
भाद्र ८ ,काठमाण्डाै। नेकपा एमालेको दशौँ महाधिवेशन आउँदाे मङ्सिर १०, ११ र १२ गते आयोजना हुने तय भएको छ । ललितपुरमा आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशनकाे मिति तय गरेकाे प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।
यस्तै बैठकले मङ्सिरमा हुने दशाैँ महाधिवेशनका लागि विधान संशाेधन महाधिवेशनकाे मिति सारेर असाेज ५ र ६ गतेलाई पनि ताेकेकाे छ । पालिकाको अधिवेशनको मिति पनि सरेको एमालेले जनाएको छ ।
आजकाे स्थायी कमिटीको बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि ६ सदस्यीय उच्चस्तरीय कार्यदल बनाएको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेका छन् । कार्यदलले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनको सिफारिससमेत गर्नेछ ।
बैठकले पार्टी एकताका लागि भन्दै केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै सङ्गठन र कमिटीलाई २०७५ जेठ २ गते अघिकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन आग्रह पनि गरेकाे प्रवक्ता ज्ञवालीले बताउनुभएकाे छ ।



karnalipress
८ भाद्र २०७८, मंगलवार २१:५८