कर्णालीको मुख्य न्यायाधिवक्तामा ध्रुबकुमार श्रेष्ठ नियुक्त

सुर्खेत ।  कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा ध्रुबकुमार श्रेष्ठ नियुक्त भएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

वि.स. २०४८ देखि न्याय क्षेत्रमा काम गर्दै आएका श्रेष्ठलाई कर्णाली प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो। उनी सुर्खेतका स्थायीबासी हुन्। नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आइतबार नै शपथ लिएका छन्। श्रेष्ठलाई प्रदेश प्रमुखको कार्यालयमा शपथ खुवाइएको हो।

यसअघिका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका थिए। प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहने मुख्य न्यायाधिवक्तामा नियुक्त भएका खनालले वर्ष दिन नपुग्दै पदबाट राजीनामा दिएका थिए। त्यसअघिका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि कार्यकाल नसकिँदै पदबाट राजीनामा दिएका थिए।