
ललित विष्ट, कालीकाेट । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कालीकोटमा १४ जनाले उमेदवारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय कालीकोटका अनुसार, मंगलबार भएको उमेदवारी दर्तामा १० राजनीति दल र चार स्वतन्त्र व्यक्तिले उमेदवारी दर्ता गराएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट महेन्द्रबहादुर शाही, नेकपा (एमाले)बाट नगीन्द्र शाही ‘नेशनल’, नेपाली कांग्रेसबाट हर्षबहादुर बम र नेकपा (माओवादी)बाट खड्गबहादुर विश्वकर्माले उमेदवारी दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाश न्यौपाने, नेपाल मजदुर किसान पार्टीबाट नन्दबहादुर शाही, राष्ट्रिय जनमोर्चाबाट अजय गिरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट धर्मराज न्यौपाने र देशभक्त पार्टीबाट प्रेमसिंह तिरुवाले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यता, नेपाली कम्युनिस्ट पार्टीका उमेदवार महेन्द्रबहादुर शाहीविरुद्ध सोही पार्टीका नेता जीवन बुढाले स्वतन्त्र उमेदवारी दिएका छन् भने नेपाली कांग्रेसका उमेदवार बमविरुद्ध सोही पार्टीका युवा नेता भुपेन्द्रजंग शाहीले पनि स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
अन्य स्वतन्त्र उमेदवारहरूमा मानबहादुर तिरुवा र अस्मिनकुमार विष्टले पनि आफ्नो स्वतन्त्र उमेदवारी दर्ता गराएको जिल्ला निर्वाचनको कार्यालय कालीकोटले जानकारी दिएको छ ।
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको आन्तरिक कलहका कारण स्वतन्त्र उमेदवारी दिएका कारण पनि यो पटकको निर्वाचनको प्रतिस्पर्धा रोचक बनेको हो ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कालीकोटमा पहिलोपटक निर्वाचनमा भाग लिँदै छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि राजनीतिक दल सम्बद्ध युवाहरूले नयाँ पुस्ता खोजिरहेको अवस्थामा रास्वपाको कालीकोट प्रवेशलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।



karnalipress
७ माघ २०८२, बुधबार ०८:०६