
बैशाख २५,कालिकोट । जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त घरमै लुकेको सुचना पाएपछि मेरो कमाण्डमा चार जनाको टोली इलाका प्रहरी कार्यालय करदेवलबाट विहान चार बजे पक्राउ गर्न हिँड्यौं ।
दुई घण्टाको पैदल यात्रापछि हामी फरार प्रतिवादी शंक बुढाको घरमा पुग्यौं । ढोकामै प्रतिवादीकी श्रीमति र आमा भेटिए । मैले शंक कहाँ छन् ? भनेर प्रश्न गरेँ । उनीहरुले एकैस्वरमा शंक घरमा नभएको बताए ।
हामीलाई शंक घरमै लुकेर बसेको पक्का सुचना प्राप्त भएको थियो । त्यसैले घर खानतलासी गर्ने निधोमा हामी पुग्यौं । उनी बाहिरबाट बन्द गरिएको घरकै एक कोठामा सुतिरहेको अवस्थामा फेला परे । हामीले उनलाई पक्राउ गरेर हत्कडी लगायौं । सिधै जिल्ला लिने तयारी हाम्रो थियो । घरबाट आँगनमा ल्याउने वित्तिकै २५–३० जना गाउँले जम्मा भए । उनीहरु सबैका हातहातमा लाठी थियो ।
कुराकानी हुन नपाउँदै उनीहरुले एक्कासी हामी र पीडित परिवारका सदस्यमाथि लाठी बर्साउन थाले । पीडककी श्रीमतीले सुरुमा आक्रमण गरेकी हुन् ।
हामी प्रहरी चौकीबाट जम्मा चार जना मात्रै गएका थियौं । २५–३० जनाले एकै पटक आक्रमण गर्न थालेपछि ज्यान बचाउनै धौ–धौ भयो । अझ हाम्रो कर्तव्य पीडित परिवारको ज्यानको सुरक्षा महत्वपूर्ण थियो । त्यसैले पीडित परिवारलाई बचाउन थाल्दा अभियुक्त शंक हत्कडीसहित फरार हुन सफल भयो ।
स्थिति नियन्त्रण बाहिर गएपछि जिल्लामा गोली चलाउनका लागि आदेश माग्नका लागि फोन गरेँ । फोन सम्पर्क हुन सकेन् । हामीमाथि निरन्तर आक्रमण भइरहँदा केही स्थानीयहरु रमिते बनिरहेका थिए । घाइते बलात्कार पीडितका आफन्त धनबहादुर विकको अवस्था गम्भीर छ । थप उपचारका लागि पहल भएपनि त्यो सफल हुन पाएन् ।
जनताको सुरक्षाका लागि खटिएको सुरक्षाकर्मीलाई केही अराजकहरुले आक्रमण गरेर घाइते बनाउँदासमेत राज्यले उद्दार गर्न नसक्दो रहेछ भन्ने तितो यथार्त मैले यो पटक भोग्न पाएँ । टाउको, तिघ्रा, पेट जताततै चोक पटक लागेको छ मेरो पनि ।
पीडित दलित परिवारलाई बचाउन खोज्दा यो अवस्था आयो । हामीमाथि आक्रमण गर्ने सबैलाई मैले चिनेको छु ।
सुरुमा फरार अभियुक्तसहित उनको पूरै परिवारलाई कानुनी कारवाहीको दायरामा ल्याइनुपर्छ । आक्रमणमा संलग्न अरु गाउँलेहरुलाई पनि पक्राउ गरेर कारवाही गर्नुपर्छ ।
–कालिकोटमा सोमबार गाउँलेको कुटाईबाट घाइते भएका प्रहरी सहायक निरीक्षक लक्ष्मीरुद्र रावतसँग गरिएको कुराकानी



karnalipress
२५ बैशाख २०८०, सोमबार १८:१९