
ललित विष्ट माघ १,कालिकोट। रास्काेट नगरपालिकाकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ। अत्यधिक रक्तस्राव भएपछि स्थानीय स्वास्थ्यचौकीमा उनकाे उपचार हुन नसक्दा हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।
रास्कोट नगरपालिका–८ वाहरकोटकी १७ वर्षीया सङ्गीता लुवारलाई हवाई उद्धार गरिएको हो। नगर अस्पतालमा सुत्केरी भएकी लुवारको अत्यधिक रक्तस्राव भएपछि हवाई उद्धार गरिएको नगरपालिका प्रमुख धर्मराज शाहीले जानकारी दिए।
‘अस्पतालमा शिशु जन्माएपछि अत्यधिक रक्तस्रावका कारण आमा र नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल लगिएको छ’, उनले भने, ‘अहिले अस्पतालमा आमा र शिशुको उपचार भइरहेको छ। दुवैको अवस्था खतरामुक्त रहेको खबर पाएका छौँ।’
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको नगरप्रमुख शाहीले जानकारी दिए।
‘नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो’, उनले भने, ‘राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार भएकाले उद्धारका लागि लागेको खर्च सबै सरकारले नै बेहोर्ने छ।’
karnalipress
१ माघ २०७९, आईतवार ०१:२५