पूर्वसहकर्मी बीच प्रतिसप्रधा कांग्रेस एमालेलाई फाइदा

ललित विष्ट, कालीकोट । पूर्व सहकर्मी बीचको प्रतिसप्रधाले कालीकोट जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसलाई फाइदा हुने देखिएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पूर्व माओवादीका दुई सहकर्मी नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संसदीय चुनावको प्रतिसप्रधामा रहदा कालीकोटमा नेकपा एमाले र नेपाली कांग्रेसलाई फाइदा हुने देखिएको हो ।

प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी)बाट खड्गबहादुर विश्वकर्मा १८ वर्षपछि पुनः व्यालेट यात्रामा फर्किएका छन् । महेन्द्रबहादुर शाही चौथोपल्ट संसदीय यात्राको दाउमा छन् । तर उनीहरूलाई नेपाली कांग्रेसका हर्षबहादुर बम र एमालेका नगिन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेलगायतले चुनौती दिँदैछन् ।

पूर्व माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा कालीकोटबाट २७ हजार ६ सय २९ मत ल्याएर खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विजयी भए । उनी २०६५ सालमा महिला, बालबालिका तथा समाज कल्याण र २०६७ मा पर्यटन तथा नागरीक उयनमन्त्रीसमेत बने । तर पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि २०६९ असारमा पूर्वमाओवादी विभाजन भयो । विभाजनपछि विश्वकर्मा मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीतिर लागे ।
संविधानसभाको दोस्रो निर्वाचन २०७० मा उक्त पार्टीले निर्वाचन बहिष्कार गरेपछि विश्वकर्माको संसदीय यात्रा टुंगियो । लगत्तै २०७१ मंसिरमा वैद्य समूह पनि फुटेपछि विश्वकर्मा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ता बने । उक्त पार्टीले यसबीचमा भएका सबै निर्वाचन बहिष्कार ग¥यो ।

विश्वकर्माले पार्टी छोडेपछि दोस्रो संविधानसभा निर्वाचनमा पूर्वमा ओवादीबाट महेन्द्रबहादुर शाही विजयी भए । उनी ऊर्जामन्त्रीसमेत बने । शाही २०७४ सालको प्रदेशसभा निर्वाचनमा (१) बाट १२ हजार १ सय ५३ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै कर्णालीको पहिलो मुख्यमन्त्री बने । त्यसबेला पूर्वमाओवादी र एमालेबीच गठबन्धन थियो । फेरि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा २३ हजार ७ सय २७ मतसहित विजयी भए । त्यसबेला भने कांग्रेस र पूर्वमाओवादीले गठबन्धन गरेको थियो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २०७० देखि निर्वाचन बहिष्कार गरेपछि यसबीचमा पूर्वमा ओवादीका महेन्द्रबहादुर शाहीलाई सहज भएको थियो । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका मतदाताले पनी भोट पूर्वमा ओवादीलाई जाने गरेको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा विश्वकर्मा १८ वर्षपछि पुनः ‘व्यालेट’ यात्रामा फर्किएका छन् । भने शाही चौथोपल्ट संसदीय यात्राको दाउमा छन् । तर उनीहरूलाई नेपाली कांग्रेसका हर्षबहादुर बम र एमालेका नगिन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेलगायतले चुनौती दिँदैछन् । पूर्व माओवादीलाई विरासत जोगाउन मुस्कील पर्ने एमालेका नेता जसिप्रसाद पाण्डेले बताए । उनले जिल्लामा अहिले एमालेको पक्षमा मत राम्रो आउने उनको भनाई छ ।

आगामि फागनु २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दलहरूले चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् । कालीकोट जिल्लामा अहिले स्वतन्त्र र दलगत उमेदवार गरी दश जना चुनावी मैदानमा कसिएर लागेका छन् ।

चुनावी मैदानमा रहेका उमेदवारहरूमा नेपाली कांग्रेसबाट हर्षबहादुर बम,नेकपा (एमाले)बाट नगीन्द्र शाही, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट महेन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाश न्यौपाने, राष्ट्रिय जनमोर्चाबाट अजबहादुर गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सूर्यबहादुर शाही,नेपाल मजदुर किसान पार्टीबाट नन्दबहादुर शाही,नेकपा (माओवादी)बाट खड्गबहादुर विश्वकर्मा र मानबहादुर तिरुवा चुनावी मैदानमा होमिएका हुन् ।
कालीकोट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सबै दलको समानुपातिक भोट हेर्ने हो भने सबैभन्दा बढी मत तत्कालीन नेकपा (माओवादी केन्द्र) अहिलेको नेकपाको देखिन्छ । नेकपाको प्रतिनिधिसभातर्फ समानुपातिक भोट १४ हजार २२९ रहेको छ ।

नेकपा (एमाले)को १२ हजार ५६५ रहेको छ । नेपाली कांग्रेसको १० हजार ५८५ रहेको छ । नेकपा एकीकृत समाजवादीको दुई हजार ५३ मात्र रहेको छ । अहिले विभिन्न घटक एक हुँदा समाजवादी भने नेपाली कम्युनिस्ट पार्टी भइसकेको छ । नेपाल मजदुर किसान पार्टीको १३ सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीको १२ सय ७३ मात्र रहेको छ ।
यो निर्वाचनमा महेन्द्र, खड्गबहादुर, स्वतन्त्रबाट उम्मेदवारी दिएका रास्कोटका मानबहादुर तिरुवा र नरहरिनाथका अस्मिन विष्टसहित चार जना उम्मेदवार पूर्वमाओवादी पृष्ठभूमिका छन् । जसका कारण चुनाव रोचक बनेको छ ।

सुरुमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संयोजक पुष्पकमल दाहालको नाम प्रत्यक्ष उम्मेदवारका रूपमा एकल सिफारिस गरेको थियो । तर उनले रुकुम पूर्व रोजेपछि पार्टीले ११ जनालाई सिफारिस ग¥यो । अन्ततः महेन्द्रबहादुर शाहीले नै टिकट पाए ।

एमाले उम्मेदवार नगीन्द्र शाहीले गत निर्वाचनमा नेकपा उम्मेदवार शाहीसँग पराजित भएका थिए । उनले १६ हजार ७ सय १८ मतमा चित्त बुझाए । रास्कोट नगरपालिका ५ का स्थायी बासिन्दा शाही एमालेका पूर्वजिल्ला अध्यक्ष हुन् भने एघारौं महाधिवेशनमा दोस्रोपल्ट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारलगायतका विकासलाई प्राथमिकतामा राखेको र संसद्िभत्र नीति निर्माण तथा कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्ने उनले बताए । जिल्लाका सबैखाले समस्याप्रति संघीय सरकारको ध्यानाकर्षण गराउन जरुरी छ,’ उनले भने, ‘जिल्लाको समृद्धि र सुखारी कालीकोटवासी मेरो मूल एजेण्डा हो ।’

नेपाली कांग्रेसबाट हर्षबहादुर बम पूर्वजिल्ला सभापति हुन् । उनले दलित, जनजातिलगायत पिछडिएको समुदायमैत्री कानुन निर्माणमा जोड दिने र जिल्लालाई विकासको मूलधारमा ल्याउने आफ्नो एजेण्डा रहेको बताए । लामो समयदेखि बन्द रहेको सुनथराली विमानस्थलमा नियमित उडान,कर्णाली करिडोरको स्तरोन्नति,फुकोट—कर्णाली जलविद्युत् आयोजनालगायतको पूर्वाधार निर्माणमा आफ्नो पहल हुने उनको भनाइ छ ।
बमका अनुसार कालीकोटको जनताले मत चेन्जे गर्ने भरोसा आफुहरुलाई दिएको बताए । उनले कालीकोटमा कांग्रेसले जित्दा आर्थिक कायापलट गर्ने गरी, गरिवी र विदेशीयका युवाहरुलाई गाउँमै उत्पादनमा जोड्ने, कालीकोटको जडीवुटी व्यवसाय खेती गरी आर्थिक बृद्धि गर्ने प्रकृतिक कृषि उत्पादनमा किसानलाई जोड्दिने गरी अघि बढेको उनको भनाई छ।

रास्वपाले उम्मेदवार बनाएका प्रकाश न्यौपाने चार्टर एकाउण्टेन्ट (सीए) अध्यरत छन् । युवापुस्ताको मत आफूले तान्ने उनको दावी छ । उनले जनताको आवश्यकता, विकास र सुशासनलाई आफूले प्रमुख एजेन्डा बनाएको बताए । मानव विकास सूचचांकमा कर्णालीमा सबैभन्दा कमजोर रहेको कालीकोट अझै पनि विकासको मूलधारमा आउन नसकेको उनको भनाइ छ । उनले कालीकोट जिल्लामा रहेका पुराना पार्टीको वित्रिशना देखिएको बताए । गाउँमा मतदाताले मत परिर्वतन गर्ने आशा देखाएको उनको भनाई छ । उनले यवाहरुमा उत्पाददनमा जोड दिने गरी आशा दिन लागिपरेको,सामान्य नागरिकका स—साना आवश्यक्ता पूरा नभएको पाइएकोले आगामी दिनमा ति आवश्यकता पूरा गर्न लागिपर्ने उनको भनाई छ ।

यसपल्ट कुनै पार्टीबीच गठबन्धन नभएकाले यस निर्वाचनबाट पार्टीहरूको वास्तविक अवस्था देखिने स्थानीयको भनाई छ । ८४ हजार ६ सय ४६ मतदाता रहेको कालीकोटमा धेरै दलित समुदायको भोट छ । जहाँ २९ दशमलव १५ प्रतिशत दलित समुदायको बसोबास रहेको राष्ट्रिय जनगणना—२०७८ को तथ्यांक छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्रबहादुर शाहीले आफूले कार्यकाल पूरा गर्न नपाएकाले अधुरा एजेण्डा पनि कार्यान्वयन गर्न बाँकी रहेको बताए । ‘यहाँका सबैखाले समस्याप्रति म जानकार छु नै, धेरै काम पनि मेरै कार्यकालमा पूरा भएका छन्,’ उनले भने, ‘असन्तुलित विकासका कारण जनता आधारभूत आवश्यक्ताबाट वञ्चित छन्, जनतालाई अधिकार सम्पन्न बनाउने र मतदातालाई सबै सरकारी सेवाप्रवाह उपलब्ध गराउन पनि मैले फेरि उम्मेदवारी दिएको हुँ ।’
उनले भने ‘कालीकोट उज्याले,गाउँगाउँमा सडक,घरघरमा खानेपानी,स्वास्थ्य सूधार सिंचाईमा विकास आफ्नो पालामा भएको बताए । उनले अव कच्ची सडक कालोपत्र, गर्ने र जनताको जिवनस्तरलाई उत्पादनमा बृद्धि गर्ने गरी अघि बढिरहेको उनको भनाई छ ।

नेकपा (माओवादी)बाट खड्गबहादुर विश्वकर्माले सहिदका सपना पूरा गर्न र कालीकोटको समृद्धिका लागि राष्ट्रियस्तरमा पहल लिन, संविधानमा रहेका अपूरा र अधुरा सवाललाई पूर्णता दिएर जनपक्षीय कानुन बनाउन आफ्नो उम्मेदवारी रहेको जानकारी दिए ।

तस्विरहरु