बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बैशाख १३, कालिकोट — सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिका बलात्कारको आरोपमा तिलागुफा–१० रानावाडाका ७० वर्षीय खाम्मा राना पक्राउ परेका छन्। फागुनदेखि लगातार बलात्कारको सिकार हुँदै आएकी बालिकाका बुबाको जाहेरीका आधारमा रानालाई प्रहरीले पक्राउ गरेको हो । उनी अपांगता भएको कारण जोखिममा रहेकी बालबालिकाभित्र वडा बालअधिकार समितिले सूचीकृत गरेको छ ।

‘अपांगता भएकी बालिका बलात्कारमा परेको जाहेरी आएको छ,’ जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी सुवराज बमले भने, ‘मुद्दा दर्ताको प्रक्रियामा छ ।’ उनले बालिका र आरोपितको मेडिकल हुन ढिलाई भएकाले सोमबार मुद्दा दर्ता हुन नसकेको जनाए । बालिकाको पेटमा दुई महिनाको गर्भ रहेको समेत आशंका गरिएको छ ।

बलात्कारको मुद्दा गाउँमा मिलाउन रकम लेनदेनको कुरा भए पनि बालिकाको बुवाले नमानेपछि कुरा बाहिर आएपछि चिल्खाया प्रहरी चौकीले आरोपितलाई पक्राउ गरेर मान्म ल्याएको हो । कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार जिल्ला अस्पतालमा मेडिकल गरेपछि मंगलबार मुद्दा दर्ता हुन्छ ।

यसैबीच, बालिका बलात्कारको घटना मिलाउन नदिएको आरोपमा स्थानीय अधिकारकर्मीहरुलाई बलात्कार आरोपितका भतिजा जयलाल रानाले कुटपिट गरेका छन् । उनले तिलागुफा–९ को वडा कार्यालयमा रहेको प्रिन्टर, ल्यापटप र ट्यालेट पनि फुटाइदिएका छन् । चिल्खायाको ठिन्केमा रहेका बालअधिकारकर्मी विक्रम शाही, सरिता शाही र दुर्गवहादुर शाहीलाई जयलालले कुटपिट र गालीगलौच गरेको पीडितले बताएका छन् ।