
ललित विष्ट, कालीकोट ।
कालीकोट जिल्लाकाे रास्कोट नगरपालिकाको दलित समुदायका घरघरमा स्वच्छ खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने रास्कोट नगरपालिका —३ सागाटिया,कुमलवाडा र नैकलाटोलका स्थानीय बासिन्दाको घरघरमा धारा पुगेपछि खुसी भएका हुन् ।
५ किलोमिटर टाढाबाट विकट दलित बस्तीमा खानेपानी सुविधा पुगेको छ। हेल्भेटास नेपाल,रास्कोट नगरपालिकाको आर्थिक सहयोग र हुरेन्डेक नेपाल कालीकोटको प्रविधिक तथा सामाजिक सहजिकरणमा सागाटिया टोलमा ७७ धारा र कुमालवाडा,नैकलाटोलमा १ सय १ धारा निर्माण गरीएको हुरेन्डेक नेपाल कालीकोटका प्रविधिक प्रमुख राजेन्द्र बहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार सागाटिया खानेपानी तथा सरसफाइ योजनाको लागि रास्कोट नगरपालिकाको १८ लाख ६ हजार ८ सय ६० रुपैया,समुदायको श्रमदान १८ लाख ३८ हजार ७ सय रुपैया तथा हेल्भेटास नेपालको ३७ लाख ४२ हजार ३ सय ६९ गरी कुल ७३ लाख ८७ हजार ९ सय ७६ को लागतमा धारा निर्माण गरीएको हो ।
यस्तै कुमालवाडा,नैकलाटोल रास्कोट नगरपालिकाको १५ लाख १७ हजार ५ सय ७९ रुपैँया,समुदायको श्रमदान १५ लाख ३० हजार ६ सय ३४ रुपैँया तथा हेल्भेटास नेलाको ३२ लाख ६३ हजार २ सय २८ रुपैँया गरि कुल ६३ लाख ११ हजार ४ सय ४३ रुपैँयामा १ सय १ धारा निर्माण भएका छन्।
गाउँमा पानीको दुःख भएपछि बर्खामा खोलाको पानी उपभोगगर्ने स्थानीयले हिजोआज आफ्नै घरमा बनेको धारामा पानी भर्न पाएका छन् । पानीको सुविधा पुगेपछि उनीहरूको दैनिकी पनि बदलिएको छ ।
विगतमा एक गाग्री पानी जोहो गर्नकै लागि समय लाग्ने गरेको बताउँदै घरघरमा धारा आउला भन्ने कल्पना समेत नगरेको स्थानीय गौरा सार्कीले बताइन्। एक गाग्री पानी ल्याउन बिहानभर लगाउने महिला अहिले अन्य काम गरेर आयआर्जन समेत गर्न थालेका छन् ।
स्वच्छ पिउने पानीको अभावमा रहेको बस्तीका नागरिकलाई पानीको समस्या बाट मुक्ति मिलेको हल्भेटास नेपालका क्षमता विकास विज्ञ निलकण्ठ पाण्डेले बताए। पानीका लागि संघर्ष गरिरहेका स्थानीयको समस्यालाई मध्यनजर गरी यी बस्तीसम्म घरघरमा खानेपानी पु¥याउन सफल भएको उनको भनाइ छ। उनले महिलाहरुलाई घरघरमा खानेपानी पुगेपछि धेरै राहत भएको बताए । उनले मर्मत तथा सम्भारमा स्थानीयले ध्यानदिन आग्रह समेत गरे । उनले हाल सम्म २१ वटा खानेपानी तथा सरसफाई योजना सम्पन्न गर्दा १७ सय घरदुरीमा एकघर एकधार निर्माण सम्पन्न गरेको बताए ।
पुस्तौँदेखी घण्टौँ लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेको यहाँका बासिन्दाले स्थानीय सरकार आएसगैँ घरघरमा धारा आउँदा आफूहरु खुसी भएको स्थानीय जयराम सार्मीले बताए । उनले भने, ‘एक गाग्री पानी लिन घण्टौँ लगाएर धाउनुपर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहानभर पानीको जोहो गर्नपर्ने हुन्थ्यो पानीको धारा घर—घरमा आगमनै आएपछि गाउँलेले सुखको अनुभूति गरेका छन् ।’
रास्कोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेन्द्रनाथ योगिले घरघरमा खानेपानी पुगेपछि स्थानीयलाई सरसफाई र खानपानमा सहज भएको बताए । उनले आफ्नो टोलमा खानेपानीको लागि सहयोगगर्ने सबैलाई धन्यवाद समेत दिए ।
गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ ।
दलित समुदायकालागि खानेपानी धेरै महत्वपूण रहेको रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले बताए । उनले भने नगरपालिकाले नमुना याेजनाका रुपमा लिएको बताउदै खानेपानी संरक्षण र दिगोपनमा जोड दिन स्थानीयलाई सुझाव दिए। उनले आफुले चुनावमा गरेका प्रतिबद्धता समेत पुरा हुनेगरी यो आयोजनाले सहयोग गरेको बताए । उनले कुमाले समुदायले माटोका सामग्री उत्पादनगरी सिपलाई सदुपयोग गर्न सुझाव समेत दिएका छन् ।
कुमालवाडमा पनी धेरै खानेपानीको समस्या भएकोमा अहिले धेरै राहत भएको स्थानीय मानवहादुर कुमालले बताए । उनले भने अहिले हाम्रो टोलमा खानेपानी तथा सरसफईको क्षेत्रमा हेल्भेटास नेपाल र हुरेन्डेक नेपालले धेरै सहयोग गरेको छ । उनले अहिले १ सय ७८ घरमा भाडा सुकाउने चाङ, फोहोर फाल्ने खाडल र घरघरमा खानेपानी घारा निर्माण भएसंगै सबैलाई सहज भएको बताएका छन् ।
बुधवार खानेपानी तथा सरसफई योजनाको उद्घाटनमा बोल्दै हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले कालीकोटका सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइको क्षेत्रमा हुरेन्डेक नेपालले बिभिन्न कार्यक्रम गरीरहेको बताए ।



karnalipress
१२ असार २०८२, बिहीबार ०४:२५