अध्यक्षका उम्मेदवार बिष्टलाई कान समातेर उठबस गराए स्थानीयले

बैशाख २१,कालिकोट । कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवंम नेकपा एकीकृत समाजवादीका अध्यक्ष उम्मेदवार धिरबहादुर बिष्टलाई स्थानीय युवाले कान समातेर उठबस गराएका छन् । बिष्टले सरकारी गाडी दुरुपयोग गरेको र सार्वजनिक स्थलमा मदिरापान गरेको भन्दै स्थानीय युवाले माफी मगाउँदै उठबस गर्न लगाएका हुन् ।

बिष्टसँगै मदिरा सेवनमा सहभागी नरहरीनाथ– ७ का वडाअध्यक्ष दलबहादुर विश्वकर्मालाई पनि स्थानीयले उठबस गराएका छन् । उनीहरुले उठबस गराएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । भिडिओमा देखिन्छ– सुर्खेतको एक होटलमा सरकारी गाडीसहित उनीहरु मदिरा सेवन गरिरहेको अवस्थामा केही युवा फेला पार्छन् ।

बिष्टले माफी माग्छन् । र पनि उठबस गराएरै छाड्छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित बिष्टले केही दिनअघि अध्यक्ष पदबाट राजीनामा दिएका थिए । अध्यक्ष बिष्टले आफूमाथि सुनियोजित रुपमा प्रहार गर्न थालिएको बताए । ‘भिडियो कहाँ खिचेका हुन् थाहा भएन, को–को हुन् भन्ने पनि म चिन्दिनँ’, उनले भने, ‘अहिले मेरो पक्षमा माहोल बन्दै गएको छ । त्यसैले सुनियोजित प्रहार भयो ।’ उनले आफूसँग पैसा मागेको र नदिएपछि भिडिओ सार्वजनिक गरेको बताए ।