
ललित विष्ट माघ २९,कालिकोट । कालिकोटका किसानहरू स्याउका बगैैंचा ब्यवस्थापनमा लागेका छन् । स्याउ किसानको लागि यो समय उत्तम भएको हुँदा किसान स्याउका नयाँ बिरुवा रोप्ने,काटछाँट गर्ने,काटेको ठाउँमा वोडो मिक्चर लगाउने,बिरुवालाई मल खाद गर्नमा व्यस्त भएका हुन् ।
पुस दोस्रो हप्तादेखि फागुन पहिलो हप्तासम्म स्याउ बगैँचा व्यवस्थापन गर्ने उपयुक्त समय मानिने भएको हुँदा यति वेला कालिकोटका स्याउ किसान कृषि कार्यालयको सहजिकरणमा स्याउका बिरुवा काटछाँट गर्ने,काममा व्यस्त छन् ।
जिल्ला कृषि विकास कार्यालयले बगैंचा सुदृढीकरणको लागि औजार वितरका साथै तिलागुफाको फाईमहादेव,रुडु,कामखेत र शुभकालिकामा गरी १० हजार डेलिसियस जातका स्याउ र यस्तै शुभकालिका, तिलागुफा र महावैकामा गरी ५ हजार फुजि स्याउका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय कालिकोटका सुचना अधिकारी रामाकान्त खनालले जानकारी दिए । स्याउ उत्पादनमा बृद्धि गरी गुणस्तरीय स्याउ फलाउनको लागि बगैँचा व्यवस्थापन गरीने गरिन्छ ।
स्याउ बगैंचा सुदृढीकरण कार्यक्रम अन्तरगत बगैंचा व्यवस्थापन तथा काटछाँटका लागी तिलागुफा ३ का किसानलाई एकै ठाउँमा भेला गराई स्याउका बिरुवा काटछाँट तथा व्यवस्थापनका बारेमा जानकारी गराइएको कृषि विकास कार्यालय कालिकोटका प्रविधिक ललित भट्टराईले बताए । यो समयमा बिरुवाको राम्रो स्याहार गरे उत्पादन राम्रो हुने भएकाले स्याउको बगैंचा व्यवस्थापन तथा काटछाँटका लागि किसानको बगैंचामा पुगेको उनको भनाई छ।
स्याउको बगैचा व्यवस्थापन, विषादी प्रयोग, स्याउमा लाग्ने रोगको रोकथाम लगायतका विषयमा कृषकलाई जानकारी गराइएको छ । स्थानीय तहमा रहेका सूचीकृत समूहलाई स्याउ बगैँचा व्यवस्थापनका बारेमा सिकाइएको कृषि प्राविधिक लेखक खड्काले बताए ।

फुजी जातका बिरुवा उत्पादन
कालिकोटको तिलागुफा नगरपालिकाको फोइमहादेवमा फुजी जातको ५ हजार स्याउका बिरुवा उत्पादन गरिएको छ। जुम्लाबाट फुजिको साईन ल्याएर तिलागुफामा बिरुवा उत्पादन गरेको तिलागुफाका किसान बेगम शाहीले बताए । उनको बगैँचामात्र अहिले २५ सय,गोल्डे जातका स्याउ फल्ने गरेका छन्। ५ सय रेट जातका स्याउ पनी फल्ने गरेको उनको भनाई छ । उनले उत्पादन गरेका ५ हजार बिरुवा जिल्ला कृषि विकास कार्यालयले ५ सयमा खरिद गरेको छ ।
शाहीले उत्पादन गरेका बिरुवा बिक्रिहुदा स्याउका बिरुवा उत्पादनमा सहयोग पुगेको उनले बताए । उनीमात्र नभई पछिल्लो समय कालिकोटमा स्याउका बिरुवा धेरैले लगाउन सुरु गरेका छन्। जिल्ला कृषि विकास कार्यालयले ५ सयमा खरिद गरी अगुवा किसानलाई निःशुल्क दिने जनाएको छ ।
बोटमा फर्मल इन्फेक्सनका कारण कटिङको घाउ नबढोस् र प्रकोप नियन्त्रण होस् भनी हाँगा काँटछाँट गर्नुपर्ने कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले बताए । ‘स्याउ कटिङ गर्दा हावा र घाम स्याउका सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ, विभिन्न स्याउमा लाग्ने रोग संक्रमणलाई प्रतिरोध गर्छ ।’ कार्यालय प्रमुख बस्नेतले भने, ‘स्याउ बगैँचा व्यवस्थापनको मुख्य काम हाँगा काँटछाँट हो, यसले स्याउको निश्चित आकार र साइजलाई बढावा गर्न टेवा पुग्छ ।’
बगैँचा व्यवस्थापन गर्दा कृषकले बोटमा प्रकोप नियन्त्रण गर्न बोरो पेस्ट र बोरो मिक्चर छर्किने गर्छन् । यसो गर्दा स्याउबोटमा संक्रमण कम हुन्छ । हलुका घाउमा बोरो पेस्ट र बोटको पूरै भागमा छर्किनुपरे बोरो मिक्चर प्रयोग हुन्छ ।
माघ अन्तिम र फागुनको पहिलो सातामा स्याउ बगैँचा व्यवस्थापनमा जुटेको चिलखाया कामखेतका किसान टेकंबहादुर शाहीले बताए । ‘स्याउका लागि आवश्यक उपकरण र विषादीमा अनुदान मिल्छ ।’ उनी भन्छन्, ‘हामीले बगैँचाको राम्रो हेरचार गर्न सके राम्रो आम्दानी लिन सक्छौँ । जथाभावी आएका हाँगाबिगा काँटछाँट नगर्दा उत्पादन र गुणस्तर दुवैमा ह्रास आउने उनलको भनाइ छ ।
यहाँका किसानले स्याउका नयाँ बिरुवा लगाउने र अन्य जातका स्याउका बिरुवालाई जोडेर ग्राफ्टिङ गर्ने गरिन्छ । यसरी स्याउका बिरुवालाई ग्राफ्टिङ गर्दा बोटमा फरक–फरक जातका स्याउ फल्छन्। अक्सर, स्याउ बगैँचा व्यवस्थापनको समयमा एकपटक हिमपात भयो भने बगैँचा सप्रिन्छ ।
कालिकोटमा पछिल्लो समय ९ सय १ हेक्टरमा स्याउ खेती विस्तार भइसकेको छ । यहाँ ५ सय ४० हेक्टरमा स्याउ फल्छ । मुख्यगरी उन्नत जातका रेड डेलिसियस,रोयल डेलिसियस, गोल्डेन डेलिसियस स्याउ उत्पादन हुन्छ । उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) जातका गाला,फुजी,किङरोट,गोल्डेन डेलिसियस र रेड डेलिसियस स्याउसमेत उत्पादन हुने गरेको कृषि कार्यालय कालिकोटले जनाएको छ । २०७९/८० मा कालिकोटमामा आठ हजार टन स्याउ उत्पादन भएको थियो ।




karnalipress
२९ माघ २०८०, सोमबार २०:०६