कर्णाली राजमार्गको झस्कीदो यात्रा

 भाद्र ५,कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका—६ का दमनबहादुर शाही लामो समयपछि जुम्ला जान बस चढे् । कालिकोट देखि जुम्ला जान जम्मा ८२ किलोमिटर सडक पार गर्नु पर्छ। वर्षातको समयमा मोटरसाईकलको यात्रा जोखिम हुन्छ भनेर बसको यात्रा गरेका शाही जुम्ला पुग्दा १६० पटक आफ्नो सातो गएको सुनाउन्छन् । पलपल झस्कीदै यात्रा गर्दा मुटुले समेत काम गर्न छोडेको यात्रु शाहीको भनाई छ ।

सुर्खेतको बाङगेसिमल देखि जुम्ला सम्मको दुरी २३२ किलोमिटर छ । कालिकोट खण्ड पुग्न १५० किलोमिटरको सडक पार गर्नुपर्छ । कर्णाली राजमार्गका सयौ ठाउँमा यात्रुलाई निकै त्रास हुन्छ । दैलेखको ढुङ्गेश्वर बजार देखि जुम्मा सम्मै तल कर्णाली नदी डर लाग्दो भिरमा सानो सडकमा बस ३० देखि ५० सम्मको स्प्रिडमा गुडिरहेका हुन्छन।

सधै वानी परेका यात्रुले त जसोतसो छाती दरो बनाउछन् । तर मोटरसाईकल, सानो जिपमा यात्रा गरेकाहरु बसमा चढ्ने बितिकै आतिन्छन । सागुरो कच्ची सडक त्यसैमा खाल्डाखुल्डी, माथि भिरवाट वर्षातको पानीले वगाएको माटो सडकमा थुप्रिएको छ ।

गाडी चालकले जोखिमका बिचमा भिरपट्टीका चक्का सडक भन्दा तल झर्ने गरी गाडीलाई चलाएको देखेर झन यात्रुको सातै जान्छ । जुम्लावाट नेपालगन्ज जादै गरेका टिकापुरका नविन पुन मगरले जादा आकासको वाटो भएर गए केही डर भएन । तर आउदा बसमा आउदा असिनपसिन नै भएको सुनाए। जुम्ला बाट कालिकोट सम्म त पुगियो, तर सुर्खेत सम्म कसरी जाने होला भन्दै आफुले मनभरी चिन्ता बोकेको सुनाए ।
कालिकोट खण्डका मात्र गगनेखोला,ज्यानमाराको र,सुनारखोला,पिलि,राँचुली,बिहानीखोला,लगाएतका दर्जन भन्दा वढि ठाउँमा गाडी कोल्टो परेर गुड्ने गरेका छन । बिग्रेको सडक त्यसैमा माथिवाट आएको स–साना पहिराका थुम्काले सडकको नामनिसाना छैन । त्यसैमा चालकले गाडी चलाउदा यात्रुको सातो जानु स्वभावीक भएको केही वहादुर मन भएका यात्रुको भनाई छ ।

रास्कोटका लंक कार्कीले ज्यानको आस मारेर भगवानलाई साँक्षि राखेर यात्रा गर्ने गरेको सुनाए । सडक, ठाउँ धेरै जोखिम होइन । हामीले सुदुरपश्चिमको भाँसुभिर,मुङलीनको किष्णभिर, लगाएतका ठाउँको यात्रा गरेका छौं । त्यहाँ सडक सुरक्षाका लागि वार हालिएको छ भने सडक पनि खुला ठुलो वनाएका कारणले डर लाग्दैन । तर कर्णाली राजमार्गमा पुरै गाडीका टायर समेत अटाउदैनन ।

अनि यस्तो ठाउँमा यात्रा गर्दा कसलाई डर लाग्दैन होला कार्कीले भने । सडकको स्तरउन्नी मर्मतका लागि वर्षेनी वजेट आउछ । तर वर्षातमा आएको पहिरो पन्छाउन र कुनै कुनै ठाउँमा ओटासिल टालटुलमै खर्च हुने गरेको छ । स –साना कोटेशन निकाल्ने र ठेक्का दिने गरेकाले कर्णाली राजमार्ग जिर्णकै स्थानमा रहेको निमार्ण ब्यवसायीहरुको भनाई छ ।

निमार्ण ब्यवसायी अजवहादुर शाहीले कार्यालय र ठेकेदार मिलेर कोटेशन हाल्ने र वजेट टालटुलमै खर्च हुने हुदा सडकको स्तर उस्तै रहेको सुनाए । सरकारले एकै पटक अरवका ठेक्का गर्ने, भिर भएको ठाउँमा पर्खाल लगाउने र सडक अलि फराकिलो वनाउने, खोलामा पुल, पानी वग्ने ठाउँमा नाली बनाए सबै भन्दा हेर्न लायकको सडक कर्णाली राजमार्ग हुने ब्यवसायी शाहीको भनाई छ ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले पहिरो झरिरहने ठाउँमा सडक मर्मत नगर्ने कार्यालयको निति रहेको सुनाए । उनले नाली के कारणले वनेन त्यो थाह नभएको भन्दै केही ठाउँको सडक सुधारका लागि ठेक्का भईरहेको भन्दै वाँकी कुरा कार्यालयका सबै कागजपत्र हेरेर भन्न सकिने भन्दै फोन सम्पर्कवाट वाहिरिए ।

कार्यालयका कर्मचारीको लापर्वाहीले कर्णाली राजमार्ग सुधार नभएको आम नागरिकको वुझाई छ । तर कार्यालयका कर्मचारी भने आफ्नो कार्यालयको निति अनुसार काम हुने भन्दै पन्छीने गरेका छन । त्यसले गर्दा कर्णाली राजमार्ग सुधार भन्दा जिर्ण बन्दै गएको छ ।