
ललित विष्ट फागुन ९,कालीकोट । झन्डै ३८ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको कालीकोटको सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण पूरा सकियो । संस्कृति,नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराती,नागरिक उड्डयन प्राधिकरण,कालीकोटका सांसद महेन्द्रबहादुर शाही,हिक्मतबहादुर विष्टलगायतको छलफल भएर गत वैशाख १ गते पहिलो उडान गर्ने भनेर प्रचार समेत गरे ।
मानिसले जहाज र जहाजमा आउने मान्छेहरूलाई लगाउन माला समेत उने । तर निर्माण सम्पन्न भएको १ वर्ष वित्दा पनी जहाज भने आएन । त्यसपछि गत भदौ १३ गते कालीकोट विमानस्थलमा उडान हुने भनेर व्यापक प्रचार गरियो । त्यतिबेला पर्यटनमन्त्री सुदन किराँतीले परीक्षण उडान असोज १३ गतेका लागि सारिएको जानकारी दिए ।
कालीकोटको नरहरिनाथ गाउँपालिकाका स्थानीय गणेश कुमार विष्टले भने, ‘पर्यटनमन्त्रीले भदौ १३ गतेको परीक्षण उडानको कार्यक्रम राखे सबै तयारी पुराभयो । फेरी स्थगित गरी असोज १३ गते उडान हुने भनेपछि दुःखभित्र पनि खुसी हुन बाध्य भए । १३ गते बिहानदेखि दिनभर आकाशमा जहाज आउँछ कि भनेर हेर्न मन लाग्यो । तर जहाज आएन । स्थानीय अहिले पनी निराशामा छन् ।’ विमानस्थल बनेको वर्ष दिन बित्दा पनी एक पटक जहाज नदेखेपछि थप निराशा छाएको छ ।
‘कर्णाली आफैंमा विकट छ । यहाँको गरिबी,अशिक्षा, बेरोजगारी र विकासका पूर्वाधारको अभावमा गुज्रिरहेको छ। कालीकोटको युवा हिक्मतजंङ मल्ले भने, ‘पटकपटक राज्यका जिम्मेवार निकाय र व्यक्तिहरूले ढाँट्नु र विमानस्थल निर्माण सम्पन्न भएको वर्ष सम्म पनि जहाज नआउनुले पीडाबोध भएको छ । अब त जहाज आउँछ कि आउँदैन भन्ने कुराको टुंगो छैन।’ राजनीतीक खिच्चा तानीले समस्या थपेको छ उनको बुझाइ छ ।
कालीकोटबाट प्रतिनिधिसभा सदस्य रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैं ढाँटिएको अनुभूत गर्छन्। पर्यटन मन्त्रालय,नागरिक उड्डयन प्राधिकरणसहितका सरोकारवाला निकायसँग पटकपटक छलफल समेत भएको छ । कालीकोट विमानस्थलमा परीक्षण उडानगर्ने मिति धेरै पटक तोकियो तर उडान भएन यो हाम्रा लागि निकै दुःखद् कुरा भएको नरहरिनाथका स्थानीय हिरा शाहीले बताए ।
कालीकोटको प्रदेशसभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद हिक्मतबहादुर विष्टले सुनथरालीमा पटकपटक जहाज आउँछ भन्ने हल्लामात्रै रहेको बताए । सरकारबाटै जनतालाई भ्रममा पार्ने काम मात्र भएको उनको भनाई छ ।
२०७३ सालमा कर्णालीकै नेता जीवनबहादुर शाही पर्यटनमन्त्री भएको बेला २०७३ साल माघ २९ गते पहिलो पटक कालीकोट विमानस्थलमा परीक्षण उडान भइस भएको थियो ।
नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले भने, ‘अब नियमित उडानको कुरा हो । त्यसका लागि सरकारले तत्काल नियमित उडानको व्यवस्था गरी कालीकोटवासीको जहाज चढ्ने सपना पूरा गर्नुपर्छृ । पटकपटक उडान गर्ने भनेर हल्ला गर्ने र नगर्ने गर्दा यहाँका नागरिक सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति आक्रोशित बनेका छन्।’ आफुले पनी सरकारलाई स्थानीय सरकारको भुमिकाबाट झकझकाइ रहेको बताए ।

तस्विर ः जहाजको प्रखाईमा कालीकोटको सुनथराली विमानस्थल ?



karnalipress
९ फाल्गुन २०८०, बुधबार १२:०९