
ललित विष्ट कालीकाेट।
एकमात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध केन्द्रीय सदस्य जीवन बुढाले बागी उम्मेदवारी दिएका छन् ।
सोमबार दिनभरि छलफल गर्दा पनि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाहीले तेस्रोपटक पनि आफैं उम्मेदवार हुने भनेर मनोनयन दर्ता गरेपछि आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको पूर्वराष्ट्रिय सभा सदस्य बुढाले बताए ।
२०७० सालको दोस्रो संविधान सभा, ०७४ को प्रदेश सभा, २०७९ को संघीय सांसद, मुख्यमन्त्री र मन्त्री हुँदा पनि नपुगेर अरूलाई पालो नदिने पात्र र प्रवृत्ति बदल्न आफू उम्मेदवार बनेकाे बुढाले बताए ।
कालीकोटबाट नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पनि उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार नै काठमाडौंबाट जहाजमा सुर्खेत हुँदै अपराह्न ५ बजे कालीकोट पुगेका विश्वकर्माले उम्मेदवारी दर्ता गरेका हुन् ।
एमालेका नगिन्द्र शाही नेसनल, कांग्रेसका हर्षबहादुर बम, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने, राप्रपाका सूर्यबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाही, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरी, कांग्रेसका नेता भूपेन्द्रजंङ शाहीले पनि स्वतन्त्र बाट उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए ।



karnalipress
७ माघ २०८२, बुधबार ०८:०७