बढ्नुको मुख्य कारण सडकको दुरवस्था,सवारीसाधनको चाप र चालकको लापरबाही रहेको छ।सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँचको अभ्यास गरिरहेको छ।

दुर्घटना न्यूनिकरणका लागि चालक र पैदल यात्रीहरू सजग हुनुपर्ने र तीव्र गति, पैदलयात्रुको लापरबाही, गाडीको यान्त्रिक गडबडी,सडकमा छाडिएका चौपाया पनि सवारी दुर्घटनाका मुख्य कारक भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव निरीक्षक नर बहादुर बिष्टले बताउनुभयो । यो तथ्याङ्क कालीकोट जिल्ला भरीको हो।