बजेट नछुट्याउँदा अन्योलमा सरुवा रोग अस्पताल

पुष्पा गिरी असार ३०, कालिकोट।

कोरोना लगायतका सरुवा रोग नियन्त्रण र उपचारका लागि दुई वर्ष पहिले प्रदेश सरकारले कालिकोट सदरमुकाम मान्मामा सरुवा रोग अस्पताल स्थापना गरेको थियो। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंसिर ६ गते अस्पताल उद्घाटन गरे। प्रदेशस्तरीय सरुवा रोग अस्पताल उद्घाटनसँगै बन्द भयो। स्वीकृत दरबन्दीअनुसार कर्मचारी नहुँदा सरुवा रोग अस्पतालमा ४ महिना ताला लाग्यो।

फागुनको पहिलो सातामा स्वास्थ्य सेवा कार्यालयले स्वीकृत दरबन्दीअनुसार कर्मचारी नियुक्ति गरेर सेवा सुरु गरेको अस्पतालमा फेरि प्रदेश सरकारले बजेट नछुट्याउँदा सरुवा रोग अस्पताल अन्योलमा रहेको छ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका व्यवस्थापक डा. संकेत विश्वकर्माका अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयले यसपटक कालिकोटको सरुवा रोग अस्पतालका लागि रातो किताबमा बजेट नछुट्याएपछि अहिले सरुवा रोग अस्पताल अन्योलमा रहेको बताए।

उनले भने, ‘फागुनामा दरबन्दीअनुसार २१ जना कर्मचारी नियुक्ति गरेको र अहिले १८ जनाले सेवा दिइरहेका छन्।’

कोरोना लगायतका सरुवा रोग नियन्त्रण र उपचारका लागि दुई वर्ष पहिले प्रदेश सरकारले कालिकोट सदरमुकाम मान्मामा सरुवा रोग अस्पताल स्थापना गरेको थियो।

प्रदेश सरकारले कालिकोटको सरुवा रोग अस्पलातका लागि बजेट व्यवस्थापन नगर्दा साउन १ बाट १८ जना कर्मचारीका बारेमा हेरफेर गर्नुपर्ने बताए। उनले थपे, ‘असार २४ मा जिल्लामा सरोकारवालासँग बसेको बैठकको निर्णयसहित प्रदेश सरकारलाई सरुवा रोग अस्पताल अन्यत्र सार्न नहुने पत्र पठाइएको छ।’

उनका अनुसार विगत दुई वर्षदेखि सेवा दिँदै आएको अस्पताललाई प्रदेश सरकारले बजेट नछुट्याउनु अन्यत्र सार्ने षड्यन्त्र भएको बताए। बजेट विषयमा पटकपटक मन्त्रालयमा पत्र पठाएको भए पनि अहिलेसम्म सरुवा रोग अस्पतालका बारेमा केही निर्णय नभएको पाइएको छ। अहिले पनि दादुरा, क्षयरोग, ज्वरोलगायतका रोगको उपचार भइरहेको छ।

कालिकोट, बाजुरा, अछाम, दैललेख, जुम्लाका बिरामीले सेवा लिने यो अस्पतालमा प्रदेश सरकारले बजेट नछुट्याउँदा झन् यहाँका बिरामीका लागि समस्या थपिएको स्थानीय हिक्मतजंग मल्लले बताए।

प्रदेश सरकारको एक करोड रूपैयाँबाट सरुवा रोग अस्पताल निर्माण गरिएको थियो। कोरोनाको पहिलो र दोस्रो लहरका बेला यसलाई कोरोना अस्पतालका रूपमा सेवा सञ्चालन गरिएको थियो।

स्वास्थ्य क्षेत्रको पहुँच बढाउनुको साटो उल्टै घटाउनु दुःखद् रहेको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए। ‘सेवा दिँदै आएको अस्पताललाई बजेट विनियोजन नगरेपछि जिल्ला अस्पताल र हाम्रो सहजीकरणमा सर्वदलीय बैठक बसालेर बजेट छुट्याउन माग गरेका छौं’, प्रजिअ माझिले भने, साविकको कर्णाली प्रदेशको प्रवेशद्वार रहेको कालिकोटमा सरुवारोग अस्पतालले सेवा दिँदै आएको र सेवाग्राहीलाई सानो रोग लागेमा सुर्खेत र काठमाडौ रेफर गनुपर्ने अवस्था अन्त्य गर्नका लागि पनि कालिकोटमा सरुवा रोग अस्पताल आवश्यक छ।’

कालिकोट, बाजुरा, अछाम, दैललेख, जुम्लाका बिरामीले सेवा लिने यो अस्पतालमा प्रदेश सरकारले बजेट नछुट्याउँदा झन् यहाँका बिरामीका लागि समस्या थपिएको स्थानीय हिक्मतजंग मल्लले बताए।

स्वास्थ्य र शिक्षामा पहिलो प्राथमिकता राख्नुपर्ने ठाउँमा स्थापना गरी सञ्चालनमा रहेको एक मात्र सरुवा रोग अस्पताललाई व्यवस्था गरी कटौती गरिनु दुःखद् रहेको सरोकारवालाको भनाइ छ।

हस्ताक्षर अभियान सुरु

कालिकोटको एक मात्र सरुवा रोग अस्पताललाई बजेटविहीन बनाएर अन्यत्र सार्ने षड्यन्त्र गरिएको भन्दै कालिकोटवासीले हस्तारक्षर अभियान सुरु गरेका छन्।

बुधवार द चे फेर्स नेपाल कालिकोटका अध्यक्ष हिक्मतजंग मल्लको नेतृत्वमा सदरमुकाम मान्मामा बजेट नदिएर अस्पताल अन्यत्रै सार्ने षड्यन्त्रविरुद्ध हस्ताक्षर अभियान सुरु गरिएको हो। मंगलबार प्रदेश सरकारलाई ज्ञापन पत्रसमेत पेस गरिएको थियो। कोरोनाका समयमा खरिद गरिएका महँगा स्वास्थ्य उपकरणसमेत प्रयोगविहीन अवस्थामा छन्।