कर्णाली करिडोरको खुलालु–लैफू–सल्लीसल्ला सडक अवरुद्ध

भाद्र १५,कालीकोट एक सातादेखिको अविरल वर्षाले कर्णाली करिडोरअन्तर्गतको खुलालु–लैफू–सल्लीसल्ला सडक अवरुद्ध भएको छ । करिडोरको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

कालीकोटको भौरैकुनामा फुगाड कर्णाली जलविद्युत् आयोजनाको सुरुङ खनिएको ठाउँ नजिकै पहिरो खसेपछि शनिबारदेखि सडक अवरुद्ध भएको छ । रेगिलखण्ड पूरै हिलाम्मे छ भने फुगाडखोला बढेर गाडी आवतजावत गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले निरन्तर पहिरो खसिरहेकाले यातायात सेवा सञ्चालन गर्न समस्या भएको बताए । उनका अनुसार सेनाले सडक हस्तान्तरण गरिसकेकाले पहिरो पन्छाउने निकायको अभाव छ । सुरुङ नजिकैको पहिरो विद्युत् आयोजनाले हटाउने उनले जानकारी दिए ।

पहिरोले सबैजसो ग्रामीण सडक पनि क्षतिग्रस्त बनेका छन् । खाडाचक्र–३ ताडीस्थित बसपार्कदेखि तिलाकर्णाली जाने सडकमा पहिरो गएको एक महिना बितिसक्दा अझै पहिरो पन्छाइएको छैन । कर्णाली राजमार्गमा लेदो खसेपछि सडक हिलाम्मे हुँदा सवारी साधन चल्न नसकेको स्थानीय जनक शाहीले बताए । सुर्खेत–जुम्ला सडकको तल्लो डुंगेश्वर खण्डमा पनि पहिरो गएको प्रहरीले जनाएको छ ।

सदरमुकाम मान्म बजारमा २ घर भत्किएका छन् । घर भत्किएपछि खाडाचक्र–१ का भद्दा शाही र धीर शाहीको परिवार विस्थापित भएको हो । उनीहरू हाल आफन्तको घरमा बसेका छन् ।

यसैबीच, सान्नीत्रिवेणी–२ आमतडामा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका २ जनालाई सोमबार बिहान हेलिकप्टरमा सुर्खेत लगिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका रास्कोट–९ का २२ वर्षीय टेक लुवार र १९ वर्षीय लक्ष्मीप्रसाद बराललाई थप उपचारका लागि सुर्खेत पठाइएको हो । प्रतिकूल मौसमका कारण आइतबार हेलिकप्टर आउन नसकेपछि बिरामीलाई कतै स्टेचरमा बोक्दै त कतै गाडीमा राख्दै सदरमुकाम मान्मस्थित जिल्ला अस्पताल ल्याइएको थियो । दुर्घटनामा चालक विक्रम गिरीको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । ३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।by-ekantipur