पत्रकार महासंघकाे प्रदेश साधारणसभा नरहरिनाथमा हुने

फागुन २३,कालिकोट । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभा कालिकोटको नरहरीनाथ गाउँपालिकाको सुनथराली विमानस्थलमा आयोजना हुने निश्चित भएको छ ।

महासंघ कालिकोट शाखाको आतिथ्यता तथा प्रदेश कार्य समितिको आयोजनामा हुने उक्त साधारण सभामा आउने सबै पत्रकारलाई न्यानो आतिथ्यता प्रदान गरिने नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले प्रतिबद्धता समेत जनाएका छन् ।

आगामी चैत्र १८ र १९ गते हुने साधारण सभाको उदघाटनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, संघिय सरकारका संचारमन्त्री, प्रदेश सरकारका मन्त्री, राष्ट्रिय दलका प्रमुख एवम् प्रतिनिधि, प्रतिनिधि र प्रदेशसभा सदस्यहरु, कालीकोटस्थित स्थानीय तहका प्रमुखहरू र विभिन्न संघ संगठनका प्रमुखहरूको सहभागिता रहने महासंघका अध्यक्ष देविराम देवकोटाले जानकारी दिए ।

कालीकोटको पहिचान भाषा संस्कृतिको जर्गेना, पर्यटकीय स्थलको प्रचार प्रसार र प्रवद्धनका लागि इतिहासमै पहिलो पटक महासंघको साधारण सभा कालीकोटमा हुने भएको हो ।

२०४२ सालदेखि निमार्ण कार्य सुरु गरिएको कालीकोटको पहिचान झल्काउने सुनथराली विमानस्थलमा महासंघको साधारण सभा गर्न लागिएको हो ।

३६ जना मजदुरले आफ्नो ज्यानको आहुति दिएको सुथराली विमानस्थलमा महासंघको साधारण सभा हुने भएपछि कालीकोट बासी खुसी भएका छन् ।

महासंघको साधारण सभा सम्पन्नका लागि जिल्ला समन्वय समिति र कालीकोट जिल्लाका ९ वटै स्थानीय तहले ऐक्यवद्धता जनाएका छन् । साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने महासंघका महासचिव खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार साधारण सभामा महासंघका १० जिल्ला शाखा, १० प्रदेश कार्यसमिति गरी ३ सय भन्दा बढी सदस्यको सहभागिता हुने छ ।

साधारणसभाका लागि आर्थिक दायित्व प्रदेश समितिले लिएको छ । महासंघले साधारणसभा सफल पार्नका लागि तीन तहका सरकारसँग आर्थिक सहयोगका लागि समेत अनुरोध गरेको महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेशकञ्चन भारतिले जानकारी दिए ।

महासंघको साधारण सभा सम्पन्न गर्नका लागि स्थानीय सरकारको समेत दायित्व बोध हुने भएकोले कालीकोटका स्थानीय तहसँग आर्थिक सहयोगका लागि अनुरोध गरेको कोषाध्यक्षले बताए ।

करिव ४ दशकदेखि निमार्ण हुन नसकेको सुनथराली विमानस्थलको निमार्ण कार्य भर्खरै सम्पन्न भएको छ ।

साधारणसभामा आउने सदस्यहरुलाई खान र बस्नको व्यवस्था नरहरिनाथ गाउँपालिकाले गर्ने भएको छ ।

‘हामीसँग शहरमा जस्ता अत्याधुनिक होटल छैनन्, तर हामीसँग न्यानो आतिथ्यता हुनेछ ।’ अध्यक्ष विष्टले भनेका छन्, ‘तसर्थ यहाँ स्तरीय सुविधा भन्दा पनि नरहरीनाथको वास्तविकता हेर्न, बुझ्न, यहाँको पर्यटकीय देखि कृषि क्षेत्र सम्मको अवस्था र नागरिकको अवस्थाबारेमा पत्रकार साथीहरुले जानकारी लिई गाउँपालिकाको उन्नयनमा टेवा पुग्ने अपेक्षा हामीले गरेका छौं ।’