ललित विष्ट ,मंसिर २४,कालिकोट ।
कालीकोटको फुकोट जलविद्युत् आयोजनामा काम गरिहेको डोजर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ३ जना बेपत्ता भएका छन्।दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।
शनिबार कर्णाली करिडोरमा पर्ने सान्नीत्रिवेणी १ लुसा भीरबाट कर्णाली नदीमा डोजर खसेको हो ।
मृत्यु हुनेमा सान्नीत्रिवेणी १ का १७ वर्षीय चरित्र विक र सोही ठाउँका १४ वर्षीय युवराज बुढा छन् ।
कर्णाली नदीमा खसेको डोजरमा रहेका सान्नीत्रिवेणी १ का उमेश गिरी, सोही ठाउँका रक्तिम विक र अछाम घर भएका चालक कमल सोडारी बेपत्ता छन्।
दुर्घटनामा रास्कोट ७ का मिलन शाही,खाडाचक्र ११ बरातुका विवेक भारती र विकास भारती घाइते छन् । घाइतेको मान्मस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
आयोजनामा कामगर्ने क्रममा डोजर भीरबाट खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवराज बमले बताए ।
बेपत्ताको खोजी भइरहेको पनि उनले बताए । उनले भने, ‘अप्ठेरो ठाउँ भएकाले डोजर भीरबाट खसेको हो ।’ कालीकोटको फुकोटमा ४ सय मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सुरु खन्ने काम भइरहेको छ ।
karnalipress
२४ मंसिर २०७९, शनिबार १६:५४