भोट माग्न आकर्षक नारा,भड्किलो प्रचार

 बैशाख २३ कालिकोट । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका सबैजसो उम्मेदवारले आकर्षक नारासहित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । चुनावको रौनकसँगै भड्किलो प्रचारप्रसारमा पनि उनीहरू उत्तिकै सक्रिय छन । खाँडाचक्र नगरपालिकामा उम्मेदवारी दिएका एमाले,कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गाडी र अटो रिक्सामा साउन्ड बक्स जडान गरी माइकिङ,चुनावी गीत र नारा घन्काउन थालेका छन ।

पहिले निर्वाचित जनप्रतिनिधिले जनअपेक्षा पूरा गर्न नसकेकाले जनता भने आशावादी छैनन । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आकर्षक नारासहित क्षमताभन्दा माथिका घोषणापत्र तयार गर्दै भोट बटुल्न घर घर पुगेका छन ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासमा पछि रहेका विकट क्षेत्रका बासिन्दालाई सबै सेवा निःशुल्क प्रदान गर्ने फर्जी आश्वासनका पोका लिएर उम्मेदवार घरदैलोमा गएको पत्रकार महासंघ काकिलोटका अध्यक्ष भरतराज बिष्टले बताए । उनले कतिपय उम्मेदवार पैसाको बलमा चुनाव जित्ने दाउमा रहेको पनि सुनाए । उम्मेदवारका घोषणापत्र र स्थानीयरुपमा गरेका वाचा मतदाताले पत्याएका छैनन् । ‘भन्न त सबैले पहिले पनि यो गर्छौं र ऊ गर्छौंर् भनेकै थिए,’ खाँडाचक्र–११ का ज्ञानेन्द्रबहादुर शाहीले भने ।

सदरमुकामको खाँडाचक्र नगरपालिकामा एमाले, कांग्रेस, एकीकृत समाजवादी, माआमोवादी केन्द्र,राप्रपा,चन्द समूहको स्वतन्त्र गरी ५ जनाको उम्मेदवारी छ,भने उपप्रमुखमा ४ जना छन । उनीहरू सबैले शिक्षा,स्वास्थ्य निःशुल्क गर्ने महत्त्वाकांक्षी नारा र योजना अघि सार्दै भड्किलो प्रचार गरिरहेका छन् । एमालेबाट ०७४ को चुनाव जित्नुभएका नगर प्रमुख जसीप्रसाद पाण्डे खाँडाचक्रमा फेरि दोहोएका छन्  । संघीयतापछि नयाँ घोषणा भएको नगरपालिका भएकाले जग बनाए पनि काम पूरा गर्न नपाएकोले नगरवासीलाई पुनः अवसर दिन उनले आग्रह गरेका छन् ।

‘सुन्दर र समृद्ध खाडाचक्र निर्माणको आधार, अधुरा काम पुरा गर्न एमालेकै सरकार’ नारासहित चुनावी अभियान तीव्र पारिएको उनले जानकारी दिए । नगरको प्रशासनिक भवनका लागि जग्गा व्यवस्थापन गरी टेन्डर भइसकेकाले सुविधासम्पन्न आधुनिक प्रशासनिक भवन र ११ वटै वडा कार्यालय निर्माण गर्ने उनले बताए । त्यस्तै, चुलिमालिका–ढडार बृहत् खानेपानी आयोजना पूरा गर्ने, एक वर्षभित्रै एक घर एक धारा जडान गर्ने, डोजरबाट सडक खन्ने काम बन्द गर्नेलगायत एजेन्डा उनले अघि सारेका छन्।

५ वर्षमा नगरवासीका थुप्रै सपना भए पनि पूरा हुन नसकेकाले आफूले नगर प्रमुखमा उम्मेदवारी दिएको कांग्रेस नेतृ ताराकुमारी शाहले बताईन् ‘खाडाचक्रलाई आधुनिक सहर र आत्मनिर्भर गाउँ बनाउन मेरो उम्मेदवारी हो,’ गठबन्धनबाट उम्मेदवारी दिएकी उनले भनिन् ।

‘समृद्ध, सुखी र सुन्दर खाँडाचक्र बनाउने मेरो सपना हुने छ ।’ उनले आफू महिला भएकाले पनि नगरबासीको समावेशी आवाज बन्ने बताउँदै सबै खाले विभेद र हिंसामुक्त नगर बनाउन, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्न आफूले जित्नुपर्ने तर्क छ । खाँडाचक्रमै एकीकृत समाजवादीको प्रदेश सदस्य भएर पनि गठबन्धनमा नपरेपछि स्वतन्त्र नगर प्रमुखको उम्मेदवारी दिनुभएका कमलबहादुर शाही, राप्रपाका धर्मदत्त आचार्य र चन्द समूहका हस्त विश्वकर्माले पनि खाँडाचक्रको विकासका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरेका छन्।  ।

रास्कोट नगरपालिका प्रमुखमा एमालेबाट उम्मेदवारी दिएका दयाराम सिम्खडाले डिजिटल रास्कोटको सपना बाँड्दै रास्कोटलाई भ्रष्टाचार शून्य बनाउन आफ्नो उम्मेदवारी भएको तर्क छ । उनले योजनामा बाँडीचुडी खाने प्रवृत्तिको अन्त्य गर्न समुदायको संलग्नतामा उपभोक्ता समिति गठन र कामको जिम्मेवारी दिने वाचा छ ।

माओवादी केन्द्रबाट गठबन्धनका उम्मेदवार धर्मराज शाहीले रास्कोट नगरले पहिले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै सान्नीगाड–रास्कोट सडक कालोपत्रे गर्ने, नगरमा स्कुल बस सञ्चालन गर्ने, फ्री वाइफाई जोन बनाउनेलगायत एजेन्डा छन् । रास्कोटमा चन्द समूहबाट संविधानसभा–०६४ की सभासद धीरेन्द्राकुमारी उपाध्याय, कांग्रेसका नवराज बराल, जनमोर्चाका पुष्पराज शाहीलगायतको उम्मेदवारी छ । रास्कोटमा पनि पहिलेको चुनावमा एमालेबाट नगरप्रमुख उठेर १ सय ५० मतान्तरले पराजित भएका मनिप्रसाद बराल माओवादी केन्द्रको गठबन्धनमा उपप्रमुखका उम्मेदवार रहेका छन् ।